रिसाहा बच्चालाई पिट्ने होइन, सम्झाउने गरौं

बच्चाहरु स्वभावैले चञ्चल हुन्छन् । उनीहरु जिज्ञासु हुन्छन् ।

बच्चाहरु विभिन्न स्वभावका हुन्छन् । कोही शान्त हुन्छन् त कोही छुलछुले । कोही ज्ञानी हून्छन् त कोही रुन्चे । केही बच्चाहरु चाहिँ अत्यधिक रिसाहा र झगडालु हुन्छन् ।

बच्चाको स्वभाव निर्माणमा धेरै कुराले प्रभाव पार्छ । यसमा हार्मोन्सले धेरै काम गर्छ । तर धेरैजसो वरिपरीको माहोलले नै उनीहरुको स्वभावमा सबैभन्दा ठूलो भूमिका खेल्छ ।

यदि तपाईंका बच्चा रिसाहा र झगडालु छन् भने तल उल्लेखित कुराहरुलाई ध्यान दिनुस:

अरुको अगाडि गाली नगर्ने

बच्चाको पनि आत्मसम्मान हुन्छ र त्यसमा ठेस लाग्यो भने उनीहरु दुखित र क्रोधित हुन्छन् । खासष्री ३ देखि ४ वर्षका ‘हाइपर एक्टिभ’ बच्चाहरुमा आत्मसम्मानको भावना विकसित हुन थाल्छ । त्यसैले यदि बच्चाहरुलाई उनीहरुको साथी वा नातेदारहरुको अगाडि गाली गर्नुभयो वा पिट्नुभयो भने उनीहरु त्यसलाई सहजै पचाउन सक्दैनन् ।

सबैका अगाडि गाली गर्नाले बच्चाको आत्मविश्वास पनि डग्मगाउँछ र उनीहरु मानसिकरुपमा कमजोर बन्न सक्छन् । त्यसैले बच्चाले कुनै गल्ति गर्‍यो भने एकान्तमा लगेर शान्तपूर्व सम्झाउनु उपयुक्त हुन्छ । चिच्याएर हप्काउँदा बच्चामा उल्टो असर पर्छ । बच्चाबाट गल्ति हुनु स्वभाविकै हो किनकी उनीहरुको मन मस्तिष्क परिपक्व भएको हुँदैन ।

कहिल्यै नपिट्ने

बच्चालाई तह लगाउने नाममा कतिपय आमाबाबुले उनीहरुमाथि हात उठाउँछन् । पिटाइ खाएपछि बच्चाले गल्ति दोहोर्‍याउँदैन भन्ने उनीहरुको विश्वास हुन्छ । तर बाबुआमाबाट धेरै पिटाई खाने बच्चाहरु थेत्तरो पनि हुन्छन् र उनीहरुलाई पिटाईले असर गर्न छोड्छ । बरु उनीहरुमा आक्रोश र घृणाको भावना विकास हुन थाल्छ । त्यसैले बच्चालाई पिटेर तह लगाउन खोज्नुजस्तो मुर्खता अरु केही होइन ।

क्रियाकलापमा नजर

यदि तपाईंको बच्चा पनि सामान्यभन्दा बढि रिसाउन थालेको भने उसको हरेक गतिविधिहरुलाई ध्यान दिनुस । कहिले साथीहरुसँगको झैंझगडाको कारणले, कहिले स्कुलमा शिक्षकको खप्कि खाएर वा कसैले अनावश्यक दुख दिएर उनीहरु रिसाहा बनेको हुन सक्छ ।

यस्तो अवस्थामा आफ्नो बच्चाको स्कुलको शिक्षकलाई भेटेर उसको विषयमा सोधपुछ गर्नु राम्रो हुन्छ । कैयन परिवारमा सुरुदेखि नै बच्चालाई विशेषगरी छोरीलाई अनुशासनका नाममा अनेकन बन्धनमा राखिएको हुन्छ । त्यसले गर्दा पनि उनीहरुभित्र चिडचिडापन बढिरहेको हुन सक्छ । त्यसैले बच्चाहरुलाई अनावश्यक नियन्त्रणमा राख्ने प्रयास गर्नु हुँदैन ।

व्यवहारिक ज्ञान दिनु आवश्यक

कैयन् आमाबाबुहरु बिहानदेखि रातिसम्म बच्चालाई पढ्न मात्रै भनिरहन्छन् । तर, यसरी एकोहोरो पढ्न मात्रै दवाव दिँदा बच्चाहरुमा पढाईप्रति नै वितृष्णा जागृत हुन सक्छ र उनीहरु रिसाहा बन्न थाल्छन् । हाइपर एक्टिभ बच्चाहरुको दिमाग पढाईभन्दा पनि खेलकुदमा बेसी हुन्छ । त्यसैले एउटा निश्चित मय पढ्न लगाएर बाँकी समय उनीहरुलाई खेल्न छोडिदिनुपर्छ । साथै उनीहरुलाई किताबी ज्ञानको अलावा सामाजिक तथा व्यवहारिक ज्ञान दिनु पनि बाबुआमाको कर्तव्य हो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *