क्षयरोगका समस्या भए यसो गर्नुस्

नेपाल नागरिकको मृत्यु हुने विभिन्न सरुवा रोगमध्ये क्षयरोग छैठौं स्थानमा परेको छ । विश्व स्वास्थ्य संगठनले नेपालमा वर्षेनी ६० हजार भन्दा बढी व्यक्ति क्षयरोगवाट संक्रमित हुने अनुमान गरेको छ भने ४४ हजार भन्दा बढी व्यक्तिहरुमा फोक्सोको क्षयरोग संक्रमण भएको अनुमान गरिन्छ । स्वास्थ्य सेवा विभागको आ.व. २०७२÷७३ को प्रतिवेदन अनुसार क्षयरोगवाट झण्डै ३३ हजार जति फोक्सोको (पल्मोनरी)क्षयरोगका विरामी पाइएका छन् भने झण्डै १८ हजार जति नयाँ र छिपेका क्षयरोगका बिरामी पाइएका छन् । ९ हजार जति फोक्सो बाहिरको (एक्सट्रा पल्मोनरी) क्षयरोगवाट संक्रमित भएका पाइएका छन् । करिब एक हजार जतिको क्षयरोगवाट मृत्यु भएको पाइएको छ।

तर सन् २०१६ सम्ममा क्षयरोगबाट झण्डै ६ हजार जति बिरामीको मृत्यु भएको छ । तर क्षयरोगको निदान ७० प्रतिशत मात्र हुने गरेको पाइएकोले पहिचान हुन बाँकी क्षयरोगवाट संक्रमितहरुको संख्या अति धेरै भएको सजिलै अड्कल गर्न सकिन्छ । सन् २००१ देखि देशभरि प्रत्यक्ष निगरानीमा औषधि गरिने (डट्स) प्रणाली लागु भइसकेको छ, यति महत्वपूर्ण उपचार प्रणाली कार्यान्वयनमा आउँदा पनि क्षयरोगका विरामीको पहिचान, परीक्षण, उपचार व्यवस्थामा कमी आएको छ।

१.संंगठनात्मक संरचना र कार्यक्रम : नेपालमा क्षयरोग नियन्त्रण गर्नकालागि स्वास्थ्य मन्त्रालय अन्तरगत राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमलाई प्रभावकारी किसिमले कार्यान्वयन गर्न राष्ट्रिय क्षयरोग केन्द्रको स्थापना गरी कार्य सञ्चालन गरिएको छ भने दक्षिण एशियाली राष्ट्रहरुको सहयोग संगठनस्तरीय क्षयरोग नियन्त्रण केन्द्र (सार्क क्षयरोग नियन्त्रण केन्द्र) कासाथै अन्य राष्ट्रिय÷अन्तरराष्ट्रिय गैह्र सरकारी संस्थाले समेत सहयोग गरिरहेको देखिन्छ । तर शंकास्पद विरामीको गुणस्तरीय परीक्षण तथा पूर्ण उपचारको कमी नै देखिन्छ।

२.क्षयरोग नियन्त्रणमा जनचेतनाको कमी : अधिराज्यका विभिन्न जिल्ला÷गाउँका अधिकांश नागरिकलाई शंकास्पद क्षयरोगीले निःशुल्क परीक्षण तथा उपचार सुविधा कहाँ र कसरी पाउन सकिन्छ भन्ने जानकारी नै छैन । क्षयरोगबारे स्वास्थ्यशिक्षा, सुचना तथा सञ्चार कार्यक्रम मार्फत व्यापक जनचेतना जगाउनु पर्नेमा त्यसो हुन सकेको छैन । त्यसैले सवैजसो शंकास्पद क्षयरोगका बिरामीको पहिचान गर्न सकिएको छैन।

३.कार्यक्रमको उद्देश्य बमोजिम कार्यान्वयनमा कमी : नेपालभरी क्षयरोगको नियमित र पूर्णरुपमा परीक्षण, परामर्श र उपचार गर्न ४३४४ जति उपचार केन्द्र र उपकेन्द्र समेत स्थापना भई सञ्चालित छन् । विरामीलाई रोग निको पार्न प्रभावकारी भूमिका र उद्देश्य लिई स्थापित भएका ती केन्द्रवाट क्षयरोगीलाई नियमित र पूरा अवधिसम्म औषधि खानु पर्ने, सूर्तिसेवन तथा मद्यपान गर्न नहुने र केही दिन नआउने गरी घर वाहिर कतै जानु पर्दा औषधि लिएर जानु पर्ने कुरामा राम्ररी परामर्श दिनुपर्नेमा यस्ता महत्वपूर्ण पक्षमा ध्यान दिइएको पाइदैन।

४.क्षयरोगका विरामीलाई सुविधाको कमी : भौगोलिक दुर्गम स्थानका क्षयरोगीमैत्री डट्स उपचार केन्द्रको कमी छ । यसले गर्दा विरामीलाई धेरे टाढा–टाढा पुगेपछि मात्र परीक्षण तथा उपचार गर्न पाइने हुनाले पनि पूर्णरुपले उपचार गर्न अप्ठ्यारो भएको छ।

५.क्षयरोगका किटाणुले औषधिमाथि शक्ति बढाई बहुऔषधिले काम नगर्ने (मल्टी ड्रग रेसिष्टेण्ट टिबी): क्षयरोग नियन्त्रण गर्ने सिलसिलामा मल्टी ड्रग रेसिस्टेन्ट क्षयरोग हुनु ठूलो चुनौती हो । किनभने क्षयरोगको उपचारमा रिफाम्पिसिन,आइसोनियाजाईड, पाईरिजिनामाइड र इथाम्बुटोल नाम गरेका ४ किसिमका औषधि दिईन्छ । यी ४ मध्ये रिफाम्पिसिन र आइसोनियाजाईड गरी कम्तीमा दुई किसिमका औषधिमाथी क्षयरोगका किटाणुले शक्ति पैदागरी काम गरेन भने त्यसलाई ‘मल्टी ड्रग रेसिष्टेण्ट क्षयरोग’ भनिन्छ । यसो भएमा क्षयरोगीलाई निको पार्न मुश्किल पर्छ । यदि क्षयरोगका विरामीले स्वास्थ्यकर्मीले दिएको सल्लाह अनुसारका औषधि नखाएमा, नियमितरुपमा औषधि नखाएमा, एक पटक औषधि खान शुरु गरेपछि पूरा औषधि नखाइृ बिचैमा छोडेमा, घर बाहिर यात्रा गर्नु पर्दा औषधि नलगी खान छुटाएमा यस्तो समस्या आउँछ । नेपालमा यस्तो खतरनाक मल्टी ड्रग रेसिष्टेण्ट टिबीको समस्या बढ्दै गईरहेको छ।

६. क्षयरोग र एच.आई.भी.सह–संक्रमण : नेपालमा क्षयरोग र एच.आई.भी.संगसंगै संक्रमण भएको समस्या बढ्दै गईरहेको छ । क्षयरोग लागेको विरामीको शरीरमा रोगसंग लड्नसक्ने क्षमता हराउदै जान्छ र जुनसुकै रोगले पनि सजिलै संक्रमण गर्न सक्दछ । त्यसकारण क्षयरोगीलाई एच.आई.भी.संक्रमण हुन गएमा र एच.आई.भी. संक्रमितलाई क्षयरोगको संक्रमण भएमा व्यक्तिको शारीरिक, आर्थिक, पारिवारिक र सामाजिक अवस्था समेत नाजुक वन्न सक्छ । किनभने अचेल एच.आई.भी. संक्रमित व्यक्तिमा क्षयरोगको संक्रमण समेत बढेको छ र क्षयरोग÷एच.आई.भी.संक्रमणको कारणले मृत्यु हुनेको संख्या बढेको छ । यसका कारणले सामान्य नागरिकदेखि परिवार, समाज र समुदायकासाथै देशकै सामाजिक तथा आर्थिक अवस्थामा नकारात्मक असर परेको छ । एच.आई.भी. संक्रमण नभएका व्यक्तिभन्दा संक्रमित व्यक्तिहरुमा क्षयरोगको संक्रमण हुने दर १० प्रतितशत भन्दा बढी हुन्छ । साथै समयमै परीक्षण, परामर्श, नियमित र पूरा उपचार, मायाँ–ममता र हेरचाह गरेमा क्षयरोग र एच.आई.भी.को सह–संक्रमणवाट हुने मृत्युदर घटाउन सकिन्छ ।

१०. क्षयरोगको सर्वेक्षण : क्षयरोगका नयाँ विरामीको पहिचान गरी उपचार गर्न शुरु गरी नियमित गर्नु र उपचारमा रहेका विरामीको समेत पूरा उपचार तथा परामर्श दिनुनै क्षयरोग नियन्त्रणको महत्वपूर्ण कदम मानिन्छ । तर मुलुकभरीका सवै क्षयरोगीको पहिचान,परीक्षण गरी उपचार गर्न सकिएको छैन भने पहिचान गरिएका विरामीको ९०÷९५ प्रतिशत भन्दा बढीलाई निको हुनु पर्नेमा आ.व.२०७२/७३ मा क्षयरोगवाट निको हुनेको दर ८५ प्रतिश मात्र देखिन्छ । अर्कोतिर १७ हजार भन्दा बढी नयाँ र छिपेर बसेका क्षयरोगी परीक्षणनै गर्न नआएको अनुमान गरिएको छ।

११.क्षयरोगको उपचारको सफलताः नेपाल सरकारले विरामीको निःशुल्क परीक्षण तथा पूर्णरुपमा उपचार गर्न निकै महंगा औषधि निःशुल्क वितरण गर्दै आएको छ । तर यसरी निःशुल्क वितरण गरिएका औषधि नियमित सेवन गरेको खण्डमा मात्र क्षयरोगको उपचार सफल भएको मानिन्छ । आ.व. २०७१÷७२ मा ९२ % देखिएको क्षयरोगको उपचारको सफलता दर २०७२/७३मा घटेर ९० प्रतिशत मात्र देखिन्छ।

१२.जनचेतना अभिबृद्घिको कमीः क्षयरोगको शंका कसरी गर्ने, कसरी चिन्ने,जटिलता के हो, परामशर्, परीक्षण,उपचारका वारेमा जनचेतना जगाउनु अति आवश्यक पर्दछ । क्षयरोग वारे व्यापकरुपमा स्वास्थ्य शिक्षा प्रदान गर्न स्वास्थ्यशिक्षा, सूचना तथा सञ्चार सम्बन्धि कार्यक्रमकासाथै शैक्षिक सामग्री वितरण गर्नु पर्दछ । तर यस्तो कार्यमा ध्यान पुगेकै छैन।

१३.क्षयरोग तथा क्षयरोगीको व्यवस्थापन : क्षयरोगका बिरामीको उपचार व्यवस्थापनवारे सम्पुर्ण तहका स्वास्थ्यकर्मीकासाथै समुदायस्तरसम्म अभिमूखीकरण, आधारभूत तालिम दिई क्षयरोगको उपचार व्यवस्थापन, परामर्श, स्याहार–सुसार सम्बन्धि ज्ञान र सीप अभिबृद्घि गर्नु पर्दछ, यसो गर्दा स्वास्थ्य संस्थामा आउने शंकास्पद विरामीलाई परामर्श,परीक्षण, उपचार गर्न सकिन्छ।

१४.अभिमूखीकरण÷तालिमको कमीः क्षयरोग नियन्त्रण कार्यक्रममा स्वास्थ्य सञ्जाल लगायत समुदायस्तरसम्म अभिमूखीकरण÷तालिम दिनु अति जरुरी हुन्छ । तर आधारभूत तालिम लिएकालाई पुनर्ताजगी तालिम दिनु पर्दछ । तर आधारभूत, पुनर्ताजगी तालिम सवैलाई पुग्न सकेको छैन।

१५.सुपरिवेक्षण तथा अनुगमनः क्षयरोग नियन्त्रण कार्यक्रममा अभिमूखीकरण÷तालिम कसरी, कति जनालाई दिईयो ? आधारभूत तालिमपछि सवैलाई पुनर्ताजगी तालिम दिइयो कि दिइएन ? परामर्श परीक्षण र उपचार गुणस्तरीय छ कि छैन ? नभए कसरी सुधार गर्ने ? यसकालागि सुपरिवेक्षण तथा अनुगमन अत्यन्त प्रभावकारी हुनु पर्नेमा अत्यन्त फितलो देखिन्छ।

रोकथाम/नियन्त्रण कसरी गर्ने ?
क्षयरोग अत्यन्त जटिलखालको सरुवा रोग हो। यसले बालबालिकादेख सवै उमेरकालाई, घरमा, स्कूलमा, कामगर्ने कार्यालय वा स्थानमा र भीडभाड हुने सार्वजनिक स्थानमा संक्रमण गर्न सक्दछ । तर निम्नलिखित उपाय अपनाएमा यसलाई सजिलै रोकथाम/नियन्त्रण गर्न सकिन्छ :
१.सूर्ति मिसाएर वनेका कुनैपनि पदार्थ सेवन नगर्ने । शुरु गरेको भए तुरुन्तै छोड्ने ।
२.अधिक मदिरा, लागुपदार्थ वा औषधि सेवन नगर्ने ।
३.शिशु जन्मनासाथ सकेसम्म चाँडै तर एकवर्षभित्र बि.सि.जी खोप दिने ।
४.दुई हप्ता भन्दा लामो समयसम्म खोकी र ज्वरो आउनासाथ नजिकको स्वास्थ्य संस्थामा परीक्षण गर्ने
५.स्वास्थ्यकर्मीको परामर्श लिई नियमितरुपमा पूरा समय(६ देखि ८ महिना)सम्म निःशुल्क प्राप्त हुने औषधि सेवन गर्ने ।
६.औषधि सेवन गर्न शुरु गरेपछि स्वास्थ्यकर्मीको सल्लाह अनुसार समय–समयमा परीक्षण गर्ने । ७.क्षयरोगको औषधिसंगै स्वास्थ्यकर्मीको सल्लाह अनुसार अन्य रोगका औषधि सेवन गर्ने ।
८.स्वस्थ जीवन विताउन क्षयरोगीले अनिवार्यरुपमा एच.आई.भी.परीक्षण गर्ने र एच.आई.भी संक्रमितले अनिवार्यरुपमा क्षयरोगको परीक्षण गर्ने ।
९.क्षयरोगका विरामीलाई घरपरिवार, आफन्त वा स्याहारकर्ताले राम्रोसंग स्याहार, मायाँ–ममता र सरसफाईमा ध्यान दिने ।
१०.सधैं खाइरहने, घरमै तयार गरेका खाद्यपदार्थ, हरिया तरकारी, दूध, फुल, गेडागुडीकारस ख्वाउने ।

–प्रस्तुतिः गङ्गाराज अर्याल
(हाल सेवा निवृत्त अर्यालले स्वास्थ्य सेवामा ४० वर्ष बिताएका छन्)

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.