मिल्ने भए खुम्जुङलाई चोरेर आफ्नै देश लैजान्थे

चैत २० गते । सगरमाथाको प्रवेशद्धार नाम्चेबाट सिधै सगरमाथा आधार शिविर तर्फ जाने बाटो छोडेर उकालो लाग्ने हो भने करिब दुई घण्टाको यात्रापछि खुम्बुङ भेटिन्छ । अधिकाँस पर्यटकहरु खुम्जुङ घुमेर नै सगरमाथातिर जाने वा फर्कने क्रममा खुम्जुङ निस्केर नै फर्किने गरेका छन् । यसको कारण हो खुम्जुङको सुन्दरता ।
खुम्जुङलाई खुम्बु उपत्यका पनि भनेर चिनिन्छ । त्यहाको प्रकृतिक सुन्दरतामाथि स्थानीयहरुको पहलमा हरेकको घरमा घाँसे रङको घरको छाना लगाएपछि थप सुन्दरता थपिएको खुम्बु शेर्पा संस्कतिक संरक्षण समाजका अध्यक्ष तेन्जिङ टसि शेर्पाले बताउनु भयो । शेर्पाका अनुसार स्थानीयहरुको पहलमा सबैघरको छाना एकै रङको बनाएपछि पर्यटक मात्र नभएर वन्यजन्तु समेत आकर्षित भएका छन् ।‘हरियो रङ्ग भएपछि पर्यटकहरु आकर्षित भएका छन् भने बन्य जन्तुपनि घरछेउछाउ सम्म आउने गरेकोले पर्यटकको आकर्षण थप भएको छ ।’ छाना नटल्किने र सगरमाथा राष्ट्रिय निकुञ्जले शिकारमा पुरै बन्द लगाएकोले बन्यजन्तुको सहज अवलोकण गर्न पाईने खुम्बुपासाङल्हमु गाउपालिका ४ का अध्यक्ष लक्ष्मण अधिकारीले बताउनु भयो ।
खुम्जुङ भ्याली पर्वतारोहीहरुको गाउँ हुन् । सुन्दर, मनोरम भएकोले जो कोहीलाई मोहनी लगाउँछ खुम्जुङले । यहाँबाट देखिने हिमशृङखला नियाल्नुको आनन्द बर्णन गर्नै नसकिने रहेको पर्यटकहरु बताउछन् । खुम्जुङमा भेटिएका ईजरायली पर्यटक मार्टिन अर्चिभ भन्नुहुन्छ ‘वरिपरि हिउ छ भने विचमा उपत्यका त्यसैले खुम्जुङ हिउँको छायाँको बर्काे ओढेर टुसुक्क बसेको छ । हेर्दै लोभालाग्दो । मिल्ने भए खुम्जुङलाई चोरेर आफ्नै देश लैजान्थे ।’
खुम्जुङ सुन्दर भएपनि यहाँका युवायुवती त्यसरी बस्न पाउँदैनन् । यहाँका युवकयुवतीले कैयौँपटक विश्वको सर्वाेच्च शिखर सगरमाथा तथा अन्य हिमालहरु चढिरहनुपर्दछ । यहाँका डेढ सय भन्दा बढी युवाले कलिलै उमेरमा सगरमाथा आरोहण गरिसकेका छन् । पर्वतारोहण नै यहाँका बासिन्दाको खेतीपाती, जागिर, व्यापार हो । जीवनयापनका लागि प्रमुख आधार नै पर्वतारोहण भएकाले यहाँका अधिकांशले सगरमाथा आरोहण गर्नलाई पानीपँधेरो जानु जस्तै मान्छन् । यहाँका बासिन्दाले पर्वतारोहणलाई जागिर वा खेतीपाती माने पनि खुम्जुङमा आलु, मुला, फापर लगायतको बाली पनि हुन्छ । तर त्यस्ता बालीभन्दा खुम्जुङेहरुको मुख्य आयस्रोत नै पर्वतारोहण हो ।
सगरमाथा, पुमोरी, आमाडब्लम लगायतका अग्ला हिउँचुलीको काखमा अवस्थित खुम्जुङको अर्काे विशेषता भनेको यहाँको शेर्पा जातिको संस्कृति हो । बर्षैपिच्छे यहाँ आयोजना हुने ल्होसार, डुम्जी, माणिरुम्डुजस्ता पर्व पर्यटकका लागि थप आकर्षण बनेको छ । बाटोभरि सजिएका ध्वजापताका अनि शान्ति कुँदिएका मानेढुङ्गाहरुले जसलाई पनि एकैछिन भए पनि सोचनीय बनाउँछ । खुम्जुङ भएर सगरमाथा आरोहण गर्न हिँडेका पर्वतारोहीको लस्कर देख्दा खुम्जुङ बेहुली लिएर फर्केको जन्तीजस्तै देखिन्छ । खुम्जुङमा विश्वकै सबैभन्दा बढि अग्लो स्थान सगरमाथा, बिश्वको सबैभन्दा अग्लो गाउँ, बिश्वको सर्बाधिक उचाईमा रहेको स्याङबोचे बिमानस्थल, विश्वमा सबैभन्दा उचाइमा रहेको होटल होटल एभरेस्ट भ्यु तथा बिश्वको सबैभन्दा उचाईमा रहेको गुम्बा पाङबोचे पनि रहेकोछ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.