अन्नानको निधनमा विश्व स्तब्ध

जेनेभा : राष्ट्रसंघका पूर्वमहासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार बिहान निधन भएको छ। ८० वर्षको उमेरमा उनको निधन भएको छ। घानामा जन्मिएका अन्नान पछिल्लो समय स्वीजरल्यान्डमा बसोवास गर्दै आएका थिए। उनले सन् ११९७ देखि २००६ सम्म राष्ट्रसंघको प्रमुखका रूपमा दुई कार्यकाल सफलतापूर्वक पूरा गरेका थिए।

राष्ट्रसंघका भूतपूर्व महासचिव कोफी अन्नानको स्वीजरल्यान्डको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। राष्ट्रसंघका पूर्वमहासचिव अन्नानको निधनबारे उनको परिवारले पुष्टि गर्दै भनेको छ, ‘अन्नानले विश्वव्यापी राजनेताको छवि बनाएर आफ्नो देहत्याग गर्नुभएको छ।’ उनले जीवनभर मानव समानता तथा शान्तिपूर्ण विश्वका लागि कटिबद्ध रहेर मृत्यु नहुँदासम्म काम गरेका थिए।
राष्ट्रसंघको सबैभन्दा उच्च पदमा पुग्ने अन्नान पहिलो अश्वेत अफ्रिकी नागरिक थिए। सन् २००१ मा अन्नानलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो। अन्नान पछिल्ला दिनहरूमा श्रीमती नेन र तीन सन्तान अमा, काजो र नीनासहित स्वीजरल्यान्डमा बस्दै आएका थिए।

पूर्वमहासचिव अन्नानको निधनप्रति विश्वभरबाट दुःख व्यक्त गरिएका शोक सन्देश प्राप्त भएको कोफी अन्नान फाउन्डेसनले जानकारी गराएको छ। राष्ट्रसंघ प्रमुख एन्तोनियो गुतेरेसले अन्नानप्रति गहिरो दुःख व्यक्त गर्दै अन्नान असल परिणामका लागि जीवनभर प्रतिबद्ध रहँदै समानताका लागि निरन्तर काम गरेको स्मरण गरेका छन्।

गुतेरेसले भनेका छन्, ‘धेरै रूपबाट कोफी अन्नान संयुक्त राष्ट्रसंघ हुनुहुन्थ्यो। उहाँले राष्ट्रसंघलाई नयाँ सहस्राब्दीमा अतुलनीय उचाइमा पुर्‍याउनुभएको थियो। मैले उहाँलाई असल साथी भन्न पाउँदा मलाई गर्व महसुस हुन्छ।’

यसैबीच घानाका राष्ट्रपति नाना आकुफो अड्डाले अन्नानको मृत्युले घाना स्तब्ध भएको भन्दै उनको सम्मानमा घाना तथा यसका कूटनीतिक नियोगहरूमा एक साता आधा झण्डा झुकाएर शोक मनाउने घोषणा गरेका छन्। अन्नानले विश्वलाई शान्तिका लागि सक्षम नेतृत्व प्रदान गरेको राष्ट्रपति नानाले स्मरण गरेका छन्। अन्नानले केन्यामा निर्वाचनपछि देखिएको राजनीतिक संकट सल्टाउन सन् २००७ मा सफल भएका थिए।

फाउन्डेसनका उपप्रमुख, नर्वेका पूर्वप्रधानमन्त्री तथा विश्व स्वास्थ्य संगठनका पूर्वप्रमुख ग्रो हार्लेम ब्रन्टल्यान्डले अन्नानले विश्वका लाखौँलाख मानिसको जीवन सुधारका लागि काम गरेको बताएका छन्। ‘उहाँको निधनप्रति शोक व्यक्त गर्दै गर्दा हामीले यो संकल्प गर्छौँ कि आगामी दिनमा उहाँले देखाएको बाटो र मूल्यमान्यताप्रति इमान्दार रूपले काम गर्नेर्छौँ। हाम्रो लागि यही नै उहाँप्रतिको सच्चा सम्मान हुनेछ।’

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुख तथा नर्वेका पूर्वप्रधानमन्त्री जेन्स स्टोलटेनबर्गले पनि अन्नानले कुनै व्यक्ति एकै समयमा ठूलो मानवीय सहयोगी र बलियो नेता बन्नसक्छ भन्ने देखाएको चर्चा गरे।

राष्ट्रसंघका मानवअधिकार मामिला हेर्ने उच्च नियोगका जेयद राद अल हुसेनले अन्नानको निधनबाट स्तब्ध भएको बताएका छन्। अन्नान हजारौँको साथी र लाखौँको नेता भएको उनको कथन छ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्नानको निधनप्रति दुःख व्यक्त गरेका छन्। पुटिनले भने, ‘मैले यस घडीमा अन्नानकोे विवेक, साहस र एकदम जटिल अवस्थामा पनि सहज निर्णय दिनसक्ने क्षमताको प्रशंसा गर्न चाहन्छु।’ पुटिनलाई रूसी नागरिकहरूले सधैँ स्मरण गरिरहने उनको भनाइ छ।

बेलायती प्रधानमन्त्री टेरेसा मेले विश्वनेता तथा राष्ट्रसंघका सुधारक रहेको भन्दै अन्नानको स्मरण गरेकी छन्। त्यस्तै बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले अन्नान आफ्नो ‘एउटा असल’ साथी भएको चर्चा गरे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्नानको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘नोबेल पुरस्कार विजेता व्यक्तित्व तथा राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधनबाट हामी मर्माहित छौँ। उत्कृष्ट अफ्रिकी कूटनीतिज्ञ र मानव कल्याणका लागि काम गर्ने विश्व नेता मात्र होइन, अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि विवेकको नेतृत्वलाई पनि गुमाएका छौँ।’

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.