रसियालाई हराउँदै उरग्वे बन्यो समूह विजेता

असार ११/मस्को (एजेन्सी) –उरूग्वे रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप फुटबलमा समूह विजेता हुने पहिलो टिम भएको छ।
x
समूह एमा रहेको उरूग्वेले समूह चरणको आफ्नो अन्तिम खेलमा आयोजक रसियालाई ३-० गोल अन्तरले हराउँदै समूह विजेताहुँदै नकआउट चरणमा प्रवेश गरेको हो।

उरूग्वेलाई जिताउन लुइस स्वारेज र काभानीले एक-एक गोल गरे भने अर्को गोल रसियाली खेलाडीले उपहार दिएका थिए।

सामरा एरिना रंगशालामा भएको खेलमा घरेलु टोलीमाथि हाबी देखिएको उरूग्वेले खेलको १० औं मिनेटमा गोल गर्दै खेलमा अग्रता लियो। उरूग्वेका लागि लुइस स्वारेजले फ्रिकिकमार्फत गोल गरेका हुन्।

१० खेलाडीमा सिमित रसियामाथि उरूग्वेले पहिलो हाफमै २-० को अग्रता बनाएको थियो। खेलको २३ औं मिनेटमा रूसका डेनिस चेरिसेभले आत्मघाती गोल उपहार दिएपछि उरूग्वेले २ – ० को अग्रता बनाएको हो।

डिएगो लाजलाटको कडा प्रहार चेरीसेभलाई लाग्दै गोलमा परिणत भएको थियो।

खेलको ३६ औं मिनेटमा रूसका इगोरले दोहोरो पहेलो कार्ड खाँदै रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए।

३७ मिनेटपछि १० खेलाडीमा सिमित भएको घरेलुटोलीले उरूग्वेको लगातार दबाब थेग्न गाह्रो परिरहेको थियो।

पहिलो हाफ २-०ले अघि रहेको उरूग्वेले दोस्रो हाफमा थप एक गोल गर्‍यो। उसका लागि खेलको ९० औं मिनेटमा काभानीले गोल गर्दै टिमलाई ३-० को जित दिलाए।

समूह ए मा रहेको उरूग्वे शतप्रतिशत नतिजासहित ९ अंक पाएर समूह विजेता भयो। समूहमा दुई खेल जितेको घरेलु टोली रसिया उपविजेता हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.