कुलुङ समुदायमा समाधिस्थल चुनौति

तस्विरमा महाकुलुङको एक गाउ

विवश कुलुङ
महाकुलुङ, जेठ १४ गते । प्राय जसो घरको नजिकै चिहान छ । कुनै घर नजिक थोरै त, कुनै घर नजिक धेरै । अंश बण्डा र घरपरिवार छुटफुटसँगै कुल वंशको चिहान स्थल पनि थपिन्छ । जहाँ घर बन्छ, त्यहाँ पनि चिहान थपिने निश्चित छ, किनभने मानिस मरणशिल प्राणी हो ।
कतिलाई अचम्म लाग्न सक्छ, किरात कुलुङ समुदायमा मृत्यु पश्चात आफ्नै कोठेबारीमा समाधिस्थ गर्ने चलन छ । जसका कारण प्रत्येक घर नजिक चिहान सामान्य जस्तै मानिन्छ । यो एउटा टोलको कथा होइन पुरै कुलुङ समुदायका गाउँ बस्तीको हो । यस्तैमध्ये एक सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका पनि पर्छ ।
महाकुलुङमा ९० प्रतिशत बढी कुलुङ जातिको बसोबास छ । कुलुङ परम्परा अनुसार गाउँमा कसैको मृत्यू भए घर नजिकै आफ्नै बारीमा चिहान बनाएर समाधिस्थ गर्ने गरिन्छ । परापुर्वकालदेखि नै मृतकलाई घर छेउमा गाड्ने चलन हो । आफ्नै निजी जमिनमा देह संस्कार गर्ने परम्पराका कारण कुलुङ सामुदायको बसोबास रहेका गाउँमा सामुहिक समाधिस्थलको व्यवस्था हुँदैन ।
सहर बजार र अन्य केही जिल्लामा सामुहिक समाधिस्थलको व्यवस्था भएपनि महाकुलुङमा त्यो अभ्यास शुरु भएको छैन । आदिकालदेखि चल्दै आएको निजी जमिनको समाधिस्थल परम्पराले पछिल्लो समय भने समस्या हुन थालेको छ । अन्यत्रको हिमाली र पहाडी गाउँहरुमा जनसंख्या घटेपनि महाकुलुङमा बढ्दो छ । जनसंख्या बृद्धि र जमिनको खण्डीकरणले बारीमै चिहान राख्ने परम्परामा चुनौती सृजना हुँदै गएको नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ(कुलुङ संघ)का जिल्ला अध्यक्ष परमध्वज कुलुङ बताउनु हुन्छ ।
अध्यक्ष कुलुङ यो संस्कारले बारीहरु विस्तारै चिहान घारीमा बदल्दै लगेकोमा चिन्तित हुनुहुन्छ । वहाँ भन्नुहुन्छ– ‘परम्परालाई सिधै हटाउन नमिल्ला तर कसरी हो यसमा सुधार आवश्यक भएको छ । नत्र विस्तारै टोल, बस्ती र गाउँ चिहानमय हुनेछ । पक्की चिहान बनाउनाले झन् समस्या ल्याएको छ ।’
घरबारीमा चिहान बनाउने चलनले खेति योग्य जमिन कमि हुँदै गएको महाकुलुङका स्थानीय डिल्ली कुलुङले बताउनु भयो । नक्षत्र हेर्दा जोगिनीले जहाँ भेट्टाउँछ, त्यहि चिहान खन्नुपर्ने मान्यताले यहाँ उर्वर जमिनको संकट भएको कुलुङको भनाइ छ । पात्रो अनुसार जोगिनीले नभेटेको ठाउँमा चिहान खन्न हुदैन भन्ने मान्यता छ । त्यहि मान्यता अनुसार नै चिहान बनाईदै आईएको छ ।
पुराना पुराना घरको नजिक १०÷१२ वटा सम्म चिहान हुँदा करेसा बारीकै समस्या भएकोले यो परम्परा बारेमा सोँच्ने बेला भएको वहाँ बताउनु हुन्छ । डिल्ली कुलुङको जस्तै धेरैको कुलुङ समुदायले सामुहिक समाधिस्थल बारे सोँच्नु पर्ने समय आएको ठम्याइ छ ।
नेपालमा अन्य सामुदायले पनि लास माटोमा गाड्ने गरेका छन् । सोलुखुम्बूमा मात्रै कुलुङले जस्तै खालिङ, थुलुङ लगायत अन्य किरात समुदायले पनि घरबारीमा मृतकलाई गाड्ने गरेका छन् । तर अरु धेरै समुदायले भने निश्चित स्थानमा सामुहिक समाधिस्थल बनाएका छन् ।

कुलुङ जातिको उद्गम स्थल महाकुलुङमा घरकै बारीमा लास दवाउने चलनले विस्तारै समस्या खडा गर्दै गाएको छ । कुलुङ समुदायले समाधि संस्कार समयसँगै परिवर्तन गर्ने बेला आएको, कुलुङ संघका अध्यक्ष कुलुङ जोड दिनु हुन्छ । अहिल्यै सोँचेर अगाडि नबढे भविश्यमा थप चुनौती बढ्दै जाने हुँदा बेलैमा सोच्नुपर्ने वहाँले बताउनु भयो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.