एक मच्छडको आत्मकथा

                                                                                       -बुद्धिसागर

अफिसमा पस्नासाथ रिसेप्सनबाट मैले एउटा पुलिन्दा पाएँ। रिभ्युका लागि आएको किताब होला भनेर खोल्न हतार गरिनँ। साँझ घर फर्किने बेला के रैछ भनेर खोलेँ। भित्र तहतह मिलाइएका थोत्रा कागजका पन्ना थिए। एकदम केरमेट। कसैले रिभ्युका लागि पान्डुलिपि नै पठायो कि भनेर हाँसेँ। नागरिक विकेन्डका साथीहरूले पनि रमाइलो माने। फुटबल हेर्न राति १२:१५ कुर्नु त छँदैछ। त्यही बेला पढ्न हुन्छ भनेर पुलिन्दा काखीमा च्यापेँ।

म बागमती किनारमा जन्मेकी थिएँ। बीस वर्षअघि जन्मेकी भए, मेरो नाम ‘बागमतीकुमारी’ हुन्थ्यो होला। तर, अहिले जन्मेकाले मेरो नाम भयो- ढलकुमारी। म बैंसमा खुब राम्री थिएँ। आमै भन्नुहुन्थ्यो, ‘ढलकुमारी, ख्याल गर्नू, मच्छडहरू कहिल्यै गतिला हुँदैनन्।’

हुन पनि मेरा बाबा कहिल्यै गतिला थिएनन्। सधैं मात्तिएर आउँथे। लामालामा खुट्टाले आमैलाई गोद्थे। एकदिन टिल्ल भएर बाबा मध्यरात घर आएका थिए।

‘आज पनि धोकेर आयौ, होइन?’ आमै कराउनुभो, ‘सधैं यसरी चल्दैन।’

‘एई रन्डी, नकरा।’ बाबाले आमैको खुट्टा समाएर पछारे, ‘दिनभरि को नाठोसित जान्छेस्? यसरी त कोही सधैं सुत्केरी हुँदैन। तेरा बाउको खा छैन।’

खुट्टा मर्किएर रन्थनिएकी आमा रातभरि भुइँमा लडिरहिन्। बिहान बाबालाई जाँडले छोडेछ। आमैको खुट्टा मर्केको थाहा पाए।

‘एई, मलाई माफ गर्दे।’ आमैछेउ टुसुक्क बसेर बाबाले भने, ‘के गर्नु अचेल फलफूल भन्नु न हो, केही न केही मिस्सेको हुँदोरैछ। यसो चुस्यो, लागिहाल्छ।’

आमै निन्याउरो अनुहार लाएर बसिरहिन्।

त्यसदिन बाबाले माफी पाए। तर, एकदिन राति भुनभुन उड्दै ग’का बाबा फेरि फर्केनन्। मच्चछडको जिन्दगी मान्छेको हत्केलाको एक ‘प्याट्ट’ त हो नि!

बाबा नभएपछि, आमालाई झन् चिन्ताले समाउन थाल्यो। सन्तान जन्माउँदा-जन्माउँदा आमा लिखुरे भइसकेकी थिइन्। जन्मेका कोही पनि बाँच्दैनथे। अन्डाभित्रै मरेका हुन्थे। तातो रगत खान नपाएर आमैका गाला धस्सिँदै गएका थिए। दिनभरि अँध्यारो ढलमा लुकेर बस्थिन्।

एक दिन आमै रगत पिउन निस्किन्। राति अबेरसम्म आइनन्। मलाई खुबै चिन्ताले समायो। मान्छेहरू अचेल के-के जाती धुप बाल्छन्, त्यै सुँघेर ढलिन् कि? म रातभर छट्पटिएँ। बिहानपख आमै आइपुगिन्।

आमै मुसुमुसु हाँसिरहेकी थिइन्। खुट्टा लर्बरिइरहेका थिए।

‘हिजो रगत चुसेदेखि कस्तो झमझम भा’छ।’ आमाले हिस्स हाँस्दै भनिन्, ‘यै मोरी! मलाई फेरि बैंस आयो कि कुन्नि?’
म चुप रहेँ।

‘म राम्री छैन त?’ आमैले फननन नाचेर भनिन्।

मलाई भने डर लाग्न थाल्यो, आमैले गतिलो रगत पिइनन् कि क्या हो? मैले सोधेँ, ‘कस्को रगत पिएको, आमै?’
‘कस्को भन्नु? मान्छेको!’ आमैले कम्मर मर्काउँदै भनिन्, ‘ठूलो घर थ्यो। असलै रगत होला भनेर पसेँ। मान्छे पनि पोटिलै थ्यो। रगत पिएपछि झमझम भो। छोरी, त्यसपछि मैले सारा पीडा बिर्सेर।’

दिनभर आमै टोलाएर बसिन्।

त्यसपछि त लगातार तीनदिन आमा त्यसरी नाच्दै आइन्। त्यै झमझम हुने रगत पिउँथिन् क्यारे। आमाको यस्तो ताल देखेर होला, एकदिन मच्छड काका घरमा आए। मलाई सुटुक्क सुनाए, ‘ढलकुमारी, अब हामी मच्छडका दिन गए। मान्छेका रगतमा के-के मिसिन थालेछन्। अब त हाम्रा चेलीबेटी मान्छेलाई टोक्यो कि उपद्रो गर्दै आइपुग्छन्। आफ्नो ख्याल राख्नू। अब भाउजुको पनि भर छैन।’

आखिरमा काकाले भनेजस्तै भो। आमालाई रगत पिएर आएपछि टोलाउने बेथा लायो। तैपनि बल्लतल्ल रगत पिउन जान्थिन्। एकदिन आमैले रुँदै भनिन्, ‘छोरी, मैले गतिलो रगत पिइनछु। अब त त्यही रगत नपिई बस्न सक्दिनँ। आफ्नो ख्याल राख्नू।’

त्यसदिन आमै र म अँगालो मारेर रोइरह्यौं।

भोलिपल्ट आमै फेरि रगत पिउन गइन्। फर्कंदा त बहुलाजस्तै भएकी थिइन्। जे देखे पनि डरले चिच्याउँथिन्। म रातभर आमाछेउ बसेँ। आमा चिच्याउँदा-चिच्याउँदै बेहोस भइन्। मैले सारा मच्छडलाई गुहारले। ‘के-के जाति रोग सर्छ’ भनेर कोही आएनन्।

अन्तिमपल्ट भएर होला, आमैलाई होस आयो। मेरो शिर सुम्सुम्याउँदै आमैले भित्र धस्सिएका आँखाले हेर्दै भनिन्, ‘छोरी, मच्छडको जुनी यस्तै रैछ। नजन्मिऊँ भने पनि जन्मिनुपर्ने। जन्मेपछि मान्छेको रगत पिउनैपर्ने। अचेल मान्छेको रगत शुद्ध हुन छाड्यो। मलाई अब तिम्रो चिन्ता ला’छ। अब तिमी के पिएर बाँचौली?’

यसरी आमै अबेरसम्म बर्बराइरहिन्।

म भोक लागेर बाहिर निस्केँ। फर्कंदा, आमाको टाउको भुइँमा लतारिएको थियो। सेतो फिँज गालाभरि लत्पिएको थियो। आमै त मरिसकिछन्।

म एक्लै भएँ।

मलाई बागमतीको किनारमा बस्न मन लागेन। म काठमान्डुको बीचतिर सरँे। जहाँ पनि फोहर, जता पनि फोहर। ठूलो सुपरमार्केटको पछिल्तिर एकदम फोहर थियो – त्यहीँ डेरा बनाएँ। त्यही त हो नि, रछ्यान साइलासित मेरो भेट भएको। बसाइ सरेको पहिलो रात म सुपरमार्केटको बाहिरपट्टि चुरोट तान्दै उभिएको मान्छेलाई टोकेर फर्केकी थिएँ।
‘को हौ, रूपवती?’ मच्छड साइलाले मेरो हात समाउन खोज्यो, ‘साक्षात चन्द्रमा धर्तिमा झरेजस्तो।’

‘अहिले थप्पड खाएर तारा देखौला।’ मैले मस्किँदै भनेँ।

‘तिम्रो थप्पड त मलाई फूलले छोएजस्तो।’

‘फूलमा काँडा पनि हुन्छ, घोच्ला नि!’

‘काँडाले घोचेपछि हृदयमा दाग लाग्छ, अर्काको हृदयमा दाग लगाएर जान पाइन्न।’

मच्छड साइलाले मेरो हात समायो। तर, मैले थप्पड हानिनँ। हात छुटाएर दगुरेँ। उसले पछ्यायो। म त्यसै दिन प्रेममा परेँ। त्यसपछि त हामी रातभर गटरैगटर हात समाउँदै भुनभुन गीत गाउँदै उड्थ्यौं। कति मान्छेका काननेरबाट उड्थ्यौं। ‘साले मच्छेड पनि कति हुन्!’ मान्छे बेस्मारी कराउँथे। कति त हामीलाई प्याट्ट हानेर मार्न लखेट्थे। मच्छड साइला भन्थ्यो, ‘हेर प्रिय, यौवनमा यस्ता एडभान्चर चाहिन्छ क्या!’

ऊ कवि रैछ। रछ्यानमा जन्मेकाले उसको नाम रछ्यान साइलो भएको रैछ। ऊ पनि मजस्तै एक्लो रैछ। हामीले बिहे गर्‍यौं। म गर्भवती भएँ। मलाई मान्छेको तातो रगत चाहिने नै भयो। सुपरमार्केट डुब्दै गयो, त्यहाँ मान्छे आउनै छाडे। म रातभर पेट भर्न यताउता भौंतारिन थालेँ।

कति घरका झ्यालमा जाली लगाइएको थियो, छिर्ने नसकिने। कुनै घरको झ्याल खुल्लै देखेर भित्र पस्न खोज्यो कि

ज्यानमारा धुपको गन्धले अत्तालिएर बाहिर निस्कन्थेँ। यस्तो धुपको विज्ञापन मैले सुपरमार्केटको टिभीमा देखेकी थिएँ। त्यहाँ हाम्रो खुबै बेइज्जत गरिएको हुन्थ्यो। कसैको घरभित्र छिर्‍यो झुल टाँगेको देख्थेँ, रन्थनिँदै बाहिर निस्कन्थेँ। सधैँ रगत जुर्न गाह्रो हुन थाल्यो।

एकपल्ट अँध्यारो सुरुङजस्तो कोठामा पसेँ। लोग्नेस्वास्नी रैछन् क्यारे! खुब झगडा गर्दैथे। कुनामा लुकेर बसेँ।

‘तिमीजस्तो नामर्दसँग बिहे गर्नु नै गल्ति थियो।’ केटी कराई, ‘जीवनभर म सुब्बेनी साहेब भएर बस्न सक्दिनँ।’

केटीले म्याक्सी झट्कारी। केटो चुपै रह्यो, घोसेमुन्टो लाएर। केटो एकदमै दुब्लो थियो। गालाका हड्डी टल्किरहेका थिए। टेबुल पंखा घुमिरहेको थियो। हावा मतिर आउँदा म छेउमा टाँगेको लुगा च्याप्प समाउँथे। उडाउला भन्ने डर।

‘तिमीसँगैकाले काठमान्डुमा घर लाइसके।’ केटी अझै जोडले कराई, ‘मलाई अझै कहिलेसम्म राख्ने हो यस्तो नर्कमा?’
‘म चोर्न जान्दिनँ।’ केटोले सानै स्वरमा भन्यो, ‘म पापको धनले सुनको पलङ किन्न सक्दिनँ। सुत्नु छ भने यैमा सुत्। यै हो

मेरो कमाइ।’

‘इस्।’ केटीले लोप्पा ख्वाई, ‘सुत्दिनँ म, तैं सुत्।’

उनीहरूले अबेरसम्म झगडा गरे। मैले सुनिरहेँ। किनभने, म थाकेर लोत भइसकेकी थिएँ। अन्त उड्नै नसक्नेगरी। एकछिन पछि केटी पलङछेउ टुसुक्क बसी। ढल्की र निदाई। केटो पनि ढल्कियो। एकदुईपल्ट केटीलाई कोट्यायो। केटीले कुइनाले धकेली। एकछिन बर्बराउँदै बस्यो। अनि, बत्ती निभायो।

म भुनुनु उड्दै केटोको पाखुरामा बसेँ। ठुँगेँ, लौ रगत नै आउँदैन। झन् ठुँगेँ, अझै रगत आएन। केटोले प्याट्ट पाखुरामा हिर्कायो। म छक्क परेँ, रगत नभएको मान्छे पनि हुन्छ र? म स्वात्त, केटीको हातको नङछेउ बसेँ। ठुँगेँ र पेटभर रगत पिएँ। केटीले हत्केला पलङमा बजारी। म भुर्र उडेँ।

‘एउटा झुल पनि किन्न नसक्ने, छिः।’ मैले झ्यालबाहिर आउँदा केटीको आवाज सुनेँ। घर फर्किन अलि ढिलो भएछ। रछ्यान साइलाले कुरिरहेका थिए।

‘आज ढिला गर्‍यौ त।’ उनले सोधे।

मैले सारा कुरा सुनाएँ। केटोको ज्यानमा रगतै नभएको कुरा। उनी छक्क परेनन्। गम्भीर भए, ‘अचेल त मान्छेले मान्छेको खुन तनतनी चुस्छन्। हाम्रा लागि थोपै रहँदैन।’

वंशजकै रोग हो क्यारे। मेरा सन्तान जन्मिनेबित्तिकै मरे। म फेरि सुत्केरी भएँ। रगत नभै भएन। एकपल्ट रातभर उडेँ। कुनै घरमा पस्न सकिनँ। ठुल्ठुला घरमा त झ्यालमै जाली थे। वरैबाट फर्कें। उड्दै पर पुगँे। एउटा फोहर खोलाको किनारमा केही झुपडी देखिए। एउटा झुपडीतिर लागेँ। भित्र पस्न गाह्रो भएन। दुब्ला मान्छेहरू लहरै सुतेका थे। एउटाको पाखुरामा बसेँ। ठुँगेँ, रगत आएन। ऊ ढलमल भएन। बानी परेको हो कि, टोकेकोमा मतलबै गरेन। अर्काको ज्यानमा ठुँगेँ, त्यहाँबाट पनि रगत आएन। अर्को झुपडीमा बसेँ। अनि, अर्कोमा। सारा झुपडीमा कसैको रगत रैनछ। मान्छेहरूले त सारा चुसिसकेछन्। म रन्थनिँदै उड्न थालेँ। सडकमा उभिरहेको मानिसलाई टोक्दा रगत भेटेँ, छाक टर्‍यो। फर्कें।

‘यत्तिका टाइम किन लायौ?’ रछ्यान साइला पहिलोपल्ट झर्के।

‘मान्छेको ज्यानमा रगत भए पो!’

‘साँच्चै खुन पाइनौ?’ उनले शंका गरे, ‘अर्कैसँग अफेयर छ भने भन, म आफ्नै बाटो लाग्छु।’

‘यदि तिम्लाई शंका छ भने आफ्नो बाटो लाग।’ मलाई झोक चल्यो।

उनी राति अबेरसम्म बोलेनन्। बिहान उनी घरमा थिएनन्। मलाई आमै र बाबाको सम्झना आयो। आखिर सबै मच्छड मेरा बाबाजस्तै हुँदारैछन्, शंकालु। मलाई रुन मन लाग्यो। म सुपरमार्केटको अँध्यारो कुनामा बसेर टोलाइरहेँ। भुनुनुनु आवाज आयो। उनी फर्के कि भनेर हेरेको त अर्कै मच्छड।

‘म अघिदेखि हेरिरहेकी छु।’ ती मच्छडले भनिन्, ‘किन दुःखी छ्यौ, बैनी?’

म टोलाइरहेँ।

उनी हँसिलो अनुहारकी रैछन्। ज्यान मेरोभन्दा कति हो कति ठूलो। भनिन्, ‘म हिजै आएकी हुँ नेपालगन्जबाट। तिम्रै घरछेवै बस्छु।’

मैले आफ्नो सबै कथा सुनाएँ।

‘यस्तै हो बैनी हाम्रो जिन्दगी।’ उनले मेरो शिर सुम्सुम्याइन्, ‘म पनि के-के न होला भनेर काठमान्डु आएँ। भोकै छु। अब नेपालगन्ज फर्कन्छु। मन छ भने उतै हिँड। त्यता त जति भने पनि खुन पाइन्छ।’

‘अहिल्यै त कसरी भनूँ।’ म अन्कनाएँ। रछ्यान साइला आउलान् भन्ने आश त छ नि!

‘ल त बैनी, म अहिले लागेँ। उतै जाने विचार गर्‍यौ भने भन्नू। यो धम्बोजी कान्छीले बोली त बोली।’
धम्बोजी कान्छी भुर्र उडिन्।

त्यही साँझ भुर्र उड्दै रछ्यान साइला पनि आए। उनलाई देखेर मेरा हिक्का छुटे। म अँगालो मारेर रोएँ। उनले मसिनो आवाजमा भने, ‘एई, म तँलाई छोडेर कतै जान सक्दिनँ।’

अनि, उनले अचम्मका चिज देखाए।

‘यो मास्क हो। यो लायो भने धुपले असर गर्दैन।’ उनले मास्क दिए। अनि, सानो छुरा पनि दिँदै भने, ‘यसले झुल काट्न मद्दत गर्छ।’

मैले रमाउँदै लिएँ।

‘ल अब जहाँ मन लाग्छ त्यहाँ जाऊ, खुन पिऊ। तिम्लाई कसैले रोक्न सक्दैन।’ उनी हाँसे, ‘हामी मच्छडलाई के ठान्या छन् मान्छेले?’

अब मलाई खानाको समस्या रहेन। म जुन घरमा पनि पस्न सक्थेँ। सुटुक्क भेन्टिलेसनबाट भित्र पस्थेँ। धुप बालेको छ भने मास्क लगाउँथेँ, टन्टै साफ। मान्छेका पाखुरामा बस्थेँ, मास्क उघारेर ठुँग्थेँ, तनतनी रगत पिउँथेँ। झुल टाँगेको घरमा भने अलि गाह्रो हुन्थ्यो। आफू पस्ने गरी झुल छुराले काट्न करिब एक घन्टा लाग्थ्यो। फर्कने बेला छिरेको प्वाल पत्ता लगाउन नसकेर म अबेरसम्म फनफनिन्थेँ।

‘बैनी, म पनि जान्छु तिमीसँग।’ एकदिन धम्बोजी कान्छीले भनिन्, ‘मैले पनि पेट बोकेँ। रगत नभई भएन।’

मैले रछ्यान साइलालाई भनेँ। उनले फेरि एकजोर मास्क र छुरा ल्याइदिए। त्यसरात धम्बोजी कान्छी र म खुब रमाउँदै खितखिताउँदै मान्छेका घरघर पस्यौं। धुप देख्दा मास्क लगायौं। झुल देख्दा छुरा उदायौं। खुब रगत पियौं।

‘बैनी, काठमान्डु आउँदा हामी जाजरकोट पनि ग’का थ्यौं।’ त्यही रात उसले उड्दै सुनाइएकी थिई, ‘त्यहाँका मान्छेलाई टोक्नासाथ हाम्रा सारा सन्तान छेरपटी लागेर मरे।’

म छक्क परेँ।

‘त्यहाँका मान्छेका रगत खोई कसले सिनित्तै पारेछ।’ उनले भनिन्, ‘त्यहाँका मान्छे त छेर्दै- वाक्दै मर्दारैछन्। काठमान्डुबाटै ग’का पत्रकारले सुनाका थे। तिनको रगत त तिनकै सर्कारले सिनित्तै पार्छ रे! होला र?’

धम्बोजी कान्छी मेरो छेउ बसिन्। फुलेको पेट सुम्सुम्याइन्। म उदास थिएँ। त्यो देखेर उनले भनिन्, ‘अब काठमान्डुतिर रगत पाइन्न। नेपालगन्जका मच्छडले पनि अरूलाई देखिसहन्नन्। तिम्लाई नेपालगन्ज जाऊँ त भनिहालेँ – तर त्यहाँ पनि काठमान्डुबाट ग’का मच्छडलाई एनजिओवाला भनेर लखेट्छन्।’

म झन् उदास भएँ। पेटमा हुर्किरहेका सन्तानको खुब माया लाग्यो।

‘चिन्ता नगर बैनी।’ मेरो रुन्चे अनुहार देखेर उनले भनिन्, ‘हाम्ले नयाँ ठाउँ पत्ता ला’छौं। अब पहाडतिर गर्मी बढेर मच्छडलाई बाँच्न सजिलो भा’छ। अब त्यतै जानुपर्छ। त्यताका मान्छे न त झुल किन्न सक्छन् न त धुप।’
‘कताको पहाड, दिदी?’

‘जुम्ला-कालिकोट।’ उनका आँखा ठूला भए, ‘त्यता त गाडी जान थालेछन्। हाम्लाई जान सजिलो हुन्छ।’

‘त्यता पनि त सर्कार होला।’ मैले निरासा देखाएँ, ‘त्यसैले रगत चुस्छ नि!’

‘होइन बैनी, त्यताका गाउँ त कहाँ हो कहाँ! सर्कारै पुग्न सक्दैन रे!’ धम्बोजी कान्छी हाँसिन्। त्यता सर्कार रेडियोबाट त पुग्ने हो, अब भन त रेडियोको सर्कारले कसरी चुस्छ रगत?’

ए, हामी मच्छडका लागि कहीँ त शुद्ध रगत रैछ। मलाई आफ्ना सन्तानको भविष्य त्यति अन्धकार लागेन।
‘काठमान्डुमा त हाम्लाई नै असर गर्ने फोहर पनि बढ्या छ।’ मैले भनेँ, ‘दुईचार दिनमै हिँड्नुपर्छ।’

‘साँच्चै पहाडतिरै जाने र?’ मच्छड साइला झस्किए।

मैले धम्बोजी कान्छीले भनेका कुरा सुनाएँ। उनले एकछिन सोच्दै भने, ‘जाम न त। उता चित्त बुझेनछ भने फेरि फकर्ौंला।’
कुरा मिल्यो। हामी पर्सि नै पहाडतिर जाने भयौं। विधिको विधान नै यस्तै छ। त्यही दिन मैले अन्डा पारेँ। त्यसदिन म असाध्यै खुसी थिएँ। यौटा त यौटा बाँच्ला नि, अब हाम्रो वंश चल्छ भनेर। राति धम्बोजी कान्छी र म रमाउँदै रगत खोज्न ठूलो बंगलातिर लाग्यौं। बाहिर पुलिसले पहरा दिइरहेको थियो। मच्छड हुनु फाइदै रैछ, काननेरबाट उड्दा पनि पुलिसले बन्दुक ताकेन। बंगलाका धेरै ढोका बन्द थिए। यौटा ढोकाको चेपबाट भने बत्तीको मधुरो उज्यालो बाहिर आइरहेको थियो। हामी त्यही चेपबाट भित्र पस्यौं। भित्र सोफामा चारजना राता गाला भएका भुँडे बसेका थिए। सबैका हातमा गिलास थिए। हामी सोफाको चेपमा लुक्यौं।

‘यस्पालि हामी सत्तामा आएनौं भने त गाह्रो हुन्छ।’ एउटाले भन्यो, ‘धेरैसँग धेरै चिज लिइसकेका छौं, फिर्ता दिनु परेन? टाट भएपछि केको राजनीति?’

‘डोन्ट वरी।’ अर्कोले चुस्की लगाउँदै भन्यो, ‘यस्पालि गोलपोस्ट खाली छ, जति गोल गरे’नि हुन्च। कुम्भकर्णझैं निदाउनुस्।

उठ्दा सारा देश तपाईंकै हत्केलामा। नरिवलझैं जति उफार्नुस्, उफार्नुस्। हाहाहा।’

‘निदाकै त हो नि!’ पहिलो हाँस्यो, ‘भोक लागेर उठेको क्या। पेट भरिएपछि टन्न निदाउनुपर्छ।’

मेरो ठ्याक्कै आँखाअगाडिको भुँडे मौन थियो। अरूको हाँसोमा हाँसो मिलाएन। चुरोटको ठुटो भने एस्ट्रेमा बेस्मारी निमोठ्यो। र, मोटो आवाजमा बर्बरायो, ‘अब आप लोग जो चाहते है किजिएगा, केक का एक हिस्सा तो अपने प्लेट मे आएगा ही।’

‘द्याट्स कुल।’ चौथो आवाज मात्र सुनँे। अबेरपछि सबै गए। एउटामात्र बाँकी रह्यो। बंगला मालिक हुनुपर्छ। उसले गिलास रित्यायो। अर्को कोठातिर लाग्यो। दुब्लो बुढो आयो र टेबुल सफा गर्न थाल्यो। यो बुढोसित पनि के रगत होला र? हामीले भुँडेलाई पछ्यायौं।

ऊ फराकिलो पलङमाथि लतारिएको झुलको चेप उघार्दै भित्र पस्यो। पलङको कुनामा मोटी महिला पनि थिइन्। उसले

महिलाको कानमा भन्यो, ‘सुन्यौ? कुरा मिल्यो।’

उत्तर आएन।

एकैछिनमा दुवै निदाए। भोकले हामी रन्थनिएका थियौं। हतारहतार झुल काट्न थाल्यौं। अबेरपछि प्वाल पर्‍यो। पहिला म भित्र पसेँ, अनि धम्बोजी कान्छी। हामी भुँडेलाई ठुँग्न थाल्यौं। रगत त कति हो कति। तनतनी पिउन थाल्यौं।

‘दिदी, कस्तो अचम्म! कति धेरै रगत हो?’ मैले धम्बोजी कान्छीको कानमा भनेँ, ‘मेरो जीवनकालभरि एउटै मान्छेमा यति धेरै रगत देखेकी थिइनँ।’

‘यै त होला नि, सारा मान्छेको रगत पिउने मान्छे।’ उनले ओठ लेप्राइन्। हाम्रो भुनभुन र टोकाइले होला, भुँडे ब्युँझियो। पाखुरा सुमसुम्यायो। हामी डराउँदै झुलको कुनामा टाँसियौं।

‘साले मच्छेड।’ भुँडे करायो, ‘तीस हजारको झुल पनि काम लागेन। थुइक्क!’

उसका पाउरोटीजस्ता पुक्क परेका हत्केला हामीतिर बढे। म प्वालबाट फुत्त बाहिर निस्किएँ। धम्बोजी कान्छी अल्मलिइन्। आत्तिँदै यताउता उडिन्। एकैछिनमा उनी मोटा हत्केलाको बीचमा थिइन्। प्याट्ट आवाज आयो। मृत धम्बोजी कान्छी ताराझैं भुइँतिर खसिन्।

म आफ्ना आँसुमा रुझ्दै फर्किएँ।

रछ्यान साइलालाई सबै कुरा सुनाएँ। उनी गम्भीर भए। मच्छडको जिन्दगी – अघिल्लो रात शोक थियो, अहिले बिहान हर्षोल्लास छायो। किनभने हाम्रो घरमा छोरी आई। सुपरमार्केटमा जन्मेकाले उसको नाम ‘सुप्रिमा’ राख्यौं।
‘अब हाम्रो घर पुरा भो।’ मध्याह्नतिर रछ्यान साइलाले भने, ‘यता बस्यो भने छोरीको ज्यानलाई पनि खतरा हुन्छ। भोलि नै पहाडतिर लागौं।’

सामान त कति नै थिए र, एकैछिनमा गुन्टा बने। साँझ पर्दै गो। मलाई भोक लाग्न थाल्यो।

‘कता जान्छ्यौ?’ रछ्यान साइला डराए, ‘हिजोको ठाउँतिर नजाऊ है!’

‘नजिकै जान्छु।’ मैले भनेँ। तर म त्यही भुँडेलाई ठुँग्न चाहन्छु। म उसलाई धेरै असर गर्न नसकूँला तर धम्बोजी कान्छीको आत्माले शान्ति त पाउला।

म बदला लिन चाहन्छु।

पन्ना सकिए। अन्तिम पन्नासँगै एउटा सानो चिट पनि खापिएको थियो। मैले चिट पल्टाएँ –

सर,
त्यसपछि आमा फर्किनुभएन। हामीले धेरै कुर्‍यौं। आमाकै सुर्ताले बाबा पनि बित्नुभो। म काठमान्डुमै छु र एक्ली छु। रगत पिउन नपाएर सधैं बिरामी पर्छु। कहिले मर्छु, थाहा छैन। हामी मच्छडको त के कुरा भो र! नालीमै जन्मिन्छौं, नालीमै मर्छौं। हाम्रो नियति नै यही हो। हामी नहुनु तपाईंहरूलाई आनन्द नै होला। तर, हामी नभए पनि मच्छडहरू कहिल्यै सकिने छैनन्।

किनभने अब त मान्छेहरू नै ठुल्ठुला मच्छड हुन थालेका छन्।

मान्छेकी भए पनि, मच्छडकी भए पनि आमा त आमा नै हुन् नि, हैन र? मलाई मेरी आमाको खुब माया लाग्छ। मेरी आमाको कथा कहिल्यै गुमनाम नहोस् !
… सुप्रिमा

तेस्रो आँखा

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.