गोरेले मागे हिरासतमै सुरक्षा

विरातनगर, जेठ ९ गते ।
सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेतीले हिरासतमै सुरक्षाको माग गरेका छन् ।
प्रहरी हिरासत भित्र आफू असुरक्षित रहेको भन्दै उपयुक्त सुरक्षा व्यवस्था मिलाइदिन गोरेले माग गरेका हुन् । मंगलबार पक्राउ परेका गोरे जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा छन् । जिल्ला अदालत मोरङमा बयानका लागि बुधबार उपस्थित गराइएका उनले मानव अधिकारकर्मीको निगरानीमा आफू हिरासतमा बस्न पाउनु पर्ने आवाज उठाएका हुन् । प्रहरी हिरासत भित्र असुरक्षित रहेको र घटना अनुसन्धानका नाममा आफूलाई विभिन्न किसिमका यातना दिने काम गर्न थालिएको भन्दै गोरेले सुरक्षित रहन पनि मानव अधिकारकर्मीको निगरानीमा हिरासतमा राख्न माग गरेका हुन् ।
उनको प्रतिरक्षामा बहस गर्नका लागि वकालतनामा दर्ता गराएका अधिवक्ता यामबहादुर मगरले गोरेको माग अनुसारको निवेदन अदालतमा बुधबार नै दर्ता गराएका छन् । निवेदन दर्ता गराइएपछि न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले गोरेका हकमा हिरासतमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन र मानव अधिकारकर्मीको निगरानीमा राख्ने व्यवस्था गर्न जिल्ला प्रहरी कार्यालय मोरङका नाममा आदेश जारी गरेको निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए ।
‘धम्की आएका कारण म प्रहरी हिरासत भित्र अति नै असुरक्षित छु,’ गोरेलाई उद्धृत गर्दै अधिवक्ता मगरले भने, ‘त्यही भएर आवश्यक सुरक्षा र मानव अधिकारकर्मीको निगरानी हुनु आवश्यक छ।’ मगरले कुनै एउटा थुनुवाले सबै भन्दा बढी सुरक्षित हुनु पर्ने प्रहरी हिरासत भित्र असुरक्षित महसुस गर्नु पर्ने अवस्थाको सिर्जना हुनु दुःखद् भएको बताए ।
गोरेसँग जिल्ला अदालत मोरङले बुधबारबाट बयान लिन सुरु गरेको छ। न्यायाधीश शर्माकै इजलासमा बयान लिनका लागि उनलाई बिहान १० बजे अदालत उपस्थित गराइएको थियो। छानबिन समितिले मंगलबार पक्राउ गरेर काठमाडौंबाट विराटनगर पठाएपछि उनलाई अदालतमा बयानका लागि पेस गरिएको हो ।
अदालती समय सकिए पनि बुधबार बयान नसकिएपछि बिहीबार पुन उपस्थित गराउने गरी गोरेलाई प्रहरी कार्यालयमै फर्काइएको छ । अदालतबाट बाहिर निकाल्दा उनको अनुहार कालो रुमालले छोपिएको थियो। सुन तस्करी र सनम हत्यासँग जोडिएका सबै घटनाक्रमका बारेमा क्रमस बयान भइरहेका कारण पहिलो दिन बयान नसकिएको अदालतले जनाएको छ ।
बयानका क्रममा इजलासमा सामान्य व्यवहार देखाएका उनले मज्जाले घुलमिल भएरै सोधेका प्रश्नको जवाफ दिएको स्रोतले बतायो । जिल्ला सरकारी वकिल कार्यालय मोरङले ६३ जनालाई विपक्षी बनाएर दायर गरेको एक सय ५३ पृष्ठको अभियोगपत्र पढेर सुरुमा सुनाइएपछि उनको बयान लिन थालिएको थियो । पहिलो दिन गोरेलाई उनकै पृष्ठभूमि लगायतका बारेमा सोधिएको छ । घटनाका विषयमा बयानमा केही कोट्याउने प्रयास गर्दै गर्दा बुधबार समय अपुग भएको अदालतका एक कर्मचारीले बताए ।
गोरेसँग उनकै पृष्ठभूमि तथा सुन तस्करीका बारेमा प्रारम्भिक रुपमा पाँच पेजको बयान लिइएको बताइएको छ । उनले सुन तस्करीमा ठूलो गिरोहको संलग्नता रहे पनि घटनामा आफूलाई मात्रै दोषी देखाउन खोजिएको बयान दिएका छन् । स्रोतका अनुसार सुन खोजी गर्ने क्रममा गोरे समूहले सिन्धुलीसम्म दिएको यातना लगायतका घटनामा पुगेर पहिलो दिनको बयान सकिएको छ । उनले सिन्धुलीसम्मको घटना क्रमका बारेमा बेलीविस्तार लगाएको अदालतका एक कर्मचारीले बताए । विमानस्थलका कर्मचारी लगायतलाई सुन खोजी गर्ने क्रममा गोरे समूहले सिन्धुलीसम्म पु¥याएर यातना दिएको छानविन समितिले पत्ता लगाएको थियो ।
स्रोतका अनुसार प्रारम्भिक बयानमै उनले सुन तस्करीमा केही उच्च व्यक्तिको संलग्नता रहेको बताएका छन् । ती व्यक्ति को को हुन् भन्ने कुरा र उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । अदालत स्रोतका अनुसार बयानमा हराएको साढे ३३ किलो सुन खोजी गर्दा करेन्ट लगाउने क्रममा मृत्यु भएका सनमसम्म आइपुगेको छैन ।
जिल्ला अदालत मोरङले सुन तस्करी र शाक्य हत्यामा मुछिएका २८ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न मंगलबार नै आदेश दिइसकेको छ । एकजना धरौटी र एक जना साधारण तारेखमा रिहा भएका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.