
समारा (एजेन्सी) –स्टार खेलाडी नेमारले मध्यान्तरपछि गरेका एक गोल उनकै सहयोगमा फर्मिनोले गरेको अर्को गोलले ब्राजिल मेक्सिकोलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
मध्यान्तरसम्म बिना कुनै गोल बराबरी रहेको खेलमा ५१ औँ मिनेटमा नेमारले गोल गरेका थिए। विलियनको क्रसमा एल ट्रिले गोल गर्न नसकेपनि नजिकै रहेका नेमारले बललाई जालीभित्र पसाउन सफल भए। ८८ औँ मिनेटमा दोस्रो गोल भने नेमारकै पासमा फर्मिनोले गरे।
योसँगै मेक्सिकोविरुद्ध विश्वकपमा भएका पाँच खेलमा ब्राजिलले चार जित र एक बराबरी गर्न सफल भएको छ। मेक्सिकोले भने ब्राजिलविरुद्ध अहिलेसम्म गोल गर्न सकेको छैन। मेक्सिको लगातार सातौँ पटक राउन्ड अफ १६ बाट बाहिरिने एक मात्र टिम भएको छ।