पुनर्निर्माणको डेढ अर्ब रकम आफ्नो स्वार्थ मिल्ने गैरसरकारी संस्थामार्फत खर्च

काठमाडौं। नर्वे सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि घोषणा गरको डेढ अर्बभन्दा बढी रकम आफ्नो स्वार्थ मिल्ने गैरसरकारी संस्थामार्फत खर्च गरेको छ। नर्वेले विपतको बेला ठूलै सहयोग घोषणा गरेर सहानुभूति देखाए पनि त्यो आफ्नै स्वार्थपूर्तिमा प्रयोग गरेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई ‘बाइपास’ गरेर पुनर्निर्माणको पैसा बिबिसी मिडिया एक्सन, आद्रा एटलस एलायन्स, संकल्प, सेभ दि चिल्ड्रेन, डबलुएचओ जस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत खर्च गरेको हो। दाता सम्मेलनमा नर्वेले एक अर्ब ५९ करोड रुपैयाँ सहायता प्रदान गर्ने घोषणा गरेको थियो। तर, उसले सरकारको बजेट प्रणालीबाट अहिसम्म एक पैसा पनि खर्च गरेको छैन।

पुनर्निर्माण प्राधिकरणले घोषित सहायता रकमको सम्झौता गर्न पटक–पटक ताकेता गर्दा ऊ पन्छिदै आएको थियो। पुनर्निर्माणमा सहयोग गर्नुपर्ने रकम शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, लैंगिक समानता, खानेपानी तथा सरसफाइलगायत कार्यक्रममा खर्च गरेको छ। केही रकम निजी घर र विद्यालय पुनर्निर्माणमा खर्च गरेको बताइए पनि त्यसबारे प्राधिकरणलाई कुनै जानकारी दिएको छै।

अहिले आएर नर्वेले पुनर्निर्माण प्राधिकरणमार्फत सहायता प्रदान गर्ने घोषणा नै नगरेको दाबी गरेको छ। पुनर्निर्माणबाट दाता पन्छिदै गरेको समाचार मंगलबार नागरिक दैनिकमा प्रकाशित भएपछि उसले यस्तो प्रतिक्रिया दिएको हो। नेपालस्थित नर्वेजियन दूतावासले बुधबार प्राधिकरणलाई पत्र लेख्दै आफूले पुनर्निर्माण प्राधिकरणमार्फत सहयोग गर्ने घोषणा नगरेको जनाएको छ। यो खबर आजाको नागरिक दैनिकमा छापिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.