कांग्रेसमा गुट अदलबदल

कांग्रेसको १३औँ महाधिवेशनमा पदाधिकारीसहित ६४ खुला केन्द्रीय सदस्यमा शेरबहादुर देउवा पक्षका ३६ र रामचन्द्र पौडेल पक्षका २८ निर्वाचित भएका थिए । देउवा पक्षमा खुमबहादुर खड्का समूह पनि सामेल थियो । उनको समूहबाट खड्कासहित शंकर भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल र अजयकुमार चौरसिया पनि थिए । तर, केही दिनअघि खड्काको निधन भएसँगै सो समूहमा रहेका चार सदस्य कुन पक्षतिर लाग्छन् भन्ने बहस कांग्रेसभित्र सुरु भएको छ । अब पदाधिकारी चयनको प्रस्ताव आए यी नेताहरूले देउवालाई नै साथ दिन्छन् या छुट्टै समूहका रूपमा उभिन्छन् भन्ने टुंगो छैन् ।

कांग्रेसमा पदाधिकारीको मनोनयन निर्वाचित केन्द्रीय सदस्यले गर्नुपर्ने प्रावधान छ । महाधिवेशनबाट नेतृत्व चयन भएको दुई महिनाभित्र पार्टी संरचनालाई पूर्णता दिनुपर्ने भए पनि दुई वर्षसम्म अपूर्ण नै छ । निर्वाचन समीक्षा बैठकपछि देउवाले पदाधिकारी चयनको प्रस्ताव ल्याउँछन्ल्या/उँदैनन् चासोसाथ हेरिएको खबर आजको नयाँ पत्रिकाले छापेको छ ।
संस्थापनकै नेता जो देउवासँग असन्तुष्ट छन्
१३औँ महाधिवेशनमा चन्द्र भण्डारीले देउवा पक्षबाट खुला २५ केन्द्रीय सदस्यमा खाता खोलेका थिए । तर, महाधिवेशन भएको दुई वर्ष भइसक्दा उनी संस्थापन पक्षसँग असन्तुष्ट छन् । उनले सार्वजनिक मञ्चबाटै सभापति देउवाविरुद्ध आक्रामक भाषण गर्दै आएका छन् । जितेकामध्ये कुलबहादुर गुरुङ पनि देउवासँग असन्तुष्ट छन् । १३औँ महाधिवेशनमा देउवालाई जिताउनकै लागि गुरुङले गुट फेरेका थिए । तर, दुई वर्षसम्म आफूलाई कुनै भूमिका नदिएपछि उनी देउवासँग रुष्ट छन् । उद्यपि, उनीहरू अर्को पक्षमा पनि स्पष्ट खुलेका भने छैनन् ।
पौडेल पक्षका जो देउवातिर लागे
१३औँ महाधिवेशनमा पौडेल पक्षबाट जितेकामध्ये चिनकाजी श्रेष्ठ प्रस्टै रूपमा देउवा पक्षतिर लागेका छन् । सुशील कोइराला सभापति र संसदीय दलको नेता हुँदा श्रेष्ठ प्रमुख सचेतक थिए । तर, सुशीलको निधनपछि देउवा संसदीय दलको नेता हुँदा पनि उनले श्रेष्ठलाई फेरेनन् । देउवाले यसपटक दलको नेता चयनका लागि निर्वाचन समितिको संयोजकसमेत बनाइदिएपछि श्रेष्ठ देउवा पक्षमा रहेको स्पष्ट भएको कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन् ।
अब के गर्छ खड्का पक्ष ?
खुमबहादुरसहित देउवाको पक्षमा ५ सदस्य रहेकामा अब यो उपगुटमा भण्डारी, भुसाल, कँडेल र बस्नेत मात्रै छन् । यी चारजना फेरि पनि देउवा पक्षमै लागे आफूअनुकूल पदाधिकारी नियुक्त गर्न देउवालाई गाह्रो नपर्ने देखिन्छ । किनभने देउवाको पक्षमा भण्डारी र गुरुङ घटे पनि बहुमत पुग्छ ।

खड्काको निधनसँगै यो समूहले छुट्टै गुट चलाउने सम्भावना भने कम देखिन्छ । किनभने उपगुटको नेतृत्वमा समझदारी बन्ने सम्भावना देखिँदैन । यसकारण यी नेताहरू देउवा पक्षमै लाग्ने सम्भावना बढी भएको एक केन्द्रीय सदस्यले बताए । तर, देउवालाई साथ दिँदा सहमहामन्त्रीसहित जिम्मेवार पद दाबी गर्ने यो समूहको योजना छ ।
जो जता पनि भोट हाल्न सक्छन्
पौडेल पक्षबाट जित्नेमध्ये डा. नारायण खड्का र डा. मीनेन्द्र रिजाल अहिले प्रस्ट रूपमा दुवै गुटमा खुलेका छैनन् । यी दुवै नेता देउवा र पौडेल पक्षसँग सम्पर्कमा छन् । चुनावी समीक्षा बैठकमा पनि यी दुवै नेताले गुटबन्दीभन्दा माथि उठ्नुपर्ने मत प्रकट गरिरहेका छन् । देउवा संसदीय दलको नेतामा चुनिँदा यी दुवैले देउवालाई भोट हालेको आशंका कांग्रेसभित्र छ । सभापति प्रणाली भएकाले सभापतिलाई नै बलियो बनाउनुपर्छ भन्ने मत नेता खड्काको छ ।

पदाधिकारी मनोनीत हुन्छन् कि हुँदैनन् ?
कांग्रेसको विधानअनुसार महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको दुई महिनाभित्र पदाधिकारीसहित पार्टीका सबै संयन्त्र टुंगिनुपर्ने हो । तर, १३औँ महाधिवेशन भएको दुई वर्ष बितिसक्दा पनि पदाधिकारी चयन भएका छैनन् । चुनावी समीक्षा बैठकमा प्रकाशमान सिंह, डा. शेखर कोइरालासहितका नेताले दुई वर्षमा पनि पदाधिकारी मनोनयन नभएपछि अब त्यतातिर लाग्न नहुने धारणा राखेका छन् । गगन थापा, प्रदीप पौडेलसहितको युवा समूहले पनि छिटो महाधिवेशन गर्नुपर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लिखित रूपमै राखेका छन् ।

तर, सभापति देउवाले पदाधिकारीसहित पार्टीका सबै तहलाई छिटै पूर्णता दिने केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले बताए । ‘सभापतिले अब छिटै पदाधिकारीदेखि पार्टीका सबै तहलाई पूर्णता दिने बताउँदै आउनुभएको छ,’ महतले नयाँ पत्रिकासँग भने, ‘अब पदाधिकारीदेखि विभागसम्म सबै विषय टुंगिनेछन् ।

को हुन् पदाधिकारीका दाबेदार ?

कांग्रेसमा एक–एकजना उपसभापति र महामन्त्री तथा सहमहामन्त्री मनोनीत गर्न पाइन्छ । तर, यो पदमा एकभन्दा बढी दाबेदार छन् । संस्थापन पक्षले पौडेल पक्षलाई तीनवटै पद दिने मनस्थिति बनाएको छैन । पदाधिकारी चयन गर्दा निर्वाचित केन्द्रीय सदस्यमध्येबाटै बनाउनुपर्नेछ । उपसभापतिका लागि गोपालमान श्रेष्ठ र नेता विमलेन्द्र निधि प्रमुख दाबेदारका रूपमा देखिएका छन् । आफू वरिष्ठ भएको, उसभापति भइसकेकाले आफूले नै पाउनुपर्ने श्रेष्ठको दाबी छ । तर, श्रेष्ठभन्दा देउवाको जोड निधितिरै बढी देखिन्छ ।

महामन्त्रीका लागि ज्ञानेन्द्रबहादुर कार्की र पूर्णबहादुर खड्का प्रमुख दाबेदार हुन् । नेता बालकृष्ण खाणले पनि आकांक्षा राखेका छन् । तीनमध्ये कार्कीप्रति देउवा सकारात्मक छन् । तर, सहहामन्त्री भइसकेका खड्का र देउवालाई नजिकबाट साथ दिँदै आएको भन्दै खाणले पनि बलियो दाबेदारी प्रस्तुत गरेका छन् । सहमहामन्त्रीमा देउवा पक्षका खाणसहित, डा. प्रकाशशरण महत, खड्का समूहकी पुष्पा भुसाल र पौडेल पक्षका दिलेन्द्रप्रसाद बडूसहितका नेताले आकांक्षा देखाएका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.