इमरान खानले लिए प्रधानमन्त्रीको शपथ

पूर्वस्टार क्रिकेटर तथा पाकिस्तान तेहिरिक–इ–इन्साफ (पिटिआई) का नेता इमरान खानले पाकिस्तानको नयाँ प्रधानमन्त्रीको शपथ लिएका छन् । खानले एक समारोहबीच शनिबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । राजनीतिमा प्रवेश गरेको दुई दशकपछि खान प्रधानमन्त्री बन्न सफल भएका हुन् । खान पाकिस्तानको २२औँ प्रधानमन्त्री हुन् ।

उच्चपदस्थ व्यक्ति, सैनिक अधिकारी, विदेशी पाहुनासँगै सन् १९९२ को विश्वकप क्रिकेट विजेता समूह पनि शपथ समारोहमा सहभागी थियो । खानले आफ्नो मन्त्रिपरिषद् १५ देखि २० सदस्यीय मात्र बनाउने बताएका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले देशमा भ्रष्टाचार गर्ने र राष्ट्रको सम्पत्ति लुट्ने कुनै पनि मानिसलाई आफूले नछाड्ने प्रतिबद्धता व्यक्त गरे ।

शुक्रबार पाकिस्तानको तल्लो सदन नेसन एसेम्बलीमा प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा इमरान निर्वाचित भएका थिए । पिटिआईका तर्फबाट उम्मेदवार बनेका इमरानलाई १७६ सांसदले मतदान गरेका थिए । पाकिस्तान मुस्लिम लिग नवाज (पिएमएल—एन) का तर्फबाट प्रधानमन्त्रीका अर्का उम्मेदवार सहजबाज सरिफले ९६ मत प्राप्त गरेका थिए । सहबाज पूर्वप्रधानमन्त्री नवाज सरिफका सहोदर भाइ हुन् । तेस्रो ठूलो दल पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) सहितको समर्थनमा सहबाज उम्मेदवार बनेका थिए ।

गत जुलाई २५ तारिखमा पाकिस्तानमा भएको आमनिर्वाचनमा इमरानको पार्टी तेहरिक–ए–इन्साफ (पिटिआई) ११५ स्थानमा जितेर सबैभन्दा ठूलो पार्टी बनेको थियो । तर, सरकार गठनका लागि भने पार्टीले सामान्य बहुमत जुटाउन सकेको थिएन । निर्वाचनमा पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिगले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान ल्याएका थिए ।

इमरानको मुख्य चुनौती देशको वित्तीय संकट समाधान गर्नु रहेको विज्ञहरूले बताएका छन् । उनले देशको विद्यमान आर्थिक समस्या समाधान गर्ने बताउँदै आएका छन् । शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित भएपछि ६५ वर्षीय खानले भ्रष्ट राजनीतिज्ञलाई अदालतको कठघरामा उभ्याउने र युवालाई अवसर सिर्जना गर्ने बताए । खानले निर्वाचन अभियानमा नै पाकिस्तानमा भ्रष्टाचार र आर्थिक अनियमिततालाई जरैदेखि उखेल्ने र १० लाख युवालाई रोजगारीको अवसर प्रदान गर्ने बताएका थिए ।

‘सर्वप्रथम हामी कठोर जवाफदेहिताको सुरुवात गर्नेछौँ । यो देशलाई लुट्ने हरेकलाई जवाफदेही बनाउनेछु,’ उनले भने । आफू कुनै तानाशाहीको काँध नचढेको उनले बताए । ‘म अहिलेसम्म कहिल्यै पनि तानाशाहको काँध चढेको छैन । २२ वर्षको निरन्तरको संघर्षपछि यो स्थानमा आएको हुँ,’ उनले भने ।

विपक्षीको गुनासो
जुलाईमा सम्पन्न निर्वाचनमा पूर्ण रूपमा धाँधली भएको प्रमुख विपक्षी दलहरूले बताउँदै आएका छन् । धाँधली भए पनि सदन बहिष्कार नगर्ने उनीहरूले बताएका छन् । निर्वाचनको पूर्वसन्ध्यामा खानलाई सेनाको रोजाइको उम्मेदवार बताइएको थियो । खानको पक्षमा जनमत जुटाउन सेनाले सत्तारुढ दल पाकिस्तान पिपुल्स पार्टी (पिएमएल—एन) र तेस्रो ठूलो शक्ति पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) समर्थित उम्मेदवारलाई झुटो आरोप लगाएको थियो ।

‘भ्रष्टाचार निर्मूल गर्छु’
खानले देशमा भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्ने बताएका छन् । ‘मैले विगतदेखि नै पाकिस्तानमा व्याप्त भ्रष्टाचारविरोधी अभियान चलाएको हुँ र अब देशको नेतृत्व गरेपछि पनि म यसलाई थप गति दिनेछु,’ खानले भने । पाकिस्तानमा आफूले परिवर्तन ल्याउने प्रतिबद्धता पनि खानले व्यक्त गरे । पाकिस्तान नयाँ मुस्लिम राष्ट्रका रूपमा स्थापना भएदेखि नै पाकिस्तानी जनताले स्थायित्व र सुशासनको अनुभूति नगरेको उनले बताए ।

पाकिस्तानमा विद्यमान भ्रष्टाचारका कारण जनतामा निराशा छाएको र देशको आर्थिक अवस्था पनि झन् कमजोर हुँदै गएकाले आफूले भ्रष्टाचारविरोधी अभियानमा लाग्ने निधो गरेको उनले बताए । आफ्नो यही बाचाका कारण नै पाकिस्तानी नागरिकले आफूलाई मत दिएर जिताएको र देशको प्रधानमन्त्रीको जिम्मेवारी पनि दिलाएको उनले बताए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.