अपहरणकारीलाई घरबाटै उठाएर जंगलमा लगी गोली हाने प्रहरीले

११ वर्षीय निशान खड्काको अपहरण र हत्यामा संलग्न गोपाल तामाङ र अजय तामाङको इन्काउन्टर भएको जंगलमा प्रहरी टोली। तस्बिर सौजन्यः नेपाल प्रहरी११ वर्षीय निशान खड्काको अपहरण र हत्यामा संलग्न गोपाल तामाङ र अजय तामाङको इन्काउन्टर भएको जंगलमा प्रहरी टोली। तस्बिर सौजन्यः नेपाल प्रहरी

‘तिम्रो छोरा हामीले अपहरण गरेका छौं। ४० लाख फिरौती ठीक पार्नू।’

काठमाडौं–३५, पेप्सीकोला बस्ने चमेली खड्कालाई यस्तो धम्की आउँदा रातको पौने ९ बजेको थियो।

साउन २१ गते। सोमबार।

एघार वर्षीय छोरा निशानको साँझदेखि अत्तोपत्तो थिएन। चमेली आत्तिएकी थिइन्। अपहरणकारीले प्रहरीलाई खबर नगर्नू भनी धम्क्याएका थिए। तै छिमकीहरूले सक्रियता देखाए। आफन्त आए। उनीहरूले प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गरेर घटना टिपाए।

तात्तातै खबर गर्दा पनि चमेलीले छोराको मुख देख्न पाइनन्। भोलिपल्ट उनको शव गाडिएको अवस्थामा फेला पर्यो। अपहरणकारी भनिएका दुई जना गोपाल तामाङ र अजय तामाङ ‘मुठमेड’ मा मारिएको खबर आयो।

घटना छानबिनमा महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं प्रहरी परिसर छुट्टाछुट्टै खटिएका थिए। हामीले फिल्डमा खटिएका करिब आधा दर्जन प्रहरी जवान र अधिकृतसँग कुराकानी गर्यौं। उनीहरूका अनुसार यी दुवै निकायलाई लगभग उही समय अपहरणको सूचना आएको थियो।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले राति ९:२० मा थाहा पाएका थिए। यो चमेलीलाई फोन आएको आधा घन्टापछि हो।

उनले तुरुन्तै घटनास्थलका प्रहरी युनिटलाई खबर गरे। अनुसन्धानमा खटिन निर्देशन दिए। त्यसको १० मिनेटमै ९:३० बजे प्रहरीको गस्ती भ्यान पेप्सीकोलास्थित निशानको घर पुग्यो।

लगत्तै ९:४० मा महानगरीय प्रहरी वृत्त बानेश्वर र प्रहरी प्रभाग काँडाघारीको टोली त्यहीँ पुग्यो।

प्रहरीको एउटा समूह चमेलीलगायत परिवारका अन्य सदस्यसँग बयान लिन थाल्यो। अपहरणकारीले फेरि फोन गर्न सक्थ्यो। त्यही भएर चमेलीलाई प्रहरीले आफूसँगै राख्यो।

अर्को टोली भने अपहरणकारीले प्रयोग गरेको मोबाइल नम्बरबाट ‘लोकेसन’ पत्ता लगाउन थाल्यो। यसमा झन्डै एक घन्टा लाग्यो।

राति १०:३५ मा थाहा भयो, फोन भक्तपुरको ठिमी क्षेत्रबाट गरिएको रहेछ।

प्रहरी टोलीले ठिमी क्षेत्रमा सर्च अपरेसन सुरु गर्यो। शंकास्पद घरहरूमा छापा मार्यो। निशानको परिवारका सदस्यले आफूहरूलाई पनि ठिमी डाकिएको बताएका छन्।

यसबीच अपराध महाशाखा प्रमुख धीरजप्रताप सिंहले लगभग उही समय अपहरणको सूचना पाएका थिए। महाशाखाले उसैगरी लोकेसन पत्ता लगायो। आफ्नो तरिकाले छुट्टै छानबिनमा खटियो।

उनीहरू झन्डै–झन्डै १०:३५ तिरै ठिमीको सर्च अपरेसनमा संलग्न थिए। एउटै फरक के भने, महाशाखा टोली सादा पोसाकमा थिए।

निशानका मामा रामकाजी सापकोटाले आफूहरू ठिमी पुग्दा सादा पोसाकका प्रहरी परिचालन भइरहेको बताएका छन्। उनका अनुसार सादा पोसाकमा सय–डेढ सय थिए।

दुइटा टोली जुट्दा पनि त्यो रातभरि अपहरणकारी लुकेको ठाउँ फेला परेन।

भोलिपल्ट बिहान ७:२० मा काठमाडौं र भक्तपुरका प्रहरी प्रमुखसहितको टोली ठिमी पुग्यो। त्यसपछि काठमाडौं र भक्तपुरले संयुक्त अपरेसन सुरु गर्यो।

तै यो टोली अपहरणकारी भएको ठाउँसम्म पुग्न सकिरहेको थिएन।

उनीहरूलाई उछिनेर सबभन्दा पहिला घर पत्ता लगायो, अपराध महाशाखा टोलीले।

उनीहरूले निशानको अपहरण र हत्यामा संलग्न भनिएका दुई जनाको डेरामा छापा मार्दा ९ बजेको थियो। तीनवटा गाडी र दुइटा मोटरसाइकलमा आधा दर्जनजति सादा पोसाकका प्रहरी गएका थिए।

उनीहरूले गोपाल र अजय बस्ने कोठा छेउछाउ कसैलाई आउन दिएनन्। भित्र छिरेर सर्च गरे। दुवैलाई कोठाभित्रै थुनेर कुटे।

एक घन्टाको कुटाइपछि गोपाल र अजयले अपहरण गरेको सकारे। बालकलाई मारेर गाडेको बयान दिए। शव गाडेको ठाउँ देखाइदिए।

केही प्रहरी शव खोज्न गए। अरूले गोपाल र अजयलाई गाडीमा हालेर लगे। उनीहरू निस्कँदा १०ः३० बजेको थियो।

शव गाडिएको ठाउँ कोठाभन्दा ६–७ सय मिटर पर थियो।

लगत्तै महाशाखा टोलीले निशानको परिवारलाई खबर गर्यो। साढे ११ बजे आसपास निशानको परिवारलाई लिन प्रहरी भ्यान पुग्यो। आमा चमेली र दुई जना मामा रामकाजी र पदम सापकोटा प्रहरी भ्यानमा बसे। उनीहरूलाई हत्याको सुइँको दिइएको थिएन।

घटनास्थल पुग्न आँटेपछि बल्ल प्रहरीले मामाहरूलाई भने, ‘बच्चाको हत्या भइसकेको छ। आमालाई सम्हाल्नुस्।’

चमेली ठाउँको ठाउँ बेहोस भइन्।

घटनास्थल पुग्दा प्रहरी टोली शव पुरेको माटो खन्दै थियो।

पिलर उठाउन थोरै प्लास्टर गरेको ठाउँमा माटोले पुरिएको रहेछ। खोतल्दै जाँदा घोप्टो अवस्थामा निशानको शव फेला पर्यो। घाँटीमा कपडा कसिएको थियो। मुखमा कपडा कोचिएको। मुचुल्का तयार गरी शव पखालपुखुल पारेर प्रहरीले पोस्टमार्टम निम्ति टिचिङ लैजाने भन्यो।

आफन्तहरूलाई घरै छाडिदियो।

यता काठमाडौं र भक्तपुर प्रहरी टोली अनुसन्धानमै खटिएकै थियो।

अपराध महाशाखाले ‘अपहरणकारी’ को घर पत्ता लगाइवरी दुवैलाई उठाएर लगिसक्दा पनि अरूलाई जानकारी दिएको थिएन।

उनीहरू निस्केको करिब एक घन्टापछि युनिफर्म लगाएका प्रहरी त्यही कोठामा पुगे। त्यति बेला बिहानको ११ः३० बजेको थियो।

युनिफर्ममा हुल बाँधेर गएका प्रहरीले कोठा त फेला पारे, तर अपहरणकारी थिएनन्। छिमेकीहरूलाई सोधे। सादा पोसाकका प्रहरीले एक घन्टाअघि नै पक्रेर लगिसकेको बताएपछि उनीहरू फर्के।

त्यसपछि सुरु भयो, अपहरणकारीलाई तह लगाउने खेल।

अपराध महाशाखा प्रमुख धीरजप्रतापले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई घटनाको जानकारी गराए। अपहरित बालकको हत्या भएको, शव फेला परेको र अपहरणकारी पक्राउ परेको सबै रिपोर्ट गरे। दुवैले अपराध कबुलेको पनि बताए।

माथि रिपोर्ट गरेपछि उनले अपहरणकारी भनिएका दुवैको ‘इन्काउन्टर’ गर्न आफ्नो टोलीलाई आदेश दिए।

महाशाखा टोलीले त्यसपछि दुवैलाई सूर्यविनायकको जंगलमा पुर्यायो। दुइटा गाडी र दुइटा मोटरसाइकल प्रयोग भएका थिए। आधा दर्जन सादा पोसाकका प्रहरी थिए।

सूर्यविनायकबाट पाइलट बाबाको आश्रम जाने जंगलको बाटोमा करिब १:३० बजे दुवैलाई गोली हानियो।

छरछिमेकका आँखाअगाडि कोठाबाटै समातिएका गोपाल र अजय ‘मुठभेड’ मा मारिए भनी प्रचार गरियो।

-setopati.com

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.