अभावै अभावले रित्तिदै गाउँ

सोलुखुम्ब, जेठ ३० गते । आफू जन्मेको ठाउँ आफ्नो प्राण भन्दा पनि प्यारो हुन्छ । धेरै मानिसहरु यसै भन्ने गर्छन् । तर यो भनाईलाई गलत सावित गरिदिएका छन् सोलुखुम्बु महाकुलुङका चेरेमबासीले । चेरेममा जन्मेका अधिकाँशले चेरेम गाउँलाई माया मार्दै जान थालेका छन् । चेरेम पुग्ने जो कोहीले त्यहाँ भत्किएका घरको अवशेष र घर छोडेर गएपछि खिया परेका साँचोहरु भन्दा फरक दृश्य देख्न पाउँदैनन् ।
नुनतेलको लागि बजार सम्म पुग्नका लागि भौगोलिक विकटता, स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्था टाढा, बालबालिकाहरुको माध्यमिक शिक्षाका लागि विद्यालय टाढा, पुलपुलेसाको अभाव, सदरमुकाम टाढा जस्ता समस्याले गर्दा यहाँका बासिन्दाहरु अन्यत्र बसाई जान थालेपछि गाउँ शुन्य हुदै गएको हो । वर्षायाममा खोलानाला बढेर आएपछि पूलपुलेसाको अभावमा चेरेमबासी गाउँभित्रै सीमित रहनुपर्ने बाध्यता हुन्छ ।
‘आफ्नो गाउँको माया लागेर के गर्नु र ? बर्षा यामको दुःख सम्झने हो भने यहाँ बस्नै मन लाग्दैन’ चेरेमका लाक्पा शेर्पाले भन्नभुयो । आफूहरु जंगलको बीच भागमा बस्नुपर्दा पशु र मानिसमा कुनै अन्तर जस्तो नदेख्ने उनीहरु बताउँछन् । गाउँमा जन्मेकाहरु गाउँ त्याग्दै जान थालेपछि आफूहरुलाई पनि जान मन लाग्ने शेर्पाको भनाई छ । लाक्पा शेर्पाका अनुसार भौगोलिक विकटता र सरकारी सेवा सुविधाका अभाव मात्र बसाई जानुपर्ने कारण होइन, उनको भनाईमा बर्षभरि मरी मरी उब्जाएको अन्न एकैरातमा जंगली जनावरले स्वाहा बनाएपछि विरक्त भएर गाउँ छाड्ने गरेको उहाँको तर्क छ ।
प्रायः शेर्पा जातिको मात्र बसोबास रहेको चेरेमबाट बसाई सरेर नगएको भए हाल सयको हाराहारीमा पुग्नुपर्ने घरधुरी अहिले डेढ दर्जनको हाराहारीमा सीमित भएको छ । चेरेममा बस्दा आधारभूत आवश्यकताकै अभाव देखेर गाउँ छाडेकाहरु मध्ये अहिलेसम्म फर्केर पनि आएका छैनन् । विभिन्न दलका नेताहरु भोट माग्दै गाउँसम्म पुग्ने गरेको र पूलपुलेसा निर्माण गरिदिने आश्वासन पाएपनि चेरेमका जनता अझै पनि खोलानाला तर्न नसकेरै आफ्नो गाउँभित्र मात्र खुम्चिन बाध्य छन् । घना जंगलको बीचमा पर्ने यो बस्तीबाट नजिकको बस्ती पुग्न समेत ३ वा ४ घण्टा समय लाग्छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.