संरक्षण र प्रचारको अभावमा थोकोपैस

विवश कुलुङ
महाकुलुङ । अर्थात् दूधकोकोसीपारिका गाउँ विकास समिति । महाकुलुङमा बुङ, छेस्काम, गुदेल गाविस पर्छन् । यी गाविस सोलुखुम्बुको दुर्गम गाविस मानिन्छन् । यहाँ कुलुङ बाहुल्य बस्ती छन् । महाकुलुङ विभिन्न संस्कार, संस्कृति र सम्पदाले धनी मानिए पनि यसप्रति कसैको ध्यान पुगेको छैन । स्थानीयले कति दिन आफ्ना गाउँबस्तीमा रहेका सम्पदा संरक्षण र सम्बद्र्धन गरिरहन सक्लान् ?
जिल्ला सदरमुकाम सल्लेरीदेखि १७ कोष दूरीमा रहेको महाकुलुङ क्षेत्रमा रहेको सुन्दर र उचाइबाट थोकोपैस झरना बग्ने गर्छ । यो झरना करीब ३०० मिटर उचाइमा रहेको छ । यसको संरक्षण प्रयास कहीँ कतैबाट भएको छैन ।
समय बित्दो छ, यस क्षेत्रको जनसंख्या वृद्धि तीव्र बन्दै गएको छ । तर, थोकोपैस घट्दो रुपमा बग्दै छ । वर्षायाममा टाढाटाढाबाट देख्न सकिने यो झरना हिउँदमा भने नजिकबाट समेत देख्न सकिँदैन । कारण ? खानेपानी अभाव । खानेपानी अभाव भएपछि चिङ्केम्माला, जम्कोत, बनाम्बस्को, झरिंगे, वाससेम्लातिर खानेपानी लैजाने र कुलो खनेर खेतबारी हराभरा पार्न थालिएपछि थोकोपैस दुब्लाएको हो ।
थोकोपैस कुलुङ भाषी शब्द हो । थोको र पैस मिलेर बनेको थोकोपैस भनेको भीरमौरीको मह काढ्न भीरमा जाँदा मालिंगोको चोयाले बुनेर बनाएको एकप्रकारको सिँढी हो । यसको प्रयोग गरेपछि अग्लो–अग्लो भीरमा पनि सहजै जान सकिन्छ । र, पैस भनेको छुन जानु हो । परापूर्वकालमा कुलुङ पुर्खा थोकोपैस पुगेर भीरमौरीको मह काढ्ने गर्थे । हिजोआज पनि यस झरनाछेउछाउ भीरमौरी बस्ने गरेको छ । किंवदन्तीअनुसार उनीहरु थोको प्रयोग गरेरमात्र यहाँको भीरमौरीको मह काढ्ने गर्थे । पछि मह काढ्ने ठाउँको झरनाको नाम थोकोपैस झरना रहन गएको हो ।
महाकुलुङमा रहेको थोकोपैस झरनालगायत अन्य सम्पदाप्रति राज्यको दृष्टि पुग्ने हो भने थोकोपैस पर्यटकीय स्थल बन्नेछ । त्यसपछि स्थानीयको व्यापार व्यवसाय फस्टाउने थियो । त्यतिमात्र होइन, बेरोजगार स्थानीय स्वरोजगार युवाका रूपमा स्थापित हुनुका साथै देशको पहिचान र गौरवमा अवश्य टेवा पुग्ने थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.