हट्ने भयो खरिदार र कम्प्युटर अपरटेरमा नयाँ भर्ना

हट्ने भयो खरिदार पद

निजामती सेवामा खरिदार पद नराख्ने तयारी गरिएको छ । त्यसका लागि खरिदार पदमा खुल्ला विज्ञापन खुलाइने छैन ।

संघीय निजामती सेवा ऐनको मस्यौदामा राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ ।

यसअघि खरिदार पदमा खुल्ला विज्ञापनबाट ७० प्रतिशत पदपूर्ति गरिन्थ्यो । हाल कानुन मन्त्रालयमा सुझावका लागि पुगेको संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ८ मा खरिदार पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सुरेश अधिकारीले  भने, ‘कार्यालय सहयोगीबाहेक खरिदार पदभन्दा तल अर्को पद छैन । कार्यालय सहयोगी आन्तरिक प्रतिस्पर्धाबाट माथि आउन पाउने व्यवस्था छ । त्यसैले अब खरिदार पद राखिराख्नु परेन ।’

उनले संघीय निजामती सेवा ऐनको मस्यौदा कानुन मन्त्रालयमा विचाराधीन रहेको जानकारी दिए ।

अब आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट २० प्रतिशत र जेष्ठताको बढुवाको आधारमा १० प्रतिशत खरिदार पदमा पूर्ति गर्ने संघीय निजामती सेवा ऐनको मस्यौदामा उल्लेख छ । यसको अर्थ एसएलसी परीक्षा उत्तीर्ण कार्यालय सहयोगीहरु आन्तरिक परीक्षाबाट र बढुवाबाट खरिदार बन्नेछन् । र, खरिदार पदमा रहेका कर्मचारीहरु सेवा निवृत्त भएमा दरबन्दी स्वतः खारेज हुँदै जानेछ ।यसअघि खरिदारभन्दा तलको मुखिया पद पनि यसैगरी खारेज भएको थियो ।

कम्प्युटर अपरटेरमा नयाँ भर्ना नलिइने

सरकारले कम्प्युटर अपरेटर पद खारेज गर्ने भएको छ । संघीय निजामती सेवा ऐनको मस्यौदामा कम्प्युटर अपरेटर पद खारेज गर्ने उल्लेख छ ।

हाल विविध सेवा अन्तर्गत राजपत्र अनंकित प्रथम श्रेणी कम्प्युटर अपरेटर पद र राजपत्र अनंकित द्वितीय श्रेणीको सहायक कम्प्युटर अपरेटर पद छन् । कम्प्युटर अपरेटर पद नायब सुब्बा सरह र सहायक कम्प्युटर अपरेटर पद खरदारसरह हुन्छन् । ती पदहरुमा सरकारले लोकसेवा आयोगमार्फत् परीक्षा लिएर स्थायी पदपूर्ति गर्दै आएको छ ।

तर, संघीय निजामती सेवा ऐन लागू भएपछि ती पदहरुमा विज्ञापन खुलाइने छैन । संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ८ को उपदफा ६ मा लेखिएको छ, ‘नेपाल विविध सेवा अन्तर्गतको राजपत्र अनंकित प्रथम श्रेणी कम्प्युटर अपरेटर पद र राजपत्र अनंकित द्वितीय श्रेणीको सहायक कम्प्युटर अपरेटर पदमा स्थायी पदपूर्ति गरिने छैन । त्यस्ता पदहरु रिक्त भएमा स्वतः खारेज हुनेछन् ।’

हाल कम्प्युटर अपरेटर पदमा १ हजार ८७ जना र सहायक कम्प्युटर अपरेटर पदमा २६६ जना स्थायी कर्मचारीहरु कार्यरत रहेको निजामती किताबखानामा अभिलेख छ । ती कर्मचारीहरु सेवाबाट अवकाश भएसँगै दरबन्दी पनि स्वतः खारेज हुनेछन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.