सगरमाथा चढ्ने टिप्स

कुम्भराज राई
चैत्र १०,सोलुखुम्बु — २०१६ को अप्रिलमा आधारशिविरमा भेटिएका ओखलढुंगाका पेम्बा शेर्पाले आफू जीवनको अन्तिम पटक सगरमाथा आरोहणका लागि आएको बताएका थिए । सात पटक शिखर चुमिसकेका शेर्पाले भनेका थिए, ‘परिवार छन् । यत्तिका दु:ख गरिसकेँ । अब कत्ति ज्यानको बाजी राखेर चढ्ने ?’ तर तिनै पेम्बाले २०१७ को अप्रिलमा तिब्बती मोहडाबाट आठौँ पटक सगरमाथा चढे ।
यसपालि पनि उनी एक विदेशी टोली लिएर नेपालतर्फबाटै आरोहणका लागि जाँदैछन् । ‘छोडिदिन्छु भनेकै थुप्रै पटक भइसक्यो, तर सिजन लागेपछि फेरि शिखर चुम्ने उत्साह जागिहाल्छ,’ उनले भने, ‘अरू पेसा पनि छैन, जीविकाका लागि हिमाल नचढी सुखै छैन ।’ पेम्बा क्लाइम्बिङ गाइड पनि हुन् । सगरमाथा आरोही संघका सदस्य रहेका उनी बर्सेनि शिखरको बाटो ओहोरदोहोर गरिरहन्छन् ।

२०१६ कै अप्रिलमा सगरमाथा आरोहणका लागि आधारशिविरमा भेटिएका झापाका अनिश लुइँटेल ‘एक पटक जसरी भए नि शिखर चुम्ने’ आकांक्षाका साथ पुगेका थिए । उनी सफल भए । त्यसपछि आरोहणबारे चुपचाप बसेका उनी यस वर्ष दोस्रो आरोहणको तयारीमा छन् ।

पेम्बा र अनिश मात्र होइनन् । यस्ता सयौँ आरोही फेरि शिखर चुम्ने सपनाका साथ झोला कस्न थालेका छन् । जब चैत लाग्छ, तब आरोहीको मन त्यसैत्यसै सगरमाथाकोटाकुरामा पुग्छ । हिमाल आरोहण सुरुमारहर भए पनि एक पटक शिखर चढेपछि धेरैलाई नशाजस्तै हुने गर्छ । जसरी अरू खेलमा खेलाडीको लत लाग्छ, हिमाल आरोहण गर्नेमा पनि त्यस्तै हो । त्यसैले प्राय: आरोही एक पटक मात्र हिमाल आरोहण गरेर चित्त बुझाउँदैनन् । त्यसमाथि विश्वकै सर्वोच्च शिर चुम्ने रहर कसलाई पो नहोला र ?

वैशाख अन्तिमदेखि जेठ पहिलो सातासम्म आरोही शिखर चुम्ने अन्तिम प्रयासमा हुन्छन् । नेपाली आरोहीभन्दा विदेशीको भीड लाग्ने गर्छ । यसवर्ष आरोहण मौसम सुरु हुनै लागेको छ । अब लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल केही महिनाका लागि व्यस्त हुनेछ । खुम्बुक्षेत्रका होटलहरू सफा गरेर व्यवसायी पाहुना कुरिरहेका छन् । सगरमाथा आधारशिविरमा मेलाझैँ टेन्टहरू टाँगिनेछन् । वैशाखभरि आधारशिविर क्षेत्र आरोहीले मात्र नभएर विश्वका विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकले भरिभराउ हुनेगर्छ ।

मृत्यु जितेर शिखर
सगरमाथा शिखर चुम्नु ठट्टा हैन । कैयौँ पटक मृत्युलाई कुल्चेर अघि बढ्नेले मात्र शिखर चुम्न सक्छन् । बाटोमा भेटिने शवहरू देख्दा जो कोहीको मन झस्किन्छ । प्रत्येक वर्ष आरोहीले ज्यान नगुमाएको घटना विरलै छन् । तैपनि शिखर चुम्ने साहसिक आरोहीको सपना झन्झन् बढ्दो छ ।

सन् २०१४ मा हिमपहिरोमा परी १६ जना शेर्पाले ज्यान गुमाए । २०१५ को भूकम्पमा परी २२ जनाको ज्यान गयो । २०१६ मा सात र ०१७ मा पाँचजनाको मृत्यु भयो । त्यसअघिका तथ्यांकहरू जोड्ने हो भने सयौँले सगरमाथामै आफ्ना सपनाहरू सधैँका लागि विलाएका छन् । तर पनि आरोहणका लागि अनुमति लिनेको भीड छ । आरोहणमा ज्यान गुमाउनुका कारण प्राय: हिमपहिरोमा परेर, अक्सिजन सकिएर, लेक लागेर र लडेर हुनेगर्छ । ‘यस वर्ष सगरमाथा आरोहण गर्न अहिलेसम्म कुनै पनि टोलीले अनुमति लिइसकेको छैन’, पर्यटन विभागस्थित पर्वतारोहण शाखाका नासु रामेश्वर निरौलाले भने । शाखाका अनुसार हालसम्म आमादब्लमका लागि दुई समूह र मुस्ताङको हिमालका लागि एक समूहले मात्र अनुमति लिएका छन् ।

यसरी चढिन्छ
सुरुमा सगरमाथा प्रदूषण नियन्त्रण समितिका ‘आइसफल डाक्टर’ले क्याम्प २ सम्म बाटो बनाउँछन् । बाँकी क्याम्प ४ सम्मको बाटो बनाउने र चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने काम) भने आरोहण समूह (एक्सपिडिसन) कम्पनीका शेर्पाहरूले गर्छन् ।
सगरमाथा आरोहण जाडो र गर्मी दुवै मौसममा हुने गर्छ । तर गर्मी मौसम (वैशाख, जेठ) सबैभन्दा उपयुक्त मानिन्छ । सगरमाथा चढ्नका लागि पर्यटन विभागबाट अनुमति लिनुपर्ने हुन्छ् । विभिन्न आरोहण समूह (एक्सपिडिसन) मार्फत विभागले प्रतिआरोही स्वदेशीका लागि ७५ हजार शुल्क लिने गर्छ भने विदेशीको हकमा करिब ११ लाख (११ हजार डलर) शुल्क लाग्छ ।

सगरमाथा आरोहण अनुमति लिएका आरोहीले मात्र गर्दैनन्, उनीहरूका सहयोगी क्लाइम्बिङ गाइडले पनि गर्छन् । हालसम्म सगरमाथा आरोहीको संख्या पाँच हजार नाघेको पर्यटन विभागले जनाएको छ । तर कुनै व्यक्तिले पटक–पटक चढेको संख्यालाई समेत लिने हो भने आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेको पर्वतारोहण संघको दाबी छ ।

‘फेक’ आरोहण
२०१६ मा भारतीय दम्पती दिनेश र तर्केश्वरी राठोडको सगरमाथा आरोहण विवादित
भयो । शिखरमै नपुगी उनीहरूले प्रविधिका माध्यमबाट फोटो जोडेर आरोहण गरेको तस्बिर पर्यटन विभागमा पेस गरे । नक्कली तस्बिर पेस गरेको आरोप प्रमाणित भएपछि विभागले प्रमाणपत्र रद्द गर्‍यो । यो घटनाले यसअघि त्यस्ता ‘फेक’ आरोहण कति भए होलान् भन्ने शंका पैदा गर्‍यो ।

बर्सेनि सगरमाथा आरोहणको विषयमा विभिन्न विवाद हुने गर्छन् । अनुमतिपत्र लिने आरोही, माउन्टेनरिङ गाइड, सहयोगी शेर्पा कतिले सगरमाथा चढ्छन् भन्ने यकिन भन्नै गाह्रो हुने गरेको छ । प्रत्येक आरोहण मौसम सुरु हुनुअगावै जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) ट्रयाकिङमार्फत आरोहीको अनुगमन चर्चा चल्ने गर्छ । तर जीपीएस ट्रयाकिङ चर्चामै सीमित छ ।

जीपीएस लागू गर्नेबारे हालसम्म आधिकारिक निर्णय नभएको पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले बताएका छन् । यस वर्षदेखि अपांगता भएका व्यक्तिलाई भने आरोहण अनुमति नदिने निर्णय भएको छ । धेरैले यो निर्णय स्वागतयोग्य भने पनि फरक क्षमता भएकाले यसको आलोचना गरेका थिए । उनीहरू सर्वोच्च अदालत पुगे । अदालतले उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । तर साहसिक पर्यटनका रूपमा लिइने सगरमाथा आरोहणमा ‘रेकर्ड’ कायम गर्ने होडबाजीमा जोकोहीले आरोहण गरेर साख गिराउने काम भएको धेरैको भनाइ छ ।
आरोहण गरेको हो/होइन भनेर अनुगमनका लागि खटाइने सम्पर्क अधिकृतहरू आधारशिविर नपुगी फर्कने समस्या पनि छ । यस्तो गतिविधिमा कडाइ गरिने पर्यटन विभागले जनाएको छ । बर्सेनि कडाइ गर्ने भने पनि सुविधा मात्र पचाउन छनोट हुने सम्पर्क अधिकृतले निरन्तरता पाउने आरोही शेर्पाहरूले बताए । विभागले यस वर्षदेखि प्रत्येक आरोहण टोलीलाई विस्तृत ब्रिफिङ गरेर पठाउने जनाएको छ । पर्वतारोहण संघ र सगरमाथा आरोही संघले भने सम्पर्क अधिकृतका रूपमा शेर्पा आरोहीलाई नै अवसर दिनुपर्ने माग गर्दै आएका छन् । आरोहीलाई नै सम्पर्क अधिकृत बनाउने हो भने शिखरसम्मै अनुगमन हुन सक्ने संघकी उपाध्यक्ष तथा सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाले बताइन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *