निर्मला हत्याको नखुलेको पाटोः दिलिपको त्यो सर्ट

कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आन्दोलनको रापमा छ । १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा प्रहरीले वास्तविक अपराधीलाई बचाउन खोजेको भन्दै व्यापारीहरुले स्वतःस्फूर्त रूपमा बजार–व्यवसाय बन्द गरेका छन् । आजको राजधानीमा यो समाचार छापिएको छ ।

प्रहरीले निर्मला हत्यामा संग्लन रहेको आरोपमा भीमदत्त नगरपालिका–१९ का ४१ वर्षीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेपछि आन्दोलनले नयाँ रूप लिएको छ ।

प्रहरीले विष्टलाई मुख्य दोषी भनेपछि आन्दोलनको राप झन् बढ्दै गएको छ । प्रहरीले अभियुक्त सार्वजनिक गर्दा स्याबासी पाउनुपर्ने हो तर उल्टै नागरिकले प्रहरी अनुसन्धानमाथि नै प्रश्न खडा गरेका छन् ।

खन्ना चौराहामा भेटिएका स्थानीय बासिन्दाहरुले दिलिपले यसअघि कुनै पनि महिलालाई दुव्र्यवहारसमेत नगरेको बताएका छन् । छिमेकी खेमा सुवेदीले भनिन्, ‘प्रहरीले भनेजस्तो बलात्कार र हत्या गर्न सक्ने शारीरिक क्षमता नै दिलिपसँग थिएन ।’ सुवेदीका अनुसार दिलिप शारीरिक भार पर्ने कुनै पनि काम गर्न सक्षमसमेत थिएनन् । ‘एक अँगालो दाउरा पनि बोक्न सक्दैनथे,’ सुवेदीले भनिन्, ‘सानो काम गर्दा पनि उनलाई स्वाँस्वाँ हुन्थ्यो ।’

दिलिपको त्यो सर्ट

चार सातासम्म चित्तबुझ्दो जवाफ र अनुसन्धान नगरेको प्रहरी एकाएक ४ भदौमा निर्मलाको घरमा पुग्यो । निर्मलाका बाबु यज्ञराजका अनुसार प्रहरीले निर्मलाको हत्या भएको स्थानमा अपराधीको केही प्रमाण छ भन्ने जानकारी गरायो । यज्ञराज पनि घटनास्थल गए । उनी भन्छन्, ‘घटनास्थलमा गएको २ मिनेटमै प्रमाण भेटियो भन्दै प्रहरी चिच्याए, अनि सर्टको खल्तीको कपडा र कन्डम बरामद गरियो ।’
रहस्यको विषय के छ भने १० साउनदेखि प्रहरी, स्थानीय, पत्रकार, नागरिक समाजका प्रतिनिधि, सीआईबीको टोली पटकपटक घटनास्थल पुग्दा नभेटिएको कपडालगायतका सामग्री अहिले त्यहाँ कसरी भेटियो ? प्रहरीले बलात्कारी भनिएका दिलिपकै सर्ट भएको दाबी गर्दै आएको छ ।
दिलिपको पारिवारिक स्रोतका अनुसार प्रहरीले दिलिपको घरमा गएर उनले लगाउने गरेको सर्ट मागेर लगेको थियो । पछि त्यही सर्टको खल्ती च्यातेर घटनास्थलमा राखियो । अनि दिलिपलाई घटनाको मुख्य अभियुक्त बनाएर प्रस्तुत गरियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.