अन्तर्राष्ट्रियकरण हुँदै नेपाली खाना

काठमाडौँ– विश्वव्यापीकरणसँगै अधिकांश नेपाली मौलिक खाना लोप हुँदै गएको अवस्थामा त्यसलाई पुनः प्रयोगमा ल्याउँदै विश्वभर प्रचारप्रसार गराउने उद्देश्यले नेपाली खानाको विश्वव्यापीकरण गर्ने राष्ट्रिय अभियान’ शुरु भएको छ । नेपालका स्थानीय रैथाने खानाको परिकारलाई अन्तर्राष्ट्रियकरण गरी पर्यटक आकर्षण गर्ने उद्देश्यले अभियान शुरु गरिएको हो ।

होटल एशोसिएसन अफ नेपाल ९हान० को संयोजनमा रेस्टुरेन्ट एण्ड बार एशोसिएशन अफ नेपाल र सेफ्स एशोसिएशन अफ नेपालले नेपाली मौलिक खानाको प्रवद्र्धनात्मक अभियान शुरु गरेका हुन् । वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यको मुख्य अग्रसरतामा थालिएको यो अभियानले अन्तर्राष्ट्रिय जगत्मा नयाँ पहिचान स्थापित गर्ने विश्वास गरिएको छ ।

नेपाली पर्यटन र नेपाली मौलिक परिकारबीच गहिरो सम्बन्ध रहिआएको छ । कुनै पनि देशको पर्यटन प्रवद्र्धनका लागि त्यस देशको मौलिक खाना, रहनसहन र वेशभूषासँग प्रत्यक्ष सम्बन्ध राख्दछ । भारत, थाइल्याण्ड, भियतनाम, स्पेन, कम्बोडिया, इटालीलगायत विश्वका थुप्रै देशले आफ्ना देशका खानाका विभिन्न परिकारहरुबाट पर्यटक आकर्षित गर्ने गरेका छन् । नेपालमा पनि जातजातिको संस्कृतिअनुसारका परिकारलाई पर्यटनसँग जोडेर बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउन सकिने अभियानका सोचकर्ता कर्ण शाक्य बताउँछन् ।

नेपाल भ्रमणमा आउने पर्यटकहरु गाउँगाउँमा घुम्न, विभिन्न जातजातिका संस्कृतिसँग रमाउन र उनीहरुका मौलिक खानेकुरा खान रुचाउने गर्दछन् । नेपाल भ्रमण गरी स्वदेश फर्किएका विदेशी पर्यटकहरुले नेपाली खाना र संस्कृतिलाई विश्वभर प्रचार गरेको पाइन्छ । खाना प्रत्यक्षरुपमा जनजीवन, रीतिरिवाज, चाडपर्व, भूगोल, प्रकृति एवं हावापानीसँग जोडिने हुँदा पर्यटकले खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने देखिन्छ ।

विश्व भ्रमणमा निस्कने पर्यटकमध्ये ३० देखि ३५ प्रतिशत विभिन्न देशका खानाको स्वाद लिनकै लागि ती देशहरुको भ्रमण गर्दछन् । हिजोआज पर्यटनको माध्यमबाट देश विकास गर्न खोजेका देशहरुले मौलिक खानाको प्रवद्र्धनमा जोड दिएका छन् । इटालियन, इन्डियन, चाइनिज, कोरियन खाना परिकार भएजस्तै अब नेपालका पनि २६ वटा परिकार अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न लागिएको छ ।

भारतमा सन् १९६० ताका तत्कालीन पर्यटनमन्त्री करण सिँहले भारतीय खानाको प्रवद्र्धन गर्ने उद्देश्यले जेट विमानमा खाना राखी युरोप, अमेरिकामा लगेर प्रचार गराएका थिए । नेपालले पनि अन्तर्राष्ट्रिय समुदायमा नेपाली मौलिक खानाको प्रवद्र्धनबाट बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न सक्ने सम्भावना प्रशस्त रहेको छ । नेपाल आउने पर्यटकको ३५ देखि ४० प्रतिशत खर्च खानामा हुने गरेकाले यसतर्फ विशेष ध्यान दिनु आवश्यक देखिन्छ ।

नेपाली खाना र संस्कृति विश्वभर फैलिएको सन्दर्भमा नेपाली मौलिक खानालाई विश्वव्यापीकरण गरी बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न अभियान शुरु गरिएको हानका महासचिव विनायक शाहले बताए । थाइल्यान्ड, इटाली, भियतनाम जस्ता मुलुकहरुमा पर्यटकहरु त्यहाँ परिकार खानैका लागि करोडौंको संख्यामा जाने गरेका छन् ।

नेपालको परिकारलाई पनि प्रवद्र्धन गर्न सके नयाँ ‘प्रडक्ट’को समेत शुरुवात हुने शाहको विश्वास छ । नेपाली परिकारका खानामा खर्च गराउन सके नेपालको प्रवद्र्धनमा थप सहज हुने देखिन्छ । ‘खानाले प्रवद्र्धन र नेपाली खानाप्रतिको विश्वास विश्वभर जाने छ जसबाट नेपाली पर्यटनमा नयाँ आयाम थपिन्छ,’ महासचिव शाहले भने ।

नेपालीले विश्व बजारमा होटल र रेस्टुराँ सञ्चालन गरेका तर, ती ठाउँमा इण्डियन, इटालियन, चाइनिजलगायत खानाको बिक्री गरिरहेकाले नेपालीले आफ्नै मौलिक खानाको परिकार पस्केर नेपाली पहिचान झल्काउन यो अभियान निकै महत्वपूर्ण मानिएको छ ।

नेपाली ग्यास्ट्रोनोमी लोकल्ली एण्ड ग्लोबल्ली क्याम्पेनका अभियन्ता सुरेशचन्द्र बस्नेतले आगामी मे महिनासम्म देशका प्रमुख शहरहरु र त्यसपछि विश्वका अन्य देशहरुमा नेपाली खानाको प्रवद्र्धनको अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।

सरकारले होटलको अनुमतिपत्र दिँदा त्यसमा नेपाली रेस्टुराँ पनि भएको हुनुपर्ने प्रावधान राख्नुपर्ने होटल व्यवसायी महासचिव शाहको सुझाव छ । थाइल्याण्डले विश्वका कुनैपनि देशमा थाइल्याण्डको खाना खुवाउने रेस्टुराँ स्थापना गरेमा आर्थिक अनुदान तथा प्राविधिक सहयोग पुर्र्याएजस्तै नेपाल सरकारले पनि विभिन्न देशमा रहेका नेपाली रेस्टुराँहरुमा नेपाली रैथाने खाना राख्न प्रेरित गराउन शुरु शुरुमा प्रोत्साहत गर्नुपर्ने उनी बताउँछन् ।

विश्वभर नेपालीहरुले नेपाली रेष्टुराँ सञ्चालन गर्दै आएको भए पनि दाल, भात र रोटीलाई नै नेपाली खान भन्नु पर्ने बाध्यता रहेको थियो । अब ती रेस्टुराँमा नेपाली मौलिक २६ खानाका परिकारहरु पाउन सकिनेछ । यसमा पाँचवटा सुपमा पञ्च क्वाः (आलु, तामा र बोडी), सिस्नोको झोल, फाँडो, क्वाटी र ज्वानोको झोल रहेका छन् । यसैगरी, स्न्याक्समा चुकौ, करेसावारी, चुक शखर खन्ड र साँधेको आलु रहेका छन् ।

मुख्य खानामा जोगी भात, सेकुवा, मनाः छोय्ला, हाकु छोय्ला, कुखुरा साँधेको, बँदेल उसिनेको, ढुंग्रे, वो (बारा), चटाँमरी, पकुवा, फुलौरा रहेका छन् । डेजर्ट आइटममा योमरी, दहीफल, सिकर्नी (दही र दालचिनी) राखिएको छ । ती परिकारको क्यालोरी परीक्षणका लागि सरकारको खाद्य प्रयोगशालामा पठाइएको छ । मेन कोर्स, एपेटाइजर, डेजर्ट गरी विभिन्न भागमा बाँडिएको खानामा चाहिने मसला तथा सामग्रीहरु जुनसुकै देशमा पनि उपलब्ध हुने भएकाले अन्तर्राष्ट्रिय होटलमा यी परिकार बनाउन सकिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते नेपाली खानालाई औपचारिकरुपमा उद्घाटन गरी अन्तर्राष्ट्रियकरण गर्नुहुने कार्यक्रम छ । त्यसपछि ती मौलिक नेपाली खानालाई विदेशस्थित नियोगहरु, गैरआवासीय नेपाली संघ, युनेस्कोलगायत सरोकारवाला संघसंस्थाको सहकार्यमा अन्तर्राष्ट्रियस्तरमा निरन्तर प्रचारप्रसार र प्रर्वद्धन गरिनेछ ।

हाल ८० देशमा रहेका गैरआवासीय नेपालीमध्ये ९० प्रतिशत नेपाली होटल व्यवसायमा आवद्ध छन् । रेष्टुराँको नाम नेपाली भए पनि त्यहाँ नान, टिक्का, तन्दुरी लगायतका भारतीय परिकारको बाहुल्यता छ । नेपाल पर्यटन बोर्डको ’एक्सपेरियन्स नेपाल’ अभियानअन्तर्गत अस्ट्रेलिया, अमेरिकालगायतका विभिन्न देशमा रैथाने नेपाली खानाको प्रदर्शन अभियान सञ्चालन गरिएको थियो । अभियानलाई आफ्नो अभियानका रुपमा लिँदै बोर्डले ‘एक्सपेरियन्स नेपाल अभियान’ यसअघि नै घोषणा गरी नेपाल भ्रमण वर्ष यूरोप २०१७ का संयोजकसमेत रहेका दीपेश शाक्यलाई अभियानको संयोजक तोकेको छ ।

यसअघि सन् २०१७ मा घोषणा गरिएको भिजिट ‘नेपाल इन युरोप’का संयोजक रहेका शाक्य नेपाली खानाका परिकारमार्फत नेपाली पर्यटनको प्रवद्र्धन हुने कुरामा विश्वस्त छन् । नेपाली स्वादलाई विश्वभर रहेको रेष्टुराँमा नेपाली परिकारको रुपमा राख्न सकिएमा त्यसले नेपालको आफैं प्रचार हुने उनी बताउँछन् ।

सन् २०२० मा हुने भिजिट नेपालको पूर्व तयारीका रुपमा हेरिएको यो अभियान सन् २०१८ र २०१९ सम्म जारी रहने नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले बताए । सन् २०१७ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या अहिलेसम्मकै उच्च १० लाख पुगेको छ । अबको दुई वर्षभित्र वार्षिक २० लाख पर्यटक र १२ वर्षभित्र ३० लाख विदेशीलाई नेपाल भ्रमण गराउने लक्ष्य सरकारले राखेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *