नवजात शिशुकाे स्याहारमा अपनाउनु पर्ने सावधानीहरू

 

गर्भवती हुनु र सकुशल स्वस्थ्य बच्चा जन्माउनु सम्पूर्ण आमाहरूको लागि एक ठूलो चुनौती हो। लडाइँमा गएको सिपाही घर फर्कने–नफकर्ने निधो नभएको जस्तै हो आमा बन्नु। तसर्थ आमा सधैँ महान् रहन्छिन्। उनीहरूलाई श्रीमान्, छोराछोरी, सासु, ससुरासहित सबै परिवारले माया गर्नु पर्दछ।

स्वस्थ्य बच्चा जन्मिए पनि पुनः आमालाई बच्चाका केही त्यस्ता व्यवहार र लक्षणहरू अनौठा लाग्छन्। जसलाई सामान्य अथवा असामान्य के हो जानकारी पाउनु आवश्यक हुन्छ। उक्त अवसरमा साथी, संगी वा सासुआमाले आ–आफ्नै अनुभव बताउँछन् र उक्त अनुभवले मात्रै सधैँ सही सरसल्लाह नदिएको हुन सक्छ।

अतः अन्योलमा परेका आमाहरूलाई निम्नलिखित कुराहरूको जानकारी हुन जरुरी छ।

१) भर्खर जन्मेको बच्चालाई न्यानो गरी राख्नु पर्दछ। यदि बच्चा २.५ किलोग्राम भन्दा कम तौलको छ भने मायाको अंगालो अर्थात KMC मा राख्नु पर्दछ।

२) बच्चाले जन्मेको २४ घण्टा भित्र दिशा गरिसकेको हुनु पर्दछ। यदि २४ घण्टा भित्र पनि दिशा नगरेमा Anorectal Malfaormation (ARM) अर्थात् जन्मजात गूद्वार बन्द भएको हुनसक्छ। जसको जानकारी पाउन बालरोग विशेषज्ञकोमा जानु पर्दछ अथवा नजिकैको अनुभवी स्वास्थ्यकर्मीको सहयोग लिनु पर्दछ।

३) जन्मेको ४८–७२ घण्टा सम्ममा बच्चाले पिसाब फेरेको हुनुपर्दछ। यदि पिसाब नफेरेमा मुत्रप्रणाली सम्बन्धि जन्मजात समस्या वा बच्चालाई खुवाइएको दुध कम भएको छ भन्ने बुझ्नु पर्दछ।

४) बच्चा जन्मेको २–४ दिनमा हल्का पहेँलोपना शरीरमा देखा पर्न सक्छ। समान्य पहेँलोपन हुँदा डराउनु पर्दैन र आमाले चिल्लो बेसार वा पौष्टिकयुक्त आहार बार्नु पर्दैन। कडा पहेँलोपन अर्थात् जण्डिस पैताला वा हत्केलामा फैलिएमा सम्बन्धित बालरोग विशेषज्ञ वा स्वास्थ्य संस्थामा सम्पर्क गर्नु पर्दछ।

५) सामान्यतया बच्चा जन्मदाको तौल भन्दा १ हप्तापछिको तौल १० प्रतिशतले घट्न जान्छ र त्यसको १ हप्तापछि नै उक्त तौल पुनः फर्किनु पर्दछ। यदि बच्चाको तौल राम्ररी बढेन भने (३ महिनासम्म १५–२० ग्राम प्रतिदिन) सम्बन्धित डाक्टरलाई देखाउनु उपयुक्त हुन्छ। जन्मजात मुटु पेट वा श्वासप्रश्वास प्रणाली सम्बन्धि समस्याले शिशुको तौल नबढेको हुन सक्छ।

६) नवजात शिशुले निलेको दुधमध्ये केही मात्रामा दही जस्तो बान्ता गर्नु सामान्य हो। केही बच्चाहरू हक्कानिएर दुध चुस्ने गर्दछन्। त्यस्ता बच्चाले थोरै वान्ता हुनु स्वभाविक हो। साथै गर्भमा पानी खाएका बच्चाको सुरुको २४ घण्टामा बान्ता गर्नु स्वभाविक हो आत्तिनु पर्दैन। यदि बच्चाले थोरै–थोरै बान्ता गर्छ तर उसको तौल भनेअनुरूप बढेको छ र २४ घण्टामा ६ चोटी भन्दा बढी पिसाब फेरको छ भने आत्तिनु पर्दैन।

७) जन्मेको २–३ दिनसम्म कालो वा गाढा हरियो रंगको दिशा हुनु सामान्य हो। बिस्तारै उक्त दिशा पहेँलो रंगको हुन्छ। पिर लिनु पर्दैन। साथै आमाको स्तनपान गर्ने क्रममा पित्रिक–पित्रिक थोरै दिशा गर्नु पनि सामान्य हो।

८) बच्चाले सामान्य बेलामा आङ तन्काउनु उक्क–उक्क बाडुल्की आउनु पनि सामान्य हो। पिर मान्नु पर्दैन।

९) बच्चाले पिसाब फेर्नु र रुनु सामान्य कुरा हो। तर, पिसाब फेर्दा कन्नु वा रुनु, सिरिङ्ग हुनु मुत्रप्रणालीको संक्रमण (UTI) को लक्षण हो तसर्थ सम्बन्धित बालरोग विशेषज्ञलाई देखाउनु उपयुक्त हुन्छ।

१०) भर्खर जन्मेको बच्चाको स्तनको आकार ठूलो हुनु सामान्य हो। निर्चोदा सेतो पदार्थ आउनु पनि सामान्य हो। तर, त्यसलाई निचोर्नु कदापि हुँदैन। निचोरेमा स्तनमा पिप जम्मा भई ठूलो समस्या आउन सक्छ र चिरफार समेत गर्नुपर्ने हुनसक्छ।

११) छोरी नवजात शिशुको पाँचौ छैठौं दिनमा महिनावारी जस्तो गरी रगत आउन सक्छ, आत्तिनु पदैन। ३–४ दिनपछि स्वतः बन्द हुन्छ।

१२) बच्चा जन्मदैँ निला दाग (Mongolian spot) आँखाको परेला वरिपरि रातो दाग (Angelkiss) मुख भित्र, तालुमा सेतो सानो गिर्खा (Epstein pear) जस्ता बिमिरा आउन सक्छन्। जुन स्वतः हराउँदै जान्छ। त्यसैले पीर लिनु पर्दैन। तर धेरै नै अस्वाभाविक लागेमा बालरोग विशेषज्ञलाई देखाउनु पर्छ।

१३) बच्चालाई सामान्यबाहेक असामान्य छालाका दागहरू पनि देखापर्न सक्छन्। शरीरका कापहरू जस्तै काखी, गर्धनको मुजा परेको भाग, तिघ्रा आदिमा फोहोर जम्मा भई पिपले भरिएका फोकाहरू उठ्न सक्छन्। त्यस्ता फोकाहरू १० भन्दा धेरै छन् वा ठूलो फोका एउटै मात्र पनि छ भने छालाको स्थानीय संक्रमण सम्झिई जेन्सन भाइलेट वा कुनै एन्टिसेप्टिक झोलले सरसफाइ गर्दै डाक्टरलाई देखाउनु उत्तम हुन्छ।

१४) समय पुरा भई ढिलो जन्मिएको बच्चामा छाला उप्किने समस्या हुनसक्छ। २४ घण्टा कटेपछि नुहाएर नरिवलको तेल वा जैतुनको तेल लगाई मालिस गरेपनि उक्त समस्या आँफै ठिक हुन्छ।

१५) धेरै डाइपर लगाउने चलन आएसँगै डाइपर बसेको ठाउँमा ‘डाइपर र्‍यास’ आउन सक्छ। त्यस्तो बच्चालाई धेरै डाइपर नलगाउने र खुल्ला राख्न सकिएमा बिमिरा आफै हट्न सक्छ वा छाला कमलो बनाउने क्रिम प्रयोग गरी बिमिरा निको पार्न सकिन्छ।

बच्चा जन्मिदा साथ जान्नु पर्ने कुराहरूः

१) शिशुको सरसफाइ
२) नाभीको स्याहार
३) जन्मने बित्तिकै नवजात शिशुलाई कसरी न्यानो बनाइ राख्ने।

नवजात शिशुको सफाइ र नाभीको हेरचाह

१) शिशुको सरसफाइ

– मनतातो पानीमा भिजाएको सफा नरम कपडाले शिशुको अनुहार, घाँटी, काखी र काछलाई दैनिक रूपले पुछिदिनुहोस्।

– नवजात शिशुको दिसा जताततै लाग्न नदिन ‘न्यापकिन’ वा सफा र नरम कपडा लगाई दिनुहोस्।

– नवजात शिशुले दिसा गरिसकेपछि मलद्धारलाई सफा र नरम कपडाको टुक्रालाई मनतातो पानीमा भिजाएर पुछिदिनुहोस्। नवजात शिशु छोरी भएमा योनी बाहिर पनि सफा गरिदिनुहोस्।

– जन्मेको २४ घण्टा भइसकेको छ भने नवजात शिशुलाई नुहाइदिएर सफा लुगा लगाई दिनुहोस् (तर नवजात शिशुलाई जन्मेको २४ घण्टासम्म नुहाइदिनु हुँदैन)।

– नवजात शिशुको आँखा, कान सफा र सुक्खा राख्नुहोस् (तर नवजात शिशुको आँखामा गाजल र कानमा तेल वा अन्य कुरा राख्नु हुँदैन)।

२) नाभीको स्याहार

– नाभीको स्याहार गर्नुभन्दा पहिले हात साबुन पानीले राम्रोसँग धुनुहोस्।

– नाभी भिजेको छ भने नाभीलाई सफा मनतातो पानीले धुनुहोस् र सफा नरम कपडाले पुछेर सुख्खा बनाई राख्नुहोस्। तर, दिसापिसाब जताततै लाग्न नदिन लगाई दिएको कपडा वा ‘न्यापकिन’ले नाभीलाई छुवाउनु हुँदैन।

– नवजात शिशुलाई बेरेको कपडाले नाभी भएको भागमा खुकुलो हुनेगरी मात्र छोप्नुहोस्।

– नाभीको स्याहार गरिसकेपछि हात साबुनपानीले राम्ररी धुनुहोस्।

३) जन्मने बित्तिकै नवजात शिशुलाई कसरी न्यानो बनाई राख्ने?

– सुत्केरी गराउने कोठालाई २५ डिग्री देखि २८ डिग्री सेन्टीग्रेड तापक्रम कायम हुने गरी न्यानो राख्ने।

– जन्मने बित्तिकै शिशुलाई न्यानो र सुख्खा कपडाले पुछेर सुख्खा पार्ने।

– शिशुलाई आमाको नाङ्गो छातीमा टाँसेर राख्ने।

– टाउको पनि छोपिने गरी शिशुलाई न्यानो कपडाले बेरेर राख्ने।

– एक घण्टा भित्रै स्तनपान सुरु गराउने।

– जन्मेको २४ घण्टासम्म बच्चालाई दुध खुवाएपछि कोल्टे पारेर राख्ने, सर्कन सक्छ र ज्यान जान सक्छ।

– हस्पिटलबाट डिस्चार्ज भएकोे ७२ घण्टापछि र एक हप्तापछि पुन बच्चालाई डाक्टरलाई देखाउने।

माथि उल्लेखित जानकारीका बाबजुत पनि आमाहरूले आफ्नो बच्चालाई धेरै बिसन्चो भएको छ कि छैन भनेर थाहा पाउने खतराका चिन्हहरूको जानकारी पाउनु जरुरी छ। तल लेखिएकामध्ये कुनै पनि खतराका चिन्हहरू देखिएका तुरुन्त बालरोग विशेषज्ञ कहाँ सम्पर्क गर्नुपर्दछ।

खतराका चिन्हहरू:

१) बच्चाले चाँडो श्वास फेरेमा (१ मिनेटमा ६० वा सो भन्दा बढी)।

२) कनेको आवाज सुनिनु वा कतचष्मयच सुनिनु।

३) कडा किसिमले कोखा हान्नु र नाकको पोरा फुल्नु।

४) बच्चाले दुध चुस्न नसक्नु वा निल्न नसक्नु अथवा निलेको सबै वान्ता गर्नु।

५) बच्चालाई ज्वरो आइरहनु (३७.५ डिग्री सेल्सियस वा सो भन्दा बढी हुनु)।

६) सिताङ्ग हुनु।

७) सुस्त अथवा बेहोस हुनु।

८) कम्पन आउनु वा आँखा पल्टाइ हात खुट्टा तिनिक्क पार्नु।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.