यी हुन् राम्रो र नराम्रो स्वास्थ्यका २०/२० संकेत

साधारणतया स्वस्थ हुनु भनेको शरीरले आफ्नो क्रियाहरू बिना कुनै गतिरोध, बिना कुनै अप्ठ्यारो, हामीलाई असजिलो महसुस नगराईकन गर्नुका साथै मन सकारात्मक र प्रशन्न हुनु हो। जब शरीरले हामीलाई कुनै असजिलो महसुस नगराईकन आफ्ना जैविक क्रियाहरू गर्छन्, साथै जबे मन–मस्तिष्क प्रशन्न, शान्त, सकारात्मक र छलकपट मुक्त हुन्छ तब मात्र हामी पूर्णतया स्वस्थ हुन्छौं । शरीरले आफ्ना क्रियाहरू राम्रोसँग गर्न पाउँदैन, हाम्रो मन–मस्तिष्क निरास, नकारात्मक र अशान्त हुन्छ भने हामी रोगको भागीदार बन्छौं अर्थात् रोगी बन्छौं।

शरीरका जैविक क्रियाहरू जस्तै– भोक, प्यास, पाचन, दिसा, पिसाब, रगत सञ्चालन, निद्रा, पसिना, श्वास–प्रश्वास क्रिया आदि सजिलैसँग कुनै गतिरोध तथा अवरोध बिना, कुनै औषधि वा जडिबुटीको प्रयोग बिना, स्वचालित, स्वतः स्फूर्त आफैं हुनुपर्छ । यी क्रियाहरू शरीरलाई राम्रोसँग सञ्चालन गर्न र निरोगी राख्न प्रकृति निर्मित क्रियाहरू हुन्।

स्वस्थ मान्छेको भोक साधारण र सात्विक खानाले मेटिन्छ; गरिष्ठ (पचाउन कठिन) खाना चाहिँदैन । पाचन क्रिया यति सूक्ष्म हुन्छ कि हामीलाई खाना पाचन भएको थाहा नै हुँदैन । वास्तवमा हामीलाई पाचन क्रियाहरू सम्पन्न भएको महसुस पनि हुनु हुँदैन । खाना खाइसकेपछि पेट ढुस्स हुनु, पोल्नु, डकार आउनु, पिरो मसलेदार खाना खाने र उत्तेजक पेय पदार्थहरू (जस्तै– चिया, कफी तथा चिसो पेय पदार्थ आदि) पिउने इच्छा जाग्नुु आदि अप्राकृतिक र रोगका संकेत हुन् । प्यास लाग्दा पानी मात्र पिउने इच्छा जाग्नुपर्छ र पानी नै पिउनुपर्छ । प्रकृतिले पनि प्यास लाग्दा पानी मात्र पिउने व्यवस्था गरेको छ । सारा जीव–जन्तुहरू प्यास लाग्दा पानी नै पिउँछन् । हामीले अनुभव पनि गरेका छौं, प्यास जति पानीले मेट्छ अन्य कुनै पनि पेय पदार्थले मेट्दैन।

दिसा गर्दा कुनै अप्ठ्यारो महसुस हुनु हुँदैन । यदि दिसा गर्न अप्ठ्यारो हुने, पातलो दिसा आउने, थोरै आउने, दिसा गर्ने इच्छा हुने तर ननिस्कने, गुद्वार चिलाउने, दिसा कडा वा गोट्टा परेमा वा दिसा गरेपछि पेट हल्का तथा आनन्दको महसुस नभएमा रोग लागेको बुझ्नुपर्छ।

पिसाब फेर्दा पनि कुनै अप्ठ्यारो महसुस हुनु हुँदैन । पिसाब सफा वा हल्का पहेँलो हुनुपर्छ; बाक्लो र गह्नाउने हुनु हुँदैन । पिसाब गर्दा पोल्ने, दुख्ने र फिज आउने हुनु हुँदैन । यदि त्यसो भएमा रोग लागेको बुझ्नुपर्छ।

स्वस्थ भएको अवस्थामा हाम्रो छाला नरम, मुलायम, गन्धरहित, लचकदार, तन्किने र तानेर छोड्दा छिट्टै पुनः पहिलाको अवस्थामा आउने खालको हुन्छ । रौंहरू मुलायम हुन्छन् । छाला सुख्खा, खस्रो, दुर्गन्धित तथा खुकुलो भएमा, रौंहरू टुक्रिने, धेरै कपाल झर्ने र रुखो भएमा, कपाल र रौं असमयमा झरेमा हामी रोगी भयौं भनेर बुझ्नुपर्छ।

श्वास–प्रश्वास स्वाभाविक रूपमा चलिरहन्छ । यो क्रिया यति सूक्ष्म हुन्छ कि, सामान्यतया हामीलाई अनुभव नै हुँदैन । जब ध्यान दिएर नियाल्छौं र अनुभव गर्छौं तब मात्र थाहा हुन्छ । स्वस्थ हँुदा श्वास नाकबाट भित्र जाने र बाहिर आउने गर्छ र दुर्गन्धरहित हुन्छ।

निद्रा गहिरो र शान्त हुनुपर्छ । निद्रा वा आरामले शरीरबाट क्षय भएको शक्ति र स्नायु शक्तिलाई पुनः परिपूर्ति गर्छ । प्रकृतिले रात हामीलाई आराम गर्न र निदाउन दिएको समय भएकाले राति मात्र सुत्नु पर्छ । राति निद्रा नआउने तर दिउँसो निद्रा आउने– रोगको संकेत हो । निद्रा कम लाग्ने वा अधिक लाग्ने रोगका लक्षणहरू हुन सक्छन् । निद्रा खुलेपछि आनन्दको महसुस हुनुपर्छ । निद्रा खुलेपछि आलस्यको अनुभव भएमा वा फेरि सुतौं–सुतौं लागेमा शरीरमा कहीँकतै गडबडी भएको बुझोर कारण खोजी समाधान गर्नुपर्छ।

राम्रो स्वास्थ्यका संकेत

१. राम्ररी भोक लाग्नु, भोक लाग्दा सादा र सात्विक खाना खाने इच्छा हुनु ।
२. प्यास लाग्दा पानी मात्र पिउने इच्छा हुनु ।
३. दिसा ठोस, सफा र नियमित हुनु ।
४. पिसाब सफा वा हल्का पहेंलो र दुर्गन्धरहित हुनु ।
५. पसिना दुर्गन्धरहित हुनु ।
६. निद्रा गहिरो र आरामदायी हुनु ।
७. बिहान उठ्दा आनन्दित र स्फुर्तिलो महसुस हुनु ।
८. श्वास–प्रश्वास स्वभाविक र स्वचालित हुनु ।
९.तन र मन आनन्दित हुनु ।
१०. अनुहार चम्किलो र उज्यालो हुनु ।
११. आँखा चम्किलो र निडर हुनु ।
१२. छाला नरम हुनु ।
१३. शरीर लचिलो हुनु ।
१४. काम गर्न जाँगर लाग्नु र बिनाथकावट लामो समयसम्म काम गर्न सक्नु ।
१५. ढाड सिधा हुनु ।
१६. पेटको परिधि छातीभन्दा भित्र हुनु ।
१७. काँधहरू सिधा वा एउटै तहमा हुनु ।
१८. सधैं जोसिलो, जाँगरिलो, सिर्जनात्मक र सकारात्मक सोच हुनु ।
१९. रिस, निरास, डर, तनाव, मानसिक समस्या तथा चिडचिहटरहित हुनु ।
२०. सुत्दा मुख बन्द हुनु, आदि ।

नराम्रो स्वास्थ्यको संकेत

१. भोक नलाग्नु; लागे पनि खान मन नलाग्नु । सधैं भोक लागिरहनु । मसलेदार खाना खाने इच्छा हुनु ।
२. प्यास नलाग्नु वा प्यास लाग्दा अन्य पेय पदार्थहरू पिउने मन हुनु ।
३. दिसा पातलो, गह्नाउने, कडा वा गिर्खा परेको हुनु र पेट राम्ररी सफा नहुनु ।
४. पिसाब पोल्ने, बाक्लो, धमिलो हुनु वा गह्नाउनु ।
५. पसिना दुर्गन्धित हुनु; अत्यधिक आउनु वा नआउनु ।
६. निद्रा नलाग्नु वा सधैं सुत्न मन लाग्नु ।
७. श्वास–प्रश्वास अस्वाभाविक र असजिलो हुनु ।
८. मन निरास हुनु ।
९. अनुहार फुस्रो र अँध्यारो हुनु ।
१०. आँखा कमजोर हुनु, आँखाको वरिपरि कालो पर्नु ।
११. छाला रुखो वा सुख्खा हुनु ।
१२. शरीर तथा मांसपेसीहरू कडा हुनु ।
१३. अल्छी हुनु वा जोस जाँगर हराउनु; थोरै काम गर्दा पनि थाक्नु ।
१४. ढाड कुप्रो परेको वा मेरुदण्ड बांगो हुनु ।
१५. पेट छातीभन्दा बाहिर आउनु; काँधहरू एउटै तहमा नहुनु; सुत्दा मुख खुल्ला हुनु; घाँटी, गर्धन, र टाउकोको पछाडिको भाग अस्वाभाविक देखिनु ।
१६. नाभीको धड्कन आफ्नो ठाउँबाट हट्नु ।
१७. खाना खाएपछि पेट भारी वा ढाडिएको अनुभव हुनु ।
१८. नकारात्मक तथा विध्वंसात्मक सोच हुनु; अत्यधिक रिसाउने बानी हुनु; एकाग्रताको कमी हुनु ।
१९. कपाल झर्नु, रूखो तथा सुख्खा हुनु र चाँया पर्नु ।
२०.अनुहारमा कालोपोतो वा चाँया पर्नु; अनुहार सुन्निनु; डन्डीफोर आउनु, आदि ।

-डा रविनलाल श्रेष्ठ/swasthyakhabar.com

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.