न्युजिल्यान्डकी ‘माओरी’ र नेपालका किराँतीको विभिन्न चिज एक अर्कोसँग मिल्दाजुल्दा

हिन्दुवेदका रचनाकारहरूले वेदमा किराँतीको कुरा लेखेका छन्। वेदको रचना भारत वा नेपाल जहाँ भएको भए पनि किराँती नदेखेका भए तिनको कुरा अवश्य लेखिँदैनथियो। लिपिको जन्म र विकास नहँदासम्म वेदको यात्रा मौखिक थियो। हजारौं वर्षको यस्तो यात्रामा पनि किराँतीको कुरा वेदबाट हटेन, जसलाई उनीहरू मुन्दुम भन्ने गर्थे। लिपि तयार नभएसम्म यी दुवैले आआफ्ना वेदल कण्ठस्थ गरेको आधारमा जीवित राख्नु आफैंमा चुनौतीपूर्ण कार्य थियो। हिन्दुवेद हजारौं वर्ष पूर्व लिपिबद्ध भएर यो चुनौतीको समाधान भयो भने किराँतीको मुन्दुम आज बल्ल लिपिबद्ध हुँदै छ। फरक यत्ति हो।

सामान्यत नामकै कुराबाट छलफल अगाडि बढाऊँ। वेद रचनाकारहरूले यो मानव समुदायलाई ‘कैराँत’ भने। जवकि उनीहरूमध्येकै केहीले आपूmलाई ‘किरावा’ भन्दै आएका थिए। भाषान्तर हुँदै खस भाषासम्म आइपुग्दा किरावा ‘किराँती’ हुन पुगेको छ। खास मुन्दुममा भनिँदै आएको नाम भने ‘रोदुङ’ हो। यसलाई उनीहरू किराँतीको पर्यायवाची शब्द मान्छन्।

मुखाकृति, जिउडाल र रंगरोकन आदिमा नेपालमा भएका किराँती जातिजस्ता देखिने मानिस यो संसारमा चारैतर्फ देखिन्छन्। यद्यपि जातीय नाम फरक छ। तर कतिपयका जातीय संस्कार भने धेरै हदसम्म मिलेको पनि देखिन्छ। समाजशास्त्रका केही विद्वानहरूले मानवजातिलाई मूल रूपमा आर्य, मंगोल र निग्रेटोमा विभाजन गरेका छन्। नेपालका किराँतीजस्ता देखिने सबैले आपूmलाई मंगोल भन्दै आएकोमा कुनै विद्वानको अन्यथा तर्क पनि छैन। तर जतिसुकै पुरानो भनिएको हिन्दु वेदमा लेखिएको किराँती शब्दलाई नेपालका मंगोल अथवा किराँतीले मात्र आज पर्यन्त लिइरहेका छन्। अझ प्रपन्नाचार्यले त नेपालका समग्र मंगोललाई किराँती भन्थे।

हेर्दा किराँती देखिने र संस्कारसमेत मिलेको पाइएकाले एकजना ‘माओरी’ बालिकाको तस्बिर केही दिन पहिले पंक्तिकारले अस्ट्रेलियामा रहँदा आफ्नो ‘फेसबुक’मा पोस्ट गरेको थियो। धेरैले ‘पूर्वी नेपालकी एउटी किराँत बालिका’ भन्ने नाम दिए। एकजना मित्रले त ‘खोटाङको एउटा घना किराँती बस्ती ‘चिपृङ’ गाउँको अमुक किराँतीकी छोरी’ भनेर नै कमेन्ट गरे। वास्तवमा छुट्ट्याउनै नसकिने ती बालिकाको तस्बिर न्युजिल्यान्डकी ‘माओरी’ जातिकी बालिकाको थियो। अस्ट्रेलियाको सिड्नी सहर नजिकै रहेको ‘मेरिल्यान्ड पुस्तकालय’मा न्युजिल्यान्डका किराँती अथवा माओरी जातिको अध्ययन गर्ने क्रममा पंक्तिकारले भेटेको थियो।

को हुन् माओरी ?

माओरी इसं ९५० देखि ११३० भित्र प्रशान्त महासागरको ‘पोलिनेसिया’ भन्ने टापुबाट बसाइँ सरेर न्युजिल्यान्ड आएका थिए। उनीहरू यस ठाउँलाई न्युजिल्यान्ड नभनेर ‘आटेअरवा’ भन्थे। आटेअरवामा आउँदा उनीहरूले पोलिनेसियाबाट धेरै कुराहरू लिएर आएका थिए। उनीहरूको संस्कार हाम्रा किराँतीहरूसँग धेरै मिल्छन्। यो कसरी भयो होला ? कसरी जीउडाल र रंगरोगनका साथै संस्कारसमेत मिल्न गयो होला ? यो एउटा अनुसन्धानको विषयसमेत हुन सक्छ।

माओरी जातिमा ‘हाका’ भनिने एउटा नाच नाचिन्छ। हाका नाचसँग मिल्ने खालको अन्य नाच कहीँ नभएर न्युजिल्यान्डको सरकारले निकै प्रयत्नपूर्वक यसको संरक्षण गरेको छ। हिजोआज यसको प्रदर्शन पर्यटकहरूको मनोरञ्जनका लागि पनि गरिन्छ। माओरीको जातीय संस्कारअनुसार युद्धको तयारीका लागि भनेर यो नाचको जन्म भएको थियो। नेपालका किराँती जातिले चण्डी नाच नेतृत्वले टिपेको ‘शिली’को आधारमा नाचिन्छ। ‘चासुम शिली’ यसको एउटा मुख्य अंग हो। खासमा यसले मानव विकास यात्राको क्रममा देखिएको कृषियुगको अभिनय गरेको देखिन्छ।

चासुम शिलीजस्तै शिलीहरू धेरै हुन्छन। नाच्ने क्रममा नाच्नेहरूले शिलीको भाका राम्रोसँग टिपेनन् भने कुनै अनिष्ट हुन सक्ने भनिन्छ। त्यसकारण बडो सतर्कतापूर्वक नेतृत्वले टिपेको शिलीलाई पछ्याइन्छ। हाका नाचमा पनि चण्डी नाचमा जस्तै शिली टिप्नु नपरे पनि नेतृत्वलाई पछ्याइएन भने कुनै अनिष्ट हुने संकेत बुझिन्छ। हाका नाचमा पनि चण्डी नाचमा जस्तै ढोल बजाइन्छ। यस बाजालाई उनीहरूको भाषामा ‘गोंग’ भनिन्छ। बाँसुरी किराँतीहरूको लागि जति प्यारो मानिन्छ, माओरीहरूका लागि पनि त्यति नै प्यारो छ। किराँतीमा दही जमाउने ठेकीको आकारमा बनेको मिनी ठेकीलाई कठुवा भनिन्छ, त्यसमा रक्सी हालेर पिइन्छ। माओरी जातिभित्र यो कठुवा संस्कृति दुरुस्तै मिल्छ। कुनै पनि पेयपदार्थ कठुवामा हालेर पिउने परम्परा किराँतीसँग कसरी मिल्यो ? पोलिनेसिया र मंगोलिया धेरै टाढा रहेका स्थान हुन्। तर यस्ता मिल्ने संस्कार अरू पनि भेटिन्छन्।

किराँती समुदायमा परिवारको सदस्यको मृत्यु भएमा उसको जन्म र मृत्यु मितिसमेत उल्लेख गरेर मृतकको बास स्वर्गमा होस् भन्ने कामना गर्दै शिलालेख तयार गरेर चौतारो बनाउने परम्परा अध्यावधिक छ। माओरीमा भने अलिक भिन्न छ। यो परम्परा सबै सदस्यका लागि नभएर युद्धमा मारिएको नायकका लागि मात्र गरिन्छ। किराँतीको चौतारो बनाउने परम्परा कहाँबाट र कहिले सुरु भएको हो, त्यसको वैज्ञानिक खोज आजसम्म भएको देखिएको छैन। जे भए पनि किराँती लिपि र चौतारो निर्माण गर्ने परम्परा अवश्य पनि जोडिएको हुनुपर्छ। ‘किराँतकालको इतिहासमाथि काठमाडौंले घर बनाएर बसेको छ,’ भन्थे प्रपन्नाचार्य। लिखित वा अलिखित चौतारो परम्पराको मात्र पनि खोजतलास भएमा किराँतीको इतिहास पहिल्याउन सुगम हुनेछ।

माओरीको आटेअर्वा अथवा न्युजिल्यान्डमा युरोपियन क्रिश्चियन मिसन सन् १८१४ मा आएको थियो। त्यस बखतसम्म माओरीहरू पोलिनेसियाकै एउटा ‘डाइलेक्ट’मा बोल्ने गर्थे, लिपि थिएन। क्रिश्चियनहरूले युरोपियन शब्दहरूसमेत मिसाएर लिपि र भाषा तयार गरेपछि लेखपढको कुरा माओरीहरूले उनीहरूबाटै सिकेका थिए। यस मानेमा नेपालका किराँतीहरू भिन्न छन्। सुरुदेखि उनीहरूको आफ्नै भाषा थियो। माओरीहरूले युद्धनायकको चौतारोको परम्परा उनीहरूले पोलिनेसियाबाटै ल्याएका थिए।

उनीहरू बसाइँ सरेर आएको आटेअर्वा भन्ने पहिलो भूमिमा सन् १६४२ मा डच अन्वेषक ‘अवेल तासमान’ आइपुगेका थिए। युरोपियनहरूलाई माओरीले रुचाउँदैनथे। घृणाको अर्थमा उनीहरूलाई ‘पाकेहा’ भन्थे। डच अन्वेषकहरूलाई आफ्नो भूमिमा आएको माओरीहरूले अवेल तासमानको टोलीका चार जनालाई मारिदिएका थिए। यस्तो दुर्घटनामा परे पनि अवेल तासमानले हिम्मत हारेनन् र आफ्नो कामलाई जारी राखे। यसै क्रममा उनी त्यस बखतको ‘अस्ट्रालिसा’तर्फ पसे। उनको पहिलो पाइलो परेको स्थानलाई पछि युरोपियनहरूले अवेल तासमानकै नामबाट ‘तासमानियाँ’ भनेर नाम राखे। र, त्यो विशाल भूमि अस्ट्रालिसालाई पछि अस्ट्रेलिया भन्न थालियो। तासमानिया त्यसको एउटा संघीय राज्यको रूपमा छ आज।

सन् ९५० पछि न्युजिल्यान्डमा आएका माओरीहरूले पहिले खेतीपातीको काम गरेनन्। ‘मोआ’ भन्ने एउटा उड्न नसक्ने ठूलो चरा पाइन्थ्यो। मोआ र समुद्री जीवजन्तुको भरमा यिनीहरूको जीवन निर्वाह हुन्थ्यो। यी चिज पाउन छाडेपछि मात्र माओरीले खेतीपाती सुरु गरेका हुन्। यसको अर्थ पोलिनेसियामै यिनीहरूले खेतीपाती सिकेका थिएनन् भन्ने लाग्छ। तर किराँतीको चण्डी नाचको चासुम शिलीले कृषि कार्यको अभिनय गरेको धेरै पहिलेबाट सुरु गरेको बुझिन्छ, जसको समय नै किटान हुन सक्तैन।

तर मानव उत्पत्तिको कथा माओरी र किराँतीको उस्तै जस्तो लाग्छ। माओरीको कथाअनुसार सृष्टिको सुरुमा अन्धकार थियो। समुद्र, पृथ्वी, ईश्वर, सूर्य, चन्द्र आदि शून्य अथवा ‘नथिङ्नेस्’ बाट जन्मे। पृथ्वी र आकाशको संयोगबाट ७० भाइ छोरा जन्मिए। यिनै ७० भाइलाई माओरी आफ्ना पुर्खा मान्छन्। पृथ्वीलाई ‘पापातुनुकु’ आमा र आकाशलाई ‘रंगिनुई’ अथवा बाबु भने, ती जन्मेका छोराहरूले। पापातुनुकु र रंगीनुई धेरै लामो समयसम्म बसे तर तिनीहरू पृथ्वीमा बसुन्जेल अन्धकार नै रहिरह्यो। सधैंको अन्धकारले काम चलेन र तीनै छोराहरूले बाबुआमालाई छुट्ट्याए। रंगीनुई आकाशमै गयो। तर पापातुनुकुसँग छुट्टिनु परेकाले उसको आँखाबाट झरेको आँसुले समुद्र बन्यो। सूर्य उदायो, उज्यालो भयो। बाबु र आमा छुटाउनु परेकोमा कोही छोरा रिसाएका पनि थिए, तिनीहरू आँधी बने। बाबुआमा छुट्ट्याउनेमा जोड गर्ने छोरालाई ‘तेनमाहुता’ भनिन्थ्यो। स्त्रीबिनाको संसार अपुरो भएको देखेपछि यिनले माटाकै भए पनि स्त्री बनाएर सास भरिदिए। यिनको नाम ‘हिनोन’ राखियो। तेनमाहुता र हिनोनको बीचमा विवाह भएर छोरी जन्मिइन्, तिनको नाम ‘हिनेतितामा’ राखियो। यिनैलाई माओरीहरू अन्धकारकी देवी भन्छन्। यसरी एउटै सृष्टि र एउटै पुर्खाका सन्तान भनिए पनि जनसंख्या बढ्दै गएपछि एउटा अर्काे समूहको विकास गरिन्छ, जसलाई यिनीहरू किराँतीले पाछा अलग गरेजस्तै ‘हापु’ भनेर अलग गर्दै लान्छन्। हापु परम्परा किराँतीसँग एकदमै मेल खाएको देखिन्छ।

नेपालमा किराँतीको जग्गा जमिनमा किपट प्रथा थियो। महेन्द्रको राज्यकालमा यसलाई खारेज गरियो। माओरीको पनि एक हापु समूहको एक छुट्टै जमिन हुन्थ्यो। यो जमिनमा हापुका सबै सदस्यको अधिकार हुन्थ्यो। माओरीमा जमिनलाई शक्ति, धन र इज्जतको प्रतीक मानिन्थ्यो र सो परम्परा आज पनि छ। माओरीले आफ्नो पहिचानलाई जोगाउन उनीहरूकी अगुवा ‘डेम ह्विना कुपर’ (१८९५–१९९४) को नेतृत्वमा ठूल्ठूला भूमि आन्दोलन गरे। कुपर माओरी ‘चिफ’की छोरी थिइन्। माओरीका अधिकारका लागि यिनी जीवनभर संघर्षरत रहिन्। माओरीको हित गर्ने महिलाहरूका अनेक संस्थाहरूमा यिनले दिँदै आएको नेतृत्वले पछि गएर सबै माओरी समुदायको विगतदेखिकै अधिकार रक्षाको विद्रोहको प्रतिनिधित्व गर्‍यो। सन् १९९४ मा बेलायतकी महारानीले विगतमा भए गरेका त्रुटिका लागि माओरी समुदायसँग क्षमा मागिन्।

नेपालका कतिपय किराँतीहरू आज बेलायतमा बस्ने गरे पनि नेपालमा उनीहरूको गाउँको बासस्थान यथावत् भएजस्तै माओरीहरूलाई गाउँ नै प्यारो हुने गर्छ। उनीहरूको प्रत्येक गाउँको एउटा मुखिया हुन्छ, जसलाई विशेष सुविधा दिइएको हुन्छ। किराँतीको प्रत्येक गाउँमा एक एक ‘टोहोंगा’ हुन्छ। यसले किराँतीको विजुवाले गर्ने काम गर्छ। यिनीहरूको भाषाको विकास नहुँदासम्म अघिल्लो पिँढीको कथा पछिल्लो पुस्तासम्म मौखिक रूपमा पुर्‍याउने काम यसै टोहोंगाको हुने गथ्र्याे। मुन्दुमविद् र संकलक भोगीराज चाम्लिङको कार्यथलो नै आज गाउँका विजुवाहरू बनेबाट पनि यसको पुष्टि भइरहेको छ। टोहोंगाले पूजाआजा गर्ने स्थानलाई यति पवित्र मानिन्छ कि त्यहाँ विशेष पर्वमा बाहेक महिलाहरूलाई समेत पस्न दिइँदैन। यो प्रथा किराँतीको ‘माछाकुवा’ अथवा ‘बूढीदेऊ’ भनेर एउटा घ्याम्पो राख्ने पवित्र स्थानसँग मिल्दोजुल्दो छ।

आज पनि माझकिराँतका भित्री गाउँहरूमा कपडाको तान बुन्ने चलन छ। खासगरी महिलाहरूले यो काम गर्छन्। विवाह गर्दा तान बुन्न जान्न केटीहरूको खोजी गरिन्छ। माओरी जातिमा पनि यो परम्परा छ। समुद्र किनारबाट पटेर ल्याएर त्यसबाट तान बुन्ने कामको सीप खास गरेर केटीहरूलाई सानैदेखि सिकाइन्छ। आजको औद्योगिक प्रतिस्पर्धाले उत्पादन गरेका कपडाभन्दा आफ्नै परिवारभित्र बुनिएका कपडा माओरीहरू लगाउन मन पराउँछन्। प्रकृतिपूजक माओरी वनजंगलका सौखिन हुन्छन्। घर बनाउन एउटा रूख काट्न विशेष उत्सवको आयोजना गरेर मात्र काटिन्छ र त्यसको ठाउँमा अर्काे बिरुवा तुरुन्त रोपिन्छ। १५ सय प्रजातिका बिरुवाहरू पाइन्छन्, यहाँ। स्तनधारी जनावरमा चमेरो मात्र हो, न्युजिल्यान्डको मौलिक।

बेलायतीहरूले पहिले नै माओरीहरूसँग एउटा सम्झौता गरेका थिए। तर समय अगाडि बढ्दै जाँदा र उनीहरूको चेतनाको विकाससँगै यो सम्झौताको माओरीहरूबाट विरोध हुन थाल्यो। विरोधमा थुप्रै जुलुस निस्किए। बेलायतीहरूले यो सम्झौतामा संशोधन गर्नैपर्ने भयो। तत्कालीन सरकार एक कदम पछि हटेर संसद्मा आओरीको दुई सिट राख्नै पर्ने र पुरानो सम्झौता फेर्नुपर्ने गरी एउटा ट्रिब्युन गठन गर्न राजी भयो। अझै योभन्दा पहिला नै माओरीहरूले एउटा ठूलो विरोध प्रदर्शन गरेर उनीहरूको पहिचान र उनीहरूका यावत् समस्या हेर्न छुट्टै बोर्ड गठन गर्न सरकार राजी भइसकेको थियो। १९७५ मा ड्याम ह्विना कुपरको नेतृत्वमा भएको जुलुस र सन् १९७८ मा भएको इभा रेकाडेले नेतृत्व गरेको आन्दोलन लगातार चार वर्षसम्म जारी रह्यो। यसको प्रभावले सुरक्षाका लागि भनेर कब्जा गरेको माओरीहरूको ‘तानु’ भन्ने भूमि सरकारले फिर्ता दिन बाध्य भयो।

न्युजिल्यान्डको जमिन राष्ट्रियकरण गर्ने सरकारी योजनाको विरोधमा मे ५ सन् २००४ मा माओरीहरूले हजारौंको संख्यामा जुलुस लगेर पार्लियामेन्टमा धर्ना दिए। उनीहरूको भनाइ के थियो भने, समुद्रको किनार आदिवासी माओरीको हो। त्यसकारण यसलाई राष्ट्रियकरण गरिनु हुँदैन। न्युजिल्यान्डका ती किराँतीजस्ता देखिने माओरीहरूको आवाज त सुनियो। हाम्रो देशमा पनि आदिवासीहरूको आवाज सुनिने बेला भएन र ?

-गणेश अधिकारी/http://annapurnapost.com

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.