वर्खामा छालाको स्याहार

नेपालीका लागि धान रोपाइँको विशेष महत्व हुने गर्छ । बडो जाँगरका साथ किसानहरू धानको ब्याड राख्ने समयदेखि नै हिलोमा लटपटिन थाल्छन् । रोपाइँको मैजारो नसकिएसम्म हिलोको काम सकिंदैन । यो क्रममा छाला सम्बन्धी विभिन्न समस्या पनि आइपर्छन्, जसलाई उति महत्व दिइँदैन ।

छालाले शरीरलाई बाह्य प्रतिकूल वातावरणबाट जोगाउँछ । छालामुनि रहेका विभिन्न खाले स्नायुका कारण तातो, चिसो, खस्रो, मसिनो, मुलायम जस्ता स्पर्श अनुभूति हुन्छ । यसले प्रतिकूल वातावरणबाट पहिल्यै सावधानी अपनाउन मद्दत मिल्छ । गर्मी मौसममा बढी संवेदनशील हुने छालामा घामको असरका साथै विभिन्न खालका एलर्जी पनि आउँछन् ।

त्यसमाथि, धान रोपाइँमा संलग्न हुने किसानलाई हिलोले खाने तथा पैतालामा कालो कालो दाग आउने हुन्छ । कतिपयमा त हिलोले खाने समस्या यति गम्भीर हुन्छ कि खुुट्टाको औंला नै छिनिएला जस्तो हुन्छ । किसान भने समस्या यति विकराल भइसक्दा पनि मेला धाउनमै मस्त हुन्छन् ।

हत्केला र पैताला निरन्तर हिलो पानीमा भैरहँदा औंलाका काप चिरिने गरी असर देखिन्छ । ‘हिलोले खाने’ भनेर चिनिने छालाको यो समस्या खासगरी क्यान्डिडा नामको एक प्रकारको ढुसी (फंगाई) को कारण हुन्छ । मानव शरीरको ओसिलो भागमा सहजै वृद्धि–विकास हुने यो जीवाणुको संक्रमण काखी, काछ, स्तन र अण्डकोष मुनि पनि हुन्छ, जसलाई मेडिकल भाषामा ‘इन्टरट्राइगो’ भनिन्छ ।

निरन्तर हिलो र पानीको सम्पर्कका कारणले आइपर्ने समस्या भने ‘इन्टरट्राइगो’ भन्दा अलि फरक हो । यसबाट छुटकारा पाउन ढुसी विरुद्ध फ्लुकोनाजोल वा इट्राकोनाजोलयुक्त औषधि वा मल्हम दिइन्छ । हिलोबाट हुने अर्को समस्या पैतालामा कालो दाग आउने हो । व्याक्टेरियाजन्य यो समस्या निदानमा क्लिन्डामाइसिन वा इरिथ्रोमाइसिनयुक्त औषधि वा मल्हम चाहिन्छ ।

सावधानीका उपाय

बढी उत्पादनका लागि प्रयोग गरिने विकासे मल र कीटनाशक विषादीले छालामा त्यसै पनि नकारात्मक असर पार्छ । युरिया वा अरू किसिमको गेडा मल हालिएको हिलोजनित बाह्य वातावरण विरुद्ध छालाले सुरक्षा दिन सक्दैन । सामान्य अवस्थामा शरीरलाई मुलायम र सुरक्षित बनाइराख्न छालामुनिका तेलीय ग्रन्थीले चिल्लो पदार्थ उत्पादन गर्छ ।

तर, लामो समय पानी र हिलोको सम्पर्कमा आइराख्दा छालाको वाटरप्रुफ क्षमतामा कमी आई ओसिएर चाउरिने हुन्छ । यो अवस्थामा रासायनिक पदार्थयुक्त पानी वा हिलो पर्‍यो भने छालाको छेकबारयुक्त क्षमतामा कमी आई फंगाई एवं व्याक्टेरियाको आक्रमण सहज बन्छ । यसबाट हिलोले खाने वा कालो कालो दाग आउने हुन्छ ।

तर, रोपाइँका वेला हिलो पानीमा पस्नैपर्ने हुनाले अपनाउन सकिने सावधानीमा ध्यान दिनुपर्छ । हिलो पानीमा पस्नुअघि भ्यासेलिन, तेल वा कुनै मोइस्चराइजर दल्नुपर्छ । यसले छालामा पर्ने असर घटाइदिन्छ । रोपाइँको कामले जतिसुकै थाके पनि हातखुट्टा धोएर सुक्खा बनाई क्रिम वा जेल लगाउनुपर्छ ।

दही–चिउराको कुरा गरिएन भने हिलो पानी र असार पन्ध्रको चर्चा अधुरो होला । हाम्रा पुर्खाले असार पन्ध्रमा दही–चिउरा खाने चलन त्यसै बसाएका हैनन् । दही पाचन प्रक्रिया र अम्लपित्तको लागि त लाभदायक छ नै, सँगसँगै गामा इन्टरफेरोन बढी पाइने भएकोले यसबाट रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ । दहीले शरीरमा श्वेत रक्तकणिकाको रूपमा काम गर्छ । दूधबाट एलर्जी हुनेले पनि प्रो–बायोटिक आहार भएकोले दही सेवन गर्दा हुन्छ । नियमित दही सेवनले ठूलो आन्द्रालाई क्यान्सरबाट बचाउँछ ।

दहीमा ल्याक्टिक एसिड नामक अम्ल बढी हुन्छ । त्यसैले, गर्मी मौसमको रोपाइँमा दहीको बढी प्रयोग अझ लाभकारी हुन्छ । हाड खिइने समस्या हटाउने खनिज पदार्थ र क्याल्सियम बढी पाइने दहीमा प्रशस्त कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी–६ र बी–१२ पनि पाइन्छ । यसले कोलेस्ट्रोलका रोगीलाई पनि फाइदा दिन्छ । दहीले मोटोपना पनि घटाउँछ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.