नेपालले नेदरल्यान्ड्सलाई दियो २ सय १७ रनको लक्ष्य

शुक्रबार, साउन १८/काठमाडौं  – नेपालले दोस्रो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्यान्ड्सलाई २ सय १७ रनको विजय लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक पुरा गरेपछि टोलीले ४८.५ ओभरमा सबै विकेट गुमाएर २ सय १६ रनको योगफल तयार पारेको थियो ।

नेदरल्यान्ड्सविरुद्धकै बुधबार भएको एक दिवसिय डेब्यू खेलमा राम्रो ब्याटिङ गर्न नसकेको नेपालका लागि दोस्रो खेलमा भने सामूहिक प्रदर्शन गरेको थियो । पहिलो खेलमा अर्धशतक बनाएका उपकप्तान ज्ञानेन्द्र मल्ल र आज मौका पाएका सुवास खकुरेलले पहिलो विकेटका लागि २९ रनको साझेदारी गरेका थिए ।

ज्ञानेन्द्रले २४ बलमा २ चौकाका साथ १३ रन जोडे । सुवासले ३३ बलमा ३ चौकासहित १९ रन जोडे । अनिल साह ४ रनमा आउट भए । कप्तान पारसले इनिङ सम्हाल्ने क्रममा अर्धशतक पुरा गरे । ६९ बल खेलेका पारसले ६ चौका र २ छक्कासहित ५१ रन बनाए ।

पछिल्लो क्रमका ब्याट्सम्यान सोमपालले अर्धशतक पुरा गरेपछि नेपालको स्कोर २ सय रन नाघेको थियो । ४६ बल खेलेका सोमपालले ५ चौका र ३ छक्कासहित ६१ रन जोडेका थिए ।

दीपेन्द्रसिंह ऐरी १९, आरिफ शेखले १६ , सन्दीप लामिछानेले ८, रोहित पौडेलले ६, बसन्त रेग्मीले १ रन र ललित भण्डारी अविजित ४ जोडे ।घरेलु टोलीका फ्रेड कासानेसले ३, मिचेल रिप्पोन र पिटर सेलारले समान २, पाउ भान मेकिरेन र साने स्नाटेरले समान १ विकेट लिएका थिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.