खाली बोतल व्यवस्थापनमा चुनौति

सोलुखुम्बु, १५ चैत, सोलुखुम्बु दुधकुण्ड नगरपालिकामा बियर लगायतका सिसाजन्य खाली बोतलको व्यवस्थापन प्रमूख चुनौति बनेको छ । ‘ग्रिन एण्ड क्लिन नगरपालिका’ बनाउने उद्देश्य भएपनि फोहोरमैलासँगै जथाभावी रहेको बियरका बोतलले नगरक्षेत्र कुरुप बनाएको छ ।
यही समस्याको कारण केही बियर कम्पनीहरुले खाली बोतल संकलन गरेर नउठाएमा आगामी दिनमा बियर बिक्रि वितरणमै रोक लगाउने चेतावनी नगरपालिकाले दिएको छ । सबैभन्दा बढी बियर भित्र्याउने ‘गोर्खा ब्रुअरी प्रालि’लाई अनुरोध गरेपछि कम्पनीले कवाडी पठाएर चैतभित्र आफ्नो कम्पनीको खाली बियरको बोतल उठाउने सहमति जनाएको थियो ।
तर सहमति विपरित बोतल उठाउने काम नगरि लगातार बियर बिक्रिका लागि ल्याएको भन्दै आईतबार मात्रै नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले डिलरको गोदाममा ताला लगाएका छन् । उनले नगरपालिका र कम्पनी दुवैको तर्फबाट ए–एउटा ताला लगाउँदै खाली बोतल उठाएपछि मात्र बियर बिक्रिका लागि गोदाम खोल्ने सहमतिको साथ ताला लगाएको बताए ।
‘हामीले बियर बिक्रि वितरणमै रोक लगाउँछौ भनेका छैनौ । तर बियर र अन्य मदिराजन्य पदार्थ ल्याइएको खाली बोतलहरुको व्यवस्थापन गर्नमा सम्बन्धित कम्पनीहरुको पनि ध्यान जानुपर्छ भन्ने हो ।’ मेयर शेर्पाले भने, ‘यहाँ तराईतिर वा शहरमा जस्तो खाली बोतल खोज्ने कवाडीवाला आउँदैनन् । बिक्रि भएको बोतल सबै थुपारेर राख्ने कारणले नगरक्षेत्र नै कुरुप भईसक्यो ।’
सम्बन्धित बियर तथा मदिरा कम्पनीहरुले यस विषयमा गम्भीरतापूर्वक सहयोग गर्नुपर्ने निर्णय नगरपालिकाले गरेको छ । नगरपालिकाभित्र फोहोर फाल्ने ल्यान्डफिल्ड साइट समेत टुँगो नलाग्दा एकातिर फोहोरमैला व्यवस्थापन गर्न समस्या भएको छ । सार्वजनिक जमिन नहुनु र व्यक्तिको जमिन समेत उपयुक्त नभेटिँदा फोहोरमैला व्यवस्थापनमा समस्या भएको मेयर शेर्पाले बताए ।
जिल्ला सदरमुकाम समेत रहेको सोलुखुम्बु दुधकुण्ड नगरपालिकामा ‘गोर्खा बु्रअरी प्रालि’ ले मात्रै वार्षिक ७० हजार कार्टुन बियर भित्र्याउने गरेको मेयर नाम्गेल जाङबुले बताए । यसभित्र करिब नौ लाख बोतल हुने गर्छन् । अन्य मदिरा र बियरको गरि वर्षेनी दशौँ लाख बियरको बोतल थुप्रिने भएकोले ध्यानाकर्षण गराउन पनि नगरपालिकाले कडाई गरेको हो ।
माथ्लो सोलु अर्थात खुम्बुक्षेत्रमा भने सिसाजन्य बोतलका मदिरा लान निषेधित छ । त्यहाँ क्यान बियर जस्ता पेय पदार्थ मात्र लगिने गरिन्छ । तर तल्लो सोलुक्षेत्रमा भने सिधै यातायातका सवारी साधनहरु पुग्ने भएकोले बोतलका मदिरा र बियर पुग्ने गर्छन् । तर कवाडी सञ्चालकहरु ढुवानी टाढा पर्ने भन्दै यसक्षेत्रबाट खाली बोतल उठाउन मान्दैनन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.