एमाले र माओवादी विच थप विवाद, तत्काल एकिकरण हुने सम्भावना कम

काठमाडौं, १४ चैत : नेकपा एमाले र माओवादी केन्द्रबीच तत्काल पार्टी एकीकरण नहुने भएको छ । जिम्मेवारी वाडफाड र चुनाव चिन्हमा असहमति हुदा तत्काल एकतामा ब्रेक लागेको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी एकीकरण फिप्टी–फिप्टी (समानता) को आधारमा हुनुपर्ने बताइरहेका बेला अर्को विवाद पनि सतहमा आएको छ । माओवादी केन्द्रले पार्टी एकीकरण गर्दा सूर्य चिन्ह राख्न असहमति जनाएको छ । यसरी पार्टी एकीकरणकै दौरानमा थप असहमति र असमझदारी बढेपछि नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस (अप्रिल २२) को अवसरमा हुने भनिएको पार्टी एकीकरण अनिश्चित बनेको हो ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली २३ चैतमा भारतको तीन दिने राजकीय भ्रमणमा जाने तयारीमा छन् । एमाले अध्यक्ष समेत रहेका ओलीले त्यसअघि नै पार्टी एकता गर्न चाहेको भए पनि सूर्य चिन्हमा नै माओवादी केन्द्रले असहमति जनाएपछि एकीकरणको अभियान अड्किएको नेताहरुले बताएका छन् । यस्तै माओवादीले पार्टीका सबै तहमा बराबरी हैसियत मागेपछि एकता प्रक्रियामा ब्रेक लागेको छ । पार्टी एकताका लागि अन्तरिम बिधान र संगठन एकीकरणको मापदण्ड टुङ्गो लगाउन बनेको कार्यदलले भने चुनाव चिन्ह बाहेक अन्य विषय टुङ्गो लगाएर प्रतिवेदन तयार पारिसकेको छ । चुनाव चिन्ह भने सूर्य राख्ने कि अर्को चिन्ह खोज्ने भन्नेमा कार्यदलमा सहमति नभएको कार्यदलमा रहेका एक माओवादी नेताले बताएका छन् ।

उनकाअनुसार माओवादी एकीकृत कम्युनिष्ट पार्टीको चुनाव चिन्ह सूर्य नराख्ने पक्षमा छ । एमाले सूर्य चिन्ह छाड्ने पक्षमा छैन । एमाले नेताहरुले सूर्य चिन्ह आम जनताबीच लोकप्रिय रहेको र यसअघि गरेको हस्ताक्षर समेत स्मरण गराएका छन् । माओवादीले भने कुनै तेस्रो चिन्ह खोज्ने वा सूर्यभित्र हँसिया हथौडा राख्ने प्रस्ताव अघि सारेको छ ।

गत दशैंमा वाम गठबन्धन बनाएर चुनाव लड्ने सहमति गर्ने क्रममा माओवाादी सूर्य चिन्हमा सहमत भएको थियो तर, प्राविधिक कारण देखाएर पछि हटेको थियो । कार्यदलमा रहेका एमाले उपमहासचिव बिष्णु पौडेलले भने चुनाव चिन्हमा धेरै ठूलो विवाद नरहेको बताए । यसबारे पार्टी एकता संयोजन समितिले निर्णय गर्ने उनले बताए । यस्तै नेकपा एमालेले विधानको प्रस्तावनामा जनयुद्ध राख्न असहमति जनाएको छ । यसरी पेचिलो विवादमा जेलिएकै कारण पार्टी एकीकरण पछि धलेलिने निश्चित जस्तो बनेको छ ।

नेताहरुका अनुसार सूर्य चिन्हबाट चुनाव लड्ने सहमतिको मस्यौदा माइतीघरको एक घरमा एमालेका बिष्णु पौडेल र माओवादीका जनार्दन शर्माले गरेका थिए, जसमा दुबै पार्टीका ओली र प्रचण्डले हस्ताक्षर समेत गरेका थिए । तर, एक दिनपछि प्रचण्ड सूर्य चिन्हमा चुनाव लड्ने सहमतिबाट पछि हटेका थिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.