अलैंचीको बिरुवामा अख्तियारको छानबिन

जेठ २१ गते, तेह्रथुम- जिल्ला कृषि विकास कार्यालय तेह्रथुमले किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको अलैंचीको बिरुवामा ब्यापक भ्रष्टाचार भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । किसानलाई जिल्ला कृषि विकास कार्यालयले वितरण गरेको निरोगी अलैंचीको बिरुवामा फर्जी संख्या थप गरेको भन्ने उजुरी परेपछि बिरुवा लाने किसानलाई भेटेरै अख्तियारका कर्मचारीले सोधपुछ गरेका छन् । अख्तियारको कार्यालय धनकुटामा उजुरी परेपछि आयोगले बिरुवा लाने किसान र कृषि कार्यालयका कर्मचारीलाई छुट्टाछुट्टै राखेर छानबिन सुरु गरेको हो ।
कृषि विकास कार्यालयले वितरण गरेको अलैंचीको बिरुवा लिने किसानलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुममा बोलाएर बिरुवाको खरिद संख्या बारेमा सोधपुछ गरेको अनुदानमा बिरुवा लिएका म्याङलुङ–५ का वडाध्यक्ष होमबहादुर खड्काले बताए । उनले भने, “मैले एक सय विरुवा लगेको थिएँ, भर्पाइ पनि त्यति नै थियो, तर कसै–कसैलाई ६ सय विरुवा दिएर ६ हजारको विल भर्पाइ बनाएको पनि पाइयो ।” कार्यालयले वितरण गरेको अलैंचीको बिरुवा ५ सय वटामा ५ हजार बिरुवा लिएको फर्जी बिल बनाएको फेदाप गाउँपालिका ईसिवुका नन्दकिशोर लिम्बुले बताए ।
फर्जिविलबारे अख्तियारमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयमा एकै दिन ४९ जना कृषकसँग अख्तियारका कर्मचारीले सोधपुछ गरेका छन् । सोधपुछका क्रममा बिरुवा नलगेका किसानको नाममा समेत कृषि कार्यालयले फर्जी बिल तयार गरेपछि आफूहरूलाई बिनासित्ति अख्तियारले दुःख दिएको किसानले दुखेसोसमेत परेका छन् । कृषि कार्यालयले अनुदानको अलैंची बिरुवा प्रतिबोट दुई रुपैयाँमा कृषकलाई बिक्री गरेकोे थियो । कालो सुन भनेर चिनिएको अलैंची बिभिन्न रोगले मर्न थालेपछि कृषकले पनि गतवर्ष सोह अनुदानको अलैंचीका बिरुवा खरिद गरेका थिए ।
किसानलाई वितरण गरेको अलैंचीको बिरुवाका बारेमा अख्तियारले छानबिन गरेकोबारे आफूलाई जानकारी नभएको कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए । “मेरोे कार्यकालभन्दा पहिले नै अलैंचीको विरुवा बितरण गरिएकाले यसबारेमा थाहा छैन,” उनले भने ।

-प्रकाश पाक्साँवा/karobardaily

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.