मनोवाद : लोकसेवाको डाक्टर

डा शम्भु खनाल
बाँच्नलाई मात्र हो भने धेरै कुरा चाहिँदैन । चाहिने त आत्मसन्तुष्टिका साथ बाँच्नको लागि हो। न्यूनतम पारिश्रमिकमा बाँच्न नसकिने हैन । तर सबै जना श्री कृष्णले गीतामा भनेको जस्तो योगी हुन सकिँदैन । न त डा गोबिन्द केसी जस्तै त्यागी हुन सकिन्छ । लोक सेवा अन्तर्गतको स्थायी जागीरले थोरैमा बाँच्न सिकाउँछ । एक प्रकारले वाध्य नै गराउँछ भन्नुपर्ला । हो । इच्छाको कुनै सीमा हुँदैन । तर इच्छाको बिरुवा नानिमोठी सम्भव पनि छैन।

यसपटक प्लेनमा जाउँ कि गाडीमा । प्लेन महँगो पर्छ, गाडीबाटै जानुपर्ला । प्लेनबाट सजिलो त हुन्छ । ‘डाक्टर साब’ लाई प्लेनबाटै आशा गर्छन् । अरुले भनेर हुन्छ ? आफ्नो हिसाबले चल्ने पो हो । …………… यस्तै मनोवादले अन्त्यमा गाडीकै यात्रा प्रिय । प्लेन चढ्ने त ट्रेनिङमा जाँदा हो।

‘अहिले नयाँ मोबाइल आएको रहेछ । दामी छ …. आदि ।’ चियागफमा निस्किने सामान्य कुराहरु । सुन्दै रहर लाग्दो । ‘किन्नुपर्छ कि क्या हो ।’ दाम कति पर्ने रहेछ त ? ६०००० पो रहेछ । होस् । ठिकै छ आफ्नै पुरानो मोबाइल । काम चलिरहेको छ । सस्तिएपछि किन्नुपर्ला ।’ इच्छा नपलाउँदै मर्दै जान्छ दिनहुँ।

कपाल पनि झरिसकेछ । कहिल्यै फुर्सद भए पो हेर्नु ? ऐनालेसम्म जिस्काउँदा केही फरक परेको थिएन । मान्छेले ‘उमेरमै कपाल झरेछ त बाबुको’ भन्दा टाउकैमा किन हेर्दा हुन् जस्तो लाग्ने बेलाबेलामा । कपाल रोपेर हराभरा बनाउन सकिने प्रविधिको विकास भइसकेको छ । कति लाग्दो रहेछ त भनेर बुझ्दा ३ लाख जति रे। ८–९ महिनाको तलब एकै पटक झ्वाम्म ! ठिकै छ । कृत्रिम काम नगरे नि हुन्छ । क्यापले नै ढाक्नुपर्ला । लोकको सेवा गर्न किन चाहियो र ? …..”

‘सोरुममा गाडी राम्रै रहेछ्न् । चलाउन राम्रै देखिन्छ । आरामदायी पनि । ५० लाख नै पर्ने रहेछ । एक छिन दाह्री मुसार्दै बिचार गर्यो । अहँ …. पछि इन्स्टल्मेन्टमा लिनुपर्ला । अहिलेलाई नेपाल यातायात नै ठीक छ । कमसल क्वार्टरमा बसेर त २ -३ बर्ष बित्यो । गाडीमा सुत्ने पनि हैन।

‘१० पछिको पढाई नै ८ वर्ष भइसकेछ । तीनवर्ष असुबिधायुक्त ठाउँमा लोकसेवामै बितेछ । अचेल मान्छेको पहिलो प्रश्न नै ‘के को बिशेषज्ञ ?’ च्वास्स पर्छ र सम्झिइन्छ – अझै बाँकी पो छ त हो पढ्न । ठूलो डाक्टर हुन पढ्नैपर्ने भयो । प्रतिस्पर्धा बर्षेनी गुणात्मक छ । ……… झसंग भइन्छ बेलाबखतमा।

गान्धी जीवन अनुसरण गर्ने हो भने मजाले चल्छ जीवनचर्या । तर डाक्टर हुनुपूर्व गान्धी आदर्शको पाठ नसिकेकोले डाक्टर भइसकेपछि त्यो आदर्श खोज्दा कठिन नै छ । यसैपनि आदर्शको मार्ग कठीन मार्ग हो । यदाकदा भेट्टिएला । त्यसमाथि हाम्रो देशमा पहिले पढ्दा राजसी सपना भिराउने र डाक्टर भइसकेपछि ‘ गान्धीको व्यबहार राजाको सवारी’ आशा गरिने हुँदा पेशाको गरिमा ह्रास हुँदैछ । सानैदेखि अब्बल विद्यार्थीले पढ्ने विषय भनी मौलाएको डाक्टर हुने सपना। सपनाको लहरामा सामाजिक सम्पन्न्ता उनिएको उधारो आशा । आशा उन्दाउन्दै यथार्थसँगको परिचय र आत्माले आदर्श पारीत्याग गर्ने कि नगर्ने भन्ने किंकर्तब्यबिमुढ अवस्था ।

हृदयलाई सम्झाउँदै सेवाउन्मुख हुने बिचार पलाउँछ । तर, यदाकदा हुने घटनाले निमोठ्दै जान्छ । बेवास्ता गर्दै जान्छ । जनमानसिकताले पनि उखुजस्तै पेल्दै जान्छ । यस्तैमा बिचारको स्टेरिङ घुम्छ र पछ्याउँछ, उनिएको पुरानो सपना पूरा गर्न । अनि कुर्लिन्छन् सबै, ‘डाक्टरहरुमा सेवाभाव नै भएन । पलायन भए ।कडा नियमले रोक्नुपर्छ।’

डाक्टरको पदले सबैलाई राम्रै झुक्याएको छ । कोट लगाएर चिटिक्क परेर बसेपछि ठूलै मान्छे हुन पर्योै । पहिरनले भएपनि । पैसा त बिटोका बिटो होला भन्ने भ्रम जो छ सबैमा । तर सबैले आशा गरे अनुसारको भब्यता भने छैन । बाहिर देखिने भब्यताले नै होला काठमाडौं पुतलिसडकतिर प्रवेश परिक्षा तयारीको घुइँचो कत्ति कम नभएको।

यसरी नै बाँच्न सिकेका छन् लोकसेवाका डाक्टरहरु । डाक्टरले प्राइभेटमा काम गरेकोमा नरुचाउनेहरुले बेलाबखतमा डाक्टरको दिनचर्याको अध्ययन गर्न पनि राम्रै हुने देखिन्छ । इच्छा भन्दा पनि आवश्यकता पूरा गर्न कठिन।

‘लोक सेवाको जागिर सामातेको ब्यक्तिले हो । जागिरले समातेको हैन’ भन्ने हो भने हाल विकल्परहित अवस्थाको बाध्यता हो भन्ने बुझ्नुपर्ने हुन्छ।

-www.swasthyakhabar.com

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.