मृतकको नाममा च्योर्तेन

सोलुखुम्बु, साउन २८ गते । सगरमाथा आरोहण गर्दा मृत्युवरण गरेका विदेशी आरोहीहरुको नाममा उनीहरुको स्मृति स्वरुप च्योर्तेनहरु निर्माण गरिएका छन् । सगरमाथामा आरोहण गर्दा मृत्यु भएको बार्षिकीको अवसर पारी मृतकको परिवारले यस्तो च्योर्तेन निर्माण गर्दै आएको पर्यटन व्यवशायी सोनाम शेर्पाले बताउनु भयो । सगरमाथाको आधार शिवीर जाँदा मूल बाटोमा पर्ने थुक्ला पासमा विदेशी आरोहीहरुको नाममा यस्ता थुप्रै च्योर्तेनहरु निर्माण गरिएका छन् ।
बुद्ध धर्म अनुसार मृतकको नाममा यस्ता च्योर्तेनहरु निर्माण गरिनाले मृत आत्माले शान्ति पाउने विश्वास गरिन्छ । निर्माण गरिएका च्योर्तेनहरुमा प्रायः जापानिज आरोहीको नाममा छन् । जापानिजहरु आफै पनि बुद्धधर्मवलम्बी भएकाले पनि जापानिज नागरिकहरुको नाममा बढी च्योर्तेन निर्माण भएको हुनसक्ने नाम्चेका व्यावशायी लामाकाजी शेर्पाले बताउनु भयो ।
हिमाल आरोहण गर्दा कयौं नेपाली आरोहीहरुले ज्यान गुमाएको भए पनि नेपाली आरोहीमा बाबुछिरी शेर्पाको नाममा मात्र च्योर्तेन निर्माण गरिएको छ । दुई पटक सम्म विश्व रेकर्ड कायम गर्न सफल शेर्पाको नाममा बाबुछिरी मेमोरियल ट्रष्टले च्योर्तेन निर्माण गरेको हो । नेपालीहरुको आर्थिक अवस्था नाजुक हुने र च्योर्तेन निर्माण गर्ने स्थल समुद्री सतहदेखि धेरै उचाईमा रहेकोले पनि असम्भव भएको पर्यटन व्यवशायीहरु बताउछन् । विदेशीले सन् १९७० देखि मर्नेको नाममा च्योर्तेन बनाउन थालेपछि बर्षैपिच्छे च्योर्तेन बनाउने होड बढेको आरोहीहरु बताउँछन् ।
सगरमाथामा आरोहण गर्ने मृत भएकाको नाममा निर्माण गरिएको च्योर्तेनले त्यस ठाउँको शोभा बढाएको स्थानीय पासाङ काजी शेर्पा बताउनुहुन्छ । ‘यो एउटा नाङ्गो डाँडा मात्र भएको भए सुहाउने कुरै थिएन, च्योर्तेन अनि यसको ध्वाजा पतकाले कत्ति सुहाएको छ’ यसले विदेशी पर्यटक भित्र्याउनका लागि समेत ठूलो सहयोग मिलेको शेर्पाको भनाई छ । नेपालमा बनाईएका च्योर्तेनहरु हेर्नका लागि नै मृतकको आफन्तहरु आउने गरेकाले यसले एकपटकका लागि मात्रै नभई श्रृखलाबद्ध ढंगले पर्यटकलाई निम्त्याईरहेको उहाँको भनाई छ ।
थुक्ला पासलाई स्मारकहरुकोे स्थान भनेर पनि चिनिने गरेको छ । सगरमाथा राष्ट्रिय निकुन्ज क्षेत्रमा पर्ने त्यस क्षेत्रमा उनीहरुले निर्वाध रुपमा च्योर्तेनहरु निर्माण गरिरहेका छन् । च्योर्तेन निर्माण गर्दा उनीहरुले प्रायः मन पराउने, प्रयोग गरिरहने बस्तुहरु चिन्ह स्वरुप हाल्ने गरिएको जानकारहरु बताउँछन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.