स्थानीय तहमा एकैपटक २० हजार कर्मचारी खटाइँदै

काठमाडौँ,चैत्र २७ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई साताभित्र कम्तीमा २० हजार कर्मचारीलाई एकैसाथ स्थानीय तहमा खटाउने तयारी गरेको छ । गृहकार्य अन्तिम चरणमा पुगेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए ।

मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरेर स्थानीय तहलाई आवश्यक पर्ने कर्मचारी पठाउन लागेको उनले बताए । ‘सरुवा मापदण्ड अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘मापदण्ड स्वीकृत भएसँगै त्यसकै आधारमा सार्वजनिक सूचना निकाल्ने तयारीमा छौँ ।

त्यही सूचनाअनुसार करिब २० हजार कर्मचारी स्थानीय तहमा खटिँदै छन् ।’ उनले एक–दुई दिनमै स्थानीय तहमा कर्मचारी खटाउन सार्वजनिक सूचना प्रकाशित हुने बताए । स्थानीय तहमा व्यवस्थित रूपमा कर्मचारी खटाउन मन्त्रालयले सरुवाको मापदण्डसहितको सूचना निकाल्न लागेको जनाएको छ ।

तर, मन्त्रालयले टेरेनन् मन्त्री पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघको मन्त्रालयमा दरबन्दी मिलान गरी बढी भएका कर्मचारीलाई स्थानीय तहमा खटाउने तयारी गरिरहेको हो । तर, सामान्य प्रशासनको तयारीमा अन्य मन्त्रालयले असहयोग गरेको मन्त्रालय स्रोतले जनायो ।

मन्त्रालयले संघको अन्तरिम दरबन्दी स्वीकृत भइसकेको सन्दर्भमा दरबन्दी मिलान गरेर बढी भएका कर्मचारीको विवरण पठाइदिन पत्र लेखेको थियो । २२ चैतमा मन्त्रालयले ३ दिनको समय दिएर सबै मन्त्रालयलाई पत्र लेखेको हो ।

तर, कुनै पनि मन्त्रालयले आजसम्म मन्त्रालयमा बढी भएका कर्मचारीको विवरण नबुझाएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

तोकिएको समयमा दरबन्दीभन्दा बढी कर्मचारीको विवरण नबुझाएपछि सामान्यले पुनः स्मरण गराउँदै सबै मन्त्रालयलाई यथाशीघ्र कर्मचारी विवरण उपलब्ध गराउन सोमबार अर्को पत्र काटेको छ । एक महिनाभित्र स्थानीय तहमा कर्मचारी खटाउने घोषणा गरेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको कदममा सिंहदरबारबाटै असहयोग सुरु भएको छ ।

यस्तो सूचना आउँदै छ

सरकारले स्थानीय तहका लागि करिब ३७ हजार कर्मचारी रहने अन्तरिम दरबन्दी स्वीकृत गरेको छ । त्यसमध्ये स्थानीय तहमा अहिलेसम्म करिब १७ हजार कर्मचारी कार्यरत छन् । बाँकी आवश्यक २० हजार कर्मचारी पठाउन मन्त्रालयले तयारी थालेको हो ।

मन्त्रालयले एक–दुई दिनमै सार्वजनिक सूचना निकालेर सरुवा भएर जान चाहेको स्थानीय तह रोज्न लगाउने जनाएको छ । सरुवा मापदण्डअनुसार कर्मचारीले पदीय ज्येष्ठताका आधारमा स्थानीय तह रोज्न सक्नेछन् ।

मापदण्डअनुसार रोज्नेलाई रोजेको ठाउँमा र स्थानीय तह नरोजी बस्नेलाई मन्त्रालयले आवश्यक परेको ठाउँमा खटाउने तयारी गरेको छ ।

को-को खटिँदै छन् ?

संघका मन्त्रालय गाभिँदा बढी भएका कर्मचारी, विभिन्न विभाग, आयोगमा कार्यरत कर्मचारीलाई सरकारले स्थानीय तहमा खटाउन लागेको हो । त्यसरी खटाउँदा कनिष्ठ कर्मचारीले रोजेको स्थानीय तहमा जाने सम्भावना निकै कम रहेको मन्त्रालयले जनाएको छ ।

वरिष्ठताका आधारमा कर्मचारीले रोजेको तहमा जान पाउनेछन् । सरकारले संघमा दरबन्दी रिक्त राखेर पनि स्थानीय तहको दरबन्दी पूर्ति गर्ने तयारी गरेको छ ।

कस्तो सरुवा हो ?

मन्त्रालयले संविधानले गरेको व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन नहुँदासम्मका लागि कर्मचारी खटाउन लागेको हो । मन्त्रालयले करिब एक साताको समय दिएर एक–दुई दिनमै कर्मचारी खटाउने तयारी गरेको छ । सामान्य प्रशासन मन्त्रालयले भन्यो, ‘अब कर्मचारीले प्रदेशमा गएर काम गर्ने मनस्थिति बनाएर बस्दा राम्रो हुन्छ ।’

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *