प्रधानमन्त्रीको तीनदिने भ्रमणमा तीन सहमति

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा तीन वटा सहमति भएको छ। भारतका विदेश सचिव विजय गोखलेले दुई देशबीच भएका तीन सम्झौतालाई ‘गेम चेञ्जिङ’ सहमति भएको जानकारी दिए।
दुई देशबीच कृषि क्षेत्रमा नवीन साझेदारी, भारतको रक्सौलदेखि काठमाडौँसम्म इलेक्ट्रिफाइड रेल लिंक र इनल्याण्ड वाटर कनेक्टिभिटीका क्षेत्रमा तीन वटा सहमति भएका छन्।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको महत्त्वपूर्ण सम्झौता दुई देशबीचको रेल लिंक हो। भारतको सीमावर्ती सहर रक्सौलदेखि काठमाडौँसम्म नयाँ इलेक्ट्रिफाइड रेल कनेक्टिभिटीको विषयमा समेत सहमति भएको छ।

दुई देशबीच आर्थिक तथा जनसम्बन्ध विस्तार, विकासका क्षेत्रमा प्रगति हासिल गर्नका लागि दुई देश रक्सौल–काठमाडौँ रेल लिंक जोड्न सहमत भएका हुन्। दुई देशका प्रधानमन्त्री स्तरमा भएको छलफलमा भारतको आर्थिक सहयोगमा रक्सौलदेखि काठमाडौँसम्म रेलमार्ग बनाउन सहमति भएको हो।

यसको पहिलो कदम स्वरुप भारत सरकारले नेपाल सरकारको समन्वयमा प्रारम्भिक अध्ययन एक वर्षभित्र सम्पन्न गर्ने सहमति समेत भएको छ। त्यस्तै दुबै देशले लगानीको मोडेलको विषयमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का आधारमा तय गर्ने सहमति समेत भएको छ।

नेपालका तर्फबाट प्रधानमन्त्री ओलीले रेलमार्ग निर्माणका लागि भारत सरकारलाई पूर्ण सहयोग र साझेदारीको प्रतिवद्धता समेत व्यक्त गरेका छन्। त्यस्तै दुई देशबीच जयनगर–जनकपुर र जोगवनी विराटनगर रेलमार्ग सन् २०१८ भित्र सम्पन्न गर्ने त्यस्तै जयनगर–विजलापुर–बर्दिवास र जोगबनी– विराटनगर रेलमार्गलाई प्राथमिकतामा राखी काम अगाडि बढाउने समेत सहमति भएको छ।

त्यस्तै दुई प्रधानमन्त्रीले न्यू जलपाईगुडी–काकडभिट्टा र नौतनवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज रेलमार्ग निमार्णका लागि अध्ययनलाई अगाडि बढाउने सहमति भएको छ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.