एसिया कप छनोट : नेपाली क्रिकेट टोली घोषणा, को-को परे ?

काठमाडौं : अगस्ट अन्तिम साता मलेसियामा आयोजना हुने एसिया कप छनोटका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ नेपाली टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले १५ सदस्यीय टोली छनोट गरेका हुन्

नेपाली टोलीमा ब्याट्सम्यान विनोद भण्डारी र अलराउन्डर सागर पुनले पुनरागमन गरेका छन् । विनोद र सागर लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् ।

विनोद र सागरले सन् २०१७ डिसेम्बरमा वल्र्ड कप क्वालिफायरअन्तर्गत यूएईविरुद्धको खेलपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । खराब प्रदर्शनपछि नामिबियामा गत फेबु्रअरीमा भएको डिभिजन २ का खेलमा विनोद र सागर टोलीमा पर्न असफल भएका थिए ।

टोलीको उपकप्तानमा ज्ञानेन्द्र मल्ल छन् । यसैगरी अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ सेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल छन् ।

वैकल्पिक खेलाडीमा किशोर महतो, प्रदीप ऐरी, सुनिल धमला र सुशान भारी छन् । टोलीमा गत महिना नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय शृंखलामा सहभागी खेलाडीको बाहुल्य छ । त्यस बेलाको टोलीमा रहेका शक्ति गौचनले सन्न्यासको घोषणा गरेका छन् भने शरद भेषावकर घाइते भएपछि छनोट खेलमा नै सहभागी भएनन् ।

नेपालले मलेसियामा अगस्ट २७ देखि सेप्टेम्बर ६ सम्म सञ्चालन हुने एसिया कप छनोटमा हङकङ, मलेसिया, ओमान, सिंगापुर र यूएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले अगस्ट २९ मा ओमान, ३० मा यूएई, सेप्टेम्बर १ मा मलेसिया, २ मा सिंगापुर र सेप्टेम्बर ४ मा हङकङसँग प्रतिस्पर्धा गर्नेछ । लिग चरणका शीर्ष दुई टोलीबीच सेप्टेम्बर ६ मा फाइनल खेल हुनेछ । छनोट खेलका विजेता एसिया कपका लागि छनोट हुनेछन् ।

नेपाली क्रिकेट टोलीले एसिया कप छनोटको तयारीका लागि श्रीलंकामा अभ्यास गर्ने भएको छ । सोमबार श्रीलंका जाने नेपाली टोलीले त्यहाँका स्थानीय क्लबसँग तीन अभ्यास खेल खेल्नेछ । अभ्यास खेलपछि नेपाली टोली उतैबाट मलेसिया जानेछ ।

एसिया कप छनोट प्रतियोगिताको तयारीका लागि भारतीय प्रशिक्षक अपूर्व सुबोध देसाईले नेपाली टोलीको ब्याटिङमा सघाउने छन् । उनी नेपाली राष्ट्रिय टोलीको ब्याटिङ परामर्शदाता प्रशिक्षक नियुक्त भएका छन् । नेपाली टोलीले छनोट गरेर सिफारिस गरेकामध्ये अपूर्वलाई एसियाली क्रिकेट काउन्सिल (एसीसी)को स्वीकृतिपछि ब्याटिङ परामर्शदाता प्रशिक्षक नियुक्त गरिएको थियो ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नियमित रूपमा ब्याटिङमा संघर्ष गर्नु परेका कारण नेपाली टोलीले छोटो अवधिका लागि ब्याटिङ परामर्शदाता प्रशिक्षक नियुक्त गरेको हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले बलिङमा सशक्त प्रदर्शन गर्दै आए पनि ब्याटिङमा भने तुलनात्मक रूपमा कमजोर प्रदर्शन गरेका कारण प्रशिक्षक नियुक्त गरिएको हो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.