बालबालिकाले दु:ख दिए हटाउने उपाय

आफैं हिँडडुल गर्न सक्ने भएदेखि बुझ्ने उमेर नपुग्दासम्म बालबालिका हुर्काउन र उनीहरूका माग पूरा गर्न अभिभावकहरूले निकै सास्ती खेप्नुपर्छ । बालबालिकाको मनोविज्ञान बुझी आफ्नो रिस नियन्त्रण गरेर केही धैर्य गर्न सक्ने हो भने बालबालिकाबाट कुनै तनाव झेल्नुपर्दैन ।

बालबालिकाले आँखा अगाडि परेका सरसामान बिगार्ने, फुटाउने, खान नदिएको वस्तु पनि मुखमा हाल्ने, अरु ठूला मानिस वा बालबालिकाले प्रयोग गरेका सामान माग्ने र प्रयोग गर्नेजस्ता क्रियाकलापमा रुचि राख्छन् । उनीहरूको सबै चाहना पूरा गर्‍यो भने उनीहरूकै हित विपरीत हुने हुँदा फकाएर नमाने जबरजस्ती भए पनि नियन्त्रण गर्नुपर्ने बाध्यता हुन्छ ।

बिगार हुने कार्य गरिरहेका बालबालिकालाई सोझै चर्को स्वरले तर्साएर वा पिटेर त्यो कामबाट अलग्याउन जति सहज हुन्छ, खुसी नै राखेर त्यो कामबाट अलग्याउन त्यति सहज हुँदैन । यद्यपि यो त्यति धेरै कठिन पनि छैन ।

प्रसंग बदल्ने : यो धेरै ठाउँमा काम लाग्ने सबैभन्दा प्रभावकारी उपाय हो । बालबालिकाले घटनालाई गहिरो रूपमा लिँदैनन् र तत्काल बिर्सन्छन् । त्यसैले प्रंसग बदलेर उनीहरूलाई आफूले चाहेअनुसार वातावरण सिर्जना गर्न सकिन्छ । उदाहरणका लागि बालबालिकाले मोबाइल लिएर हिँडे भने आफ्नो काममा बाधा पुग्छ । मागेर दिँदैनन् । ‘मोबाइल मलाई देऊ, तिमीलाई गुडिया दिन्छु’ भन्दा पनि मान्दैनन् । एउटा हातमा गुडिया र अर्को हातमा मोबाइल नै राख्छन् ।

तसर्थ मोबाइललाई वास्तै नगरी अरु नै चीजमा उनीहरूको ध्यान आकर्षित गर्न सकियो भने मोबाइल सजिलै छोड्छन् । बालबालिकाको उमेरअनुसार उनीहरूलाई मोबाइलभन्दा आकर्षक विकल्प दिनुपर्छ । जस्तो कि गुडियामा रुचि राख्ने उमेरका छन् भने ‘हेर त नानी–बाबु गुडियाको कानमा किरी पर्‍यो कि ?’ भनियो भने उनीहरूले गुडियाको कानमा ध्यान दिन्छन् ।

एकछिन कानभित्र हेर्न लगाएर ‘किरी त बाहिर गएछ, बाहिर चरा आएको रहेछ, चराले किरी त खाएछ’ भन्न सकिन्छ । गुडियाबाट एक–दुई चरण नयाा प्रसंगमा बालबालिकालाई प्रवेश गराइयो भने उनीहरूले सजिलै मोबाइललाई बिर्सन्छन् । यद्यपि गुडियाको प्रसंगभन्दा अघि गइएन भने उनीहरूले फेरि मोबाइल खोइ भन्न सक्छन् । अलिक बढी उमेरका बालबालिका भए कथा भन्ने र त्यसपछि अरु प्रंसगसम्म पुग्ने हो भने उनीहरूले मोबाइलको कुरा बिर्सन्छन् ।

पिछा गर्ने : बालबालिकाले जोखिमपूर्ण वा बहुमूल्य वस्तु लिएर हिँडेका छन् भने झ्वाट्ट खोसेर रुवाउनु राम्रो मानिँदैन । उनीहरूको निगरानी गर्नुपर्छ । बालबालिकाले अर्को मनपर्ने चीज भेट्नेबित्तिकै पहिलेको चीज भुइँमा छोड्छन् । उनीहरूले थाहा नपाउने गरी त्यो वस्तु बालबालिकाले नदेख्ने ठाउँमा राखिदिँदा उनीहरूले त्यसलाई बिर्सन्छन् र नयाँ वस्तुमै रमाउन थाल्छन् ।

छुट्टिँदा मनपर्ने चीज दिने : आमाबुवा, काकाकाकी, दिदी, दाइजस्ता नजिकका माया गर्ने नातेदार छुट्टिँदा बालबालिका रुन्छन् । धेरैले बालबालिकालाई अन्यत्र लगेर लुकाउने र थाहा नदिई उसलाई माया गर्ने व्यक्तिलाई घरबाट बिदा गरेको पाइन्छ ।

यसरी बालबालिकालाई छल्नु हुँदैन, थाहा दिएर छुट्टिनुपर्छ । एयरपोर्ट, सडक जहाँसम्म आफन्तलाई पुर्‍याउन आफू गइन्छ, त्यहाँसम्म बालबालिकालाई पनि सँगै लानुपर्छ । ठ्याक्कै छुट्टिने बेलामा बिदा हुन लागेको व्यक्तिले ‘ल नानी–बाबु यो खेलाऊ वा यो राख वा यो खाऊ, मलाई बाई बाई भन’ भनेर उसलाई मनपर्ने चीज दिनुपर्छ । (यसका लागि त्यस्ता वस्तु बालबालिकालाई नदेखाई पहिल्यै तयारी अवस्थामा राख्नुपर्छ ।) अनि आफूले बालबालिकालाई ‘फलानाले नानीलाई कति माया गर्नुहुन्छ, यति राम्रो कुरा दिनुभयो, बाई बाई भन्देऊ’ भन्नुपर्छ । शिशुको ध्यान भर्खर हात परेको चीजमा बढी केन्द्रित हुन्छ । त्यसपछि उनीहरूले बिदा गर्नुपर्ने आफूलाई मनपर्ने व्यक्तिलाई सहजै बाई बाई भन्छन् ।

नुहाइदिँदा संलग्न गराउने : बालबालिकालाई रोएको अवस्थामा हतार–हतार नुहाइदिएको प्रशस्तै देखिन्छ । नुहाउँदा बालबालिका रुन्छन् भने ‘नानी–बाबु नुहाउने होइन, हातखुट्टा धुने मात्र हो’ भन्नुपर्छ । ‘खुट्टामा आफैं पानी हाल’ भन्न सकिन्छ । ‘ल साबुन लगाएर आफैं मिच’ भन्नुपर्छ । चिसो नहुने पानीसँग खेल्दा शिशुलाई आनन्द आउँछ । यसरी नुहाउने काममा बालबालिकालाई समेत संलग्न गराएर नरुवाई नुहाइदिन सकिन्छ ।

आँखामा साबुन वा स्याम्पु मिसिएको पानी पर्न दिनु हुँदैन । आँखाको आँसु पानीले पखालेर आँखा सुख्खा हुने तथा पोल्ने समस्या सिर्जना हुन्छ । त्यस्तै घाम लागेको ठाउँ भनेर खुला ठाउँमा नुहाइदिनु हुँदैन किनभने दुई–चार मिनेटको अन्तरमा त्यहाँ बतास चल्न सक्छ । त्यसो हुँदा बालबालिकालाई एकदमै जाडो हुन्छ ।

जाडो मौसम छ भने सुरुमा तातोपानी जति धेरै समय खनाइदिइन्छ, शरीर त्यति न्यानो हुन्छ । मज्जाले १०–१२ पटक तातोपानीले भिजाइदिनुपर्छ । एकपटक शरीर भिजाएर साबुन लगाइदिने हो भने बालबालिकाले साबुन लगाएर नभ्याउादै जाडो भयो, पानी खन्याइदिनुुहोस् भन्न थाल्छन् तर मज्जाले पानी खन्याइदिइएको छ भने वातावरणको तापक्रम कम भए पनि शरीरको सतहको तापक्रम केही समय कम हुँदैन । चिसोबाट जोगाउन हिटर बाल्नु वा आगो ताप्नुभन्दा बढी लाभदायक र स्वस्थकर तातोपानीमा १० मिनेट हातखुट्टा भिजाएर पुछ्नु हो ।

पढाइको चिन्ता नलिने : बालकले २–३ वर्षमै अक्षर, अंक, रंग चिनेन भनेर चिन्ता लिनुपर्दैन । उसलाई सिकाउँदै जानुपर्छ । तर पूरै जान्नका लागि उसको दिमाग ५ वर्षमा मात्र तयार हुन्छ । त्यसपछि पनि जानेन भने मात्र आफ्नो सन्तान पढाइमा कमजोर छ भन्ने बुझ्नुपर्छ । कम उमेरमै जानेको छ भनेर गर्व गर्नु पनि ठीक होइन बरु शिशुलाई अनावश्यक दबाब दिँदै तनावको बोझ बोकाएको रहेछु भनेर पश्चाताप गर्नु जाती हुन्छ ।

समय दिने : बालबालिका अरुसँग अन्तरक्रिया गर्न मन पराउँछन् तसर्थ सोधेका कुराको जवाफ तथा उसको काममा साथ दिनुपर्छ । बिगार, नोक्सान गर्‍यो भने जस्तो बानी बसायो, त्यस्तै हुन्छ भन्ने भ्रममा पर्नुहुँदैन । बालबालिका भत्काउने–जोड्ने काम रुचाउँछन् । उनीहरू प्रकाश र रंगसँग खेल्न मन पराउँछन् । टर्च लाइट बाले भन्दैमा बानी बिग्रन्छ भन्ने सम्झनुहुँदैन । उमेर पुगेपछि त्यस्तो बानी आफैं हट्छ । छरछिमेकी एवं साथीभाइसँग स्वार्थ र लोभपूर्ण व्यवहार गर्न सिकाउने, माग्न, चोर्न, झिक्न सिकाउने काम गरियो भने पछिसम्म बानी बिग्रन सक्छ ।

रमाइलो गर्न दिने : बालबालिकाका लागि खाने र लगाउने कुरामा मात्र होइन, खेल्ने र रमाइलो गर्ने कार्यमा पनि लगानी गर्नुपर्छ । आफ्नो आर्थिक अवस्थाले भ्याउनेसम्मको बजेट खाना र लुगामा छुट्याएजस्तै खेल्ने तथा रमाइलो गर्ने काममा पनि लगाउनुपर्छ । त्यसलाई वाहियात वा व्यर्थको खर्च सम्झने भूल गर्नुहुँदैन । शरीरको विकासका लागि खाना र लुगाजस्तै मानसिक एवं बौद्धिक विकासका लागि अन्य चीज पनि चाहिन्छ । खुसीपूर्ण जीवन जिउन पाउनु बालबालिकाको अधिकार हो । पैसा नपर्ने धूलो, माटोसँग खेल्न दिनु अनि पछि सफा गरिदिनु सर्वोत्तम उपाय हुनसक्छ ।

बाक्ला पहिरन नलगाइदिने : शरीरमा पसिना आउने गरी लुगा लगाइदिइयो वा सिरक ओढाइदिइयो भने शिशुलाई चिसो लाग्छ । शरीरमा पसिना सेलाउँछ र त्यसले शरीरलाई ठन्डा बनाउँछ । यसले निमोनियाँका जीवाणुलाई सक्रिय तुल्याउँछ । बालबालिकाले सिरक ओढ्न मानेनन् भने बुझ्नुपर्छ कि लगाइएको लुगाले शरीरको कुनै भागमा बढी गर्मी भएको छ । सुताउँदा पातला पहिरन लगाइदिनुपर्छ । पहिरन खुकुलो हुनुपर्छ किनभने निदाएको बेला शरीर कता–कता बटारिन्छ र शरीर कस्सिन सक्छ । इलास्टिक दिउँसो सामान्य कसिलो लगाइदिए पनि सुत्दा एकदमै खुकुलो हुनुपर्छ । सुतेको बेला रक्तसञ्चार बाहिरी सतहबाट बढी हुने हुँदा कसिलो इलास्टिकले रक्तसञ्चारमा बाधा पुर्‍याउँछ ।

आरामले ख्वाउने : खाना सेलाउँछ भनेर छिटोछिटो ख्वाउनुहुँदैन । गीत–संगीतमा लठ्याएर वा शरीर अठ्याएर पनि ख्वाउनु हुँदैन । यसरी ख्वाएको पोषण लाग्दैन । सुताएर, नाक छोपेर, गाँसमाथि गाँस ख्वाउनु हुँदैन । खाना खाँदा श्वासप्रश्वास, छ्युँ, खोकीजस्ता क्रियाकलाप स्वतन्त्र ढंगले गर्न मिल्नुपर्छ । यसो गर्दा श्वास नलीबाट खानाको अंश फोक्सोमा गएर फोक्सो खराब हुनसक्छ । पछि त्यही निमोनियाँको कारण बन्छ ।

बालबालिकाले जे मीठो मान्छन्, त्यही ख्वाउनुपर्छ । खाना खान गाह्रो मान्ने बालबालिकालाई कथा वा अन्य प्रंसग सुनाउँदै खाना ख्वाउनुपर्छ । आजको खानामा यो मिसाएको छ, यो हालिएको छ भन्दै नानी–बाबुलाई खानाको पनि परिचय दिनुपर्छ ।

बालबालिकाको अधिकार हनन् नगरी, सरसामग्रीको नोक्सानी नपुर्‍याई, उनीहरूलाई खुसी नै राखेर हुर्काउन–बढाउन सकिन्छ । खान दिएकै छु, लगाउन दिएकै छु, दिसा–पिसाब गर्दा लुगा फेरिदिएकै छु, खेलौना किनिदिएकै छु भनेर आफ्नो जिम्मेवारी पूरा भएको सम्झनु पर्याप्त हुँदैन ।

-http://nari.ekantipur.com

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.