बोराले घाँटी कसेर ५ वर्षीया बालिकाको हत्या

चैत्र १२, पोखरा : ५ वर्षीया बालिकाको पोखरामा हत्या भएको छ। पाल्पा घर भइ पोखरा नयाँबजार बस्ने ५ वर्षीया बालिका बिहानी थापाको १४ वर्षीय किशोरले हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवत्ता डिएसपी खड्कबहादुर खत्रीका अनुसार पुन थरका किशोरले आइतबार राति बालिका थापाको हत्या गरेका हुन्।किशोरलाई आइतबार राति नै प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार किशोरले हत्या स्वीकार गरेका छन्। बालिकाको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। छोरीको हत्या भएपछि बिहानीकी आमा अचेत अवस्थामा छिन्। उनी छोरीको नाम लिएर बर्बराउने गरेको आफन्तले बताए। नेपाली सेनामा कार्यरत बिहानीका बाबु पोखरा आउँदै गरेको आफन्तले बताएका छन्।

प्रहरीले दिएको घटना विवरण अनुसार आइतबार साँझ दाजुसँग बिहानी खेल्न घरबाट बाहिर निस्केकी थिइन्। घर नजिकैको वर्क सप निट एन्ड क्लीन सर्भीस प्वाइन्टमा काम गर्ने ती किशोर दाजु र बहिनी खेलिरहेको ठाउँमा आए। किशोर पनि उनीहरुसँगै खेल्न थाले। केही बेरमा बिहानीका दाजु घर फर्के भने बिहानी र किशोर वर्कसम्मबाट दक्षिणतर्फको बाटो तिर हिँडे। राति ८ बजेसम्म छोरी घर नफर्केपछि बिहानीको खोजी भयो र प्रहरीलाई समते खबर गरियो।

बिहानीको खोजी गर्दै जाँदा पोखरा सभागृह चोकदेखि पूर्व पट्टीको झाँडीमा शव राति १० बजे फेला परेको खत्रीले बताए। शव फेला परेपछि वर्क सप निट एन्ड क्लीन सर्भिसमामा काम गर्ने किशोरसँगै भएको बिहानीका दाजुले बताएपछि उनलाई नियन्त्रण लिएर सोधपुछ गर्दा हत्या स्वीकार गरेको प्रहरीको भनाइ छ।

किशोरले प्रहरीलाई बताए अनुसार रिमोटबाट चल्ने खेलौना किशोरले बिहानीबाट खोस्न खोजे। खेलौना खोसेर आफूले लिन किशोरले बिहानीलाई ढुंगाले हान्दा टाउँकोमा लागेर रगत आयो।

रगत आएपछि उनी रुन थालेपछि किशोरले आफू डराएर बोराले घाँटी कसेर हत्या गरेको प्रहरी समक्ष बताएका छन्। हत्यापछि नजिकै झाँडीमा शव सिमेन्टको बोराले छोपेर उनी त्यहाँबाट हिँडेका थिए।

बिहानीको टाउकोमा चोट लागेर रगत आएपछि आफूलाई उनका अभिभावकले पिट्ने डरले बोराले घाँटी कसेर हत्या गरी कसैले नदेख्ने ठाउँमा छोपेको उनले प्रहरी समक्ष बताएका छन्। ती किशोरका आफन्त र स्थायी ठेगाना खुल्न नसकेको प्रहरीले बताएको छ। किशोर मानसिक रुपमा अस्वस्थ्य रहेको प्रहरीको भनाइ छ। अन्नपूर्ण पाेस्टबाट

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.