आज बाह्रौं लोकतन्त्र दिवस

काठमाडौं । आज बाह्रौ लोकतन्त्र दिवस । मुलुकभर जनस्तरमा विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइदै छ । २०६२/६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र दिवस मनाइएको हो ।

लोकतन्त्र स्थापनापछि शान्ति प्रक्रिया निष्कर्षमा पुगे पनि संविधान कार्यान्वयन नभएसम्म स्थिरता कायम हुन सकेको छैन ।

संविधान कार्यान्वयनका लागि तीनै तहको चुनाव हुुनु जरुरी छ । वैशाख ११ गतेको जगमा देशमा ठूला परिवर्तन भए पनि यो दिन बिरानो बन्दै गएको छ ।

यो विशेष दिनलाई सरकार र राजनीतिक दलले पनि बिर्सिए झै गरेका छन् । परिवर्तनलाई संस्थागत गर्ने र ब्यवहारमा लोकतान्त्रिक चरित्र देखाउने काममा सरकार र राजनीतिक दल चुक्दा नागरिकका सपना अझै पूरा हुन सकेका छैनन् । २०६३ वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गर्नुभएको थियो ।

पुनस्र्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो । जनआन्दोलनमा कमाण्डर समेत रहेका नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन गराएको थियो ।

संविधानसभाको २०६५ साल जेठ १५ गतेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको थियो ।

राजतन्त्र गयो, सामन्तवाद गएन
०६२/६३ को जनआन्दोलनले निरंकुश राजतन्त्र अन्त्य गरे पनि नेतामा रहेको सामन्तवादी चिन्तन अझै नगएको कतिपय नेताको बुझाइ छ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको भनाइमा, निरंकुश राजतन्त्र अन्त्य ००७ साल देखिको आन्दोलनको पृष्ठभूमिमा दोस्रो जनआन्दोलनले गरे पनि राज्य सञ्चालकमा अझै सामन्ती संस्कारले जरा गाडिरहेको कुरा आजको अन्नपूर्ण पोस्टमा  रामकृष्ण अधिकारीले लेखेका छन् !

‘सबै राजनीतिक दलका नेतृत्व सामन्ती हुन खोजेको अहिले पनि देखिन्छ । म भन्छु तिमी मान है १ भनेर हुकुम दिन खोजिएको पाइन्छ । यो एउटा दलमा मात्र होइन, सबै राजनीतिक दलमा देखिएको छ’, कांग्रेस नेता सिटौला भन्छन्, ‘सामन्ती व्यवस्था अन्त्य गर्ने तर त्यस्तो संस्कार आफंै बोक्ने कुरा राम्रो होइन, यसविरुद्ध पनि हरेक राजनीतिक दलभित्रै आन्तरिक संघर्ष आवश्यक छ ।’

तर, पार्टीभित्र देखिएका त्यस्ता प्रवृत्ति सधंै निर्णायक हुन नसक्ने ठान्छन्, पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता खनाल । उनी नेपालमा सामन्तवाद राजनीतिक, आर्थिक रुपले समाप्त भइसकेकाले राजनीतिक दलका नेतामा यदाकदा देखिन खोज्ने सामन्तवाद अवशेष मात्र भएको टिप्पणी गर्छन् ।

खनाल भन्छन्, ‘निरंकुश राजतन्त्र सकिएको छ । देश स्वतन्त्र, लोकतान्त्रिक गणतान्त्रिक नेपालमा रुपान्तरण भइसकेको छ । यस्तो बेला व्यक्तिका स्वार्थ आदि÷इत्यादिमा त्यस्तो प्रवृति हुन सक्छन् तर ती अवशेष मात्र हुन् । निर्णायक हुन सक्दैनन् ।’

संविधानसभाबाट निर्माण भएको संविधान अझै कार्यान्वयनको चरणमै रहेको र कतिपयले संविधानका प्रावधानमा असन्तुष्टि राखिरहेका कारण त्यसको सही व्यवस्थापन राजनीतिक दलसामु नयाँ चुनौती भएको माओवादी नेता शेरचन बताउँछन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.