अझै चल्तिमा छ ‘थारो’ प्रथा

विवश कुलुङ
घरदेखि टाढाको ठाउँ । त्यहा घाँस, दाउरा, खुल्ला चउर वा जङगल होस् । जो कोहीको नजरमा यो सार्वजानिक रहेछ भन्दै नहिच्कीचाई घाँस काट्ने, गाईबस्तु छोडिदिने गर्दछन् । तर त्यहि स्थानमा ‘थारो’ झुण्ड्याईएको छ भने सबै सचेत हुन्छन्, यहा घाँसदाउरा तथा चरिचरणको लागि बन्द गरिएको रहेछ भनेर । सोलुखुम्बुको अधिकाँश स्थानमा थारो प्रथा प्रतिको विस्वास अझै पनि यसरी कायम रहेको छ ।
यत्रो ठुलो संरक्षकको काम गर्ने थारो त्यस्तो प्रविधीयुक्त मेसिन भने होईन । खुल्ला चउर वा एकान्त जँगल, घाँसबारी कसैको स्वमित्व रहेको छ भनेर एउटा संकेत मात्र हो । आफ्नो स्वमित्व रहेको क्षेत्राधिकार संरक्षणको लागि जग्गाधनिले एउटा डाँडा तथा त्यो जग्गाको सबै क्षेत्रबाट देखिनेगरि झुयड्याईएको ढुङ्गा नै हो ‘थारो’ । कसैले आफुले लगाएको बालीनाली, घाँसदाउराको संरक्षणको लागि बाध्ने गरेको स्थानीयहरु बताउछन् ।
महाकुलुङ गाउँपालिका ५ गुदेलका जय बहादुर राईले आफ्नो खरबारीमा रहेको एउटा रुखमा डोरीमा ढुङ्गा र घाँस बाँधेर झुण्ड्याउनु भयो । पहिलो पटक यसलाई देख्नेले केटाकेटीले खेलेको भन्ने सोचेपनि यो जयबहादुरले आफ्नो घाँसको सुरक्षाका लागि बाध्नुभएको ‘थारो’ हो । थारो बाँधेपछि अरुले आफ्नो खरबारीमा घाँस नकाट्ने तथा गाईबस्तु नचराउने राईको बिस्वास छ । उहाँ भन्नुहुन्छ “थारो बाँधेको देखेपछि अरुले त्यहाँ घाँस काट्दैनन् र गाईबस्तु पनि छाड्दैनन्”, आफ्ना बाबु÷बाजेले थारो बाँधेको देखेर आफुले पनि बाँध्ने गरेको राई बताउनुहुन्छ ।
गुदेलकै तिर्थबहादुर राईले चाहीं आफ्नो नीजि बन प्रबेश गर्ने ठाउँमा दाउरा बाँधेर रुखमा झण्ड्याउनु भएको छ । यसको अर्थ त्यस जंगलवाट दाउरा संकलन गर्न रोक लगाइएको अर्थ लाग्ने तिर्थबहादुरले बताउनुभयो । अझ रमाईलो थारो त सोताङ गाउपालिका ४ का धर्म नारायण राईको बारीमा देखियो । राईको बारीमा रहेको उखु बच्चाहरुले खाईदिएका रहेछन् । उखुको चोरी रोक्न उहाँले बारीको कान्लामा उखु नै बाँधेर एउटा किलामा झुण्ड्याउनु भएको थियो । राई भन्नुहुन्छ “केटाकेटीले उखु भाँचेर हैरान बनाए त्यसैले त्यहाँ थारो बाँधेको हुँ” बालबालिका पनि यसरी थारो बाँधिएको ठाउँमा उखु भाँच्न नहुने बुझ्दा रहेछन् ।
यो नियम गाउले आफैले बनाएको भने होईन । मुलुकी ऐन २०१७ मा थारो प्रथाको व्यवस्था रहेको थियो । कसैले आफ्नो सम्पती जोगाउनका लागि जे जोगाउने हो त्यसैको नमुना सहित रुख वा किलोमा ढुङ्गा बाँधेर झुण्ड्याउनुलाई थारो बाँध्नु भनिन्छ । यसलाई बिशेषगरी सिमा बिबाद वा घाँस÷दाउरा र बालीनाली संरक्षणका लागि प्रयोग गर्ने गरिन्थ्यो । त्यसबेला गाउँका मुखियाको रोहबरमा थारो बाँध्ने र यदि कसैले थारोको बेवास्ता गरी क्षति गरेमा मुखियाले दण्डित गर्ने चलन थियो । पंचायत कालमा प्रचलनमा रहेको थारो प्रथा देशमा बहुदलिय व्यवस्था आएसँगै कानुनतः बैध छैन तथापी गाउँघरमा यसको विश्वास अझै धेरै छ । जिल्लाको महाकुलुङ्ग, सोताङ्ग, नेचासल्यान, दुधकोशी, थुलुङ दुधकोशी लगायतका गाउँपालिकामा अझै धेरै ठाउँमा थारो झुण्ड्याएको देख्न सकिन्छ ।
अहिले थारो बाँधिएको ठाउँमा घाँस दाउरा वा सम्बन्धित बस्तु प्रयोग गरेकै कारण दण्ड सजाय हुने व्यवस्था कानुनमा छैन तथापी बिस्वासका कारण यसलाई मान्नेहरु धेरै छन् । थारो झुण्ड्याएपछि त्यस बस्तुको प्रयोग अरुले गर्दैनन्, कतिले यसलाई कानुनको रुपमा बुझ्छन् भने कतिले धर्मको रुपमा पनि”, चोरी भएमा वा कारवाही गर्नुपरेमा थारो बाध्नु र नबाध्नुको फरक त छैन तथापी यसले गाउँघरमा बिस्वास भने दिलाईरहेको पाईन्छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.