जिमीको छैठौं महाधिवेशनसम्पन्न, अध्यक्षमा यस बहादुर

काठमाडौं, १८ चैत । जिमी (राई) उत्थान समाज, सोलुको छैठौं केन्द्रीय महाधिवेशनले समाजसेवी यस बहादुर राईको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । शनिबार राजधानीमा सम्पन्न महाधिवेशनले ४ वर्षको लागि नयाँ कार्यसमिति निर्विरोध रुपमा चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा सरिता राई (हरिमाया) र जसिहाङ राई, महासचिवमा विक्रमबाबु राई, सचिवमा भोजनन्द राई, कोषाध्यक्षमा बखतबहादुर राई र सहकोषाध्यक्षमा श्रृजना राई रहेका छन् भने कार्यसमिति सदस्यहरुमा इन्द्रबहादुर राई, जेबी माइला, सुरज राई, केशव राई (युप्स), वविता राई, महलकुमारी राई, कुञ्जनी राई, किशोर राई, मणिकुमार राई, युगिन राई, गुणराज राई र देवधन राई रहेका छन् । बाँकी चार जना सदस्य भने नयाँ कार्यसमितिले मनोनयन गर्ने व्यवस्था छ ।
महाधिवेशन उद्घाटन सत्रको प्रमुख अतिथिको आसिनबाट बोल्दै पूर्व न्यायधिश रामप्रसाद राईले समुदायको अस्तित्व जोगाएर सबैको उत्थानमा जिमी राईको महत्वपूर्ण भूमिका रहेको बताए । संगठित रुपमा अघि बढेमात्रै समुदायको वास्ताविक मर्म र भावनाअनुरुपका उपलब्धिहरु हासिल गर्न सकिने भएकाले जिमी समाजले आफ्ना भावी योजना तथा कार्यक्रमहरुलाई थप प्रभाकारी रुपमा अघि बढाउनुपर्नेमा उनको जोड रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष यस बहादुर राईले जिमी समुदायको उत्थानमा राज्यको खास ध्यान जान नसकेको उल्लेख गर्दै अबका दिनमा राज्यलाई झक्झक्याउने खालका कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाए । मुलुकको राज्य पुनर्संरचनाअनुरुप संस्थागत संगठनलाई पनि चुस्त र दुरुष्त रुपमा अघि बढाउन नयाँ संरचनाको विकास गर्दै जाने र त्यसकै माध्यमबाट जिमी समुदायको उत्थानमा लाग्ने भनाइ अध्यक्ष राईको थियो ।

कार्यक्रममा किरात खालिङ राई उत्थान संघका केन्द्रीय अध्यक्ष अर्जुन खालिङ, थुलुङ सामाका सुवास थुलुङ, कुलुङ संघका सुर्य कुलुङलगायतले शुभकामना मन्तव्य राख्दै संस्थाले नयाँ ढंगबाट आफ्नो योजना कार्यक्रम अघि बढाउन सुझाएका थिए । त्यस्तै, क्षेत्रीय शाखाका अध्यक्ष केशरसिंह राई र स्थानीय शाखा सोलुखुम्बुका अध्यक्ष शिवप्रसाद राईले आफ्नो प्रतिवेदनसहितको मन्तव्य राखेका थिए ।
-शिखरपोष्ट

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *