आज चैते दशै, राम नवमी पर्व

काठ्माडौ, चैत ११ गते । आज रामनवमी पर्व भक्तिपूर्वक रामको पूजा आराधना गरी यो पर्व मनाइदैछ । हरेक वर्ष चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाइन्छ । असूर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा राम मन्दिरहरुमा पूजापाठ गर्ने चलन रहेको हो । त्रेतायुगमा यसै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । आज बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दसैँ र मध्याह्नमा नवमी परेका दिन रामनवमी पर्व मनाउनुपर्ने शास्त्रीय वचन रहेकाले दुवै पर्व यस वर्ष बिहान नै परेको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजा, पाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । ऋाज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ ।
हलेसीमा घुईचो
पुर्वको पुशपति मानिने खोटाङको हलेसीमा रामनवमीको अवशरमा दर्शनार्थीको घुँईचो लागेको छ । रामनवमीको अघि र पछि गरी हप्ता दिनसम्म लाग्ने मेला भर्न तथा दर्शन गर्न नेपालबाहेक, सिक्किम, दार्जिलीङ, बिहार, नयाँदिल्ली, चीन, तिव्वत, भुटान लगायतका देशबाट दर्शनार्थीहरु हलेसी आएका छन् । आईतबार बिहानैदेखि दर्शनार्थीको बाक्लो भीड लागेको हलेसी महादेबस्थान मन्दिर व्यवस्थापन समितिका कार्यकारी निर्देशक सम्मर भुजेलले जानकारी दिए ।
खोटाङ र ओखलढुंगाको सिमामा पर्ने जयरामघाटस्थित दुधकोशीमा पक्की पुल तथा उदयपुर र ओखलढुंगाको हर्कपुरस्थित सुनकोशीमा स्थायी पुल बनेपछि काठमाडौ, बिराटनटर, धरान, जनकपुर, पोखरालगायतका दर्शनार्थीहरु गाडी रिजर्भ गरेर हलेसीमा आउने जानेक्रम बाक्लिएको कार्यकारी निर्देशक भुजेलले बताए ।
हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने र महादेब गुफा, बसासा गुफा, गर्दुङ गुफा, भैरब गुफा, दुंदेलो गुफा, धर्मद्धार, पापद्धार लगायतका प्राकृतिक स्थान अवलोकन गर्न पर्यटक तथा दर्शनार्थीहरु हलेसी आउने गरेका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *