महिला र पुरुषमा सन्तान नहुने कारण र उपचार

बालबच्चासहितको सुन्दर र सुखी परिवार। विवाहित महिला वा पुरुषको इच्छा यही हुने गर्छ। विवाहित जोकोहीलाई पनि सन्तानको चाहना कसलाई हुँदैन र ?

तर इच्छाएका सबै कुरा पूरा हुँदैनन्। सन्तान नहुँदाको पीडा निःसन्तान दम्पतीबाहेक अरू कसले महसुस गर्न सक्ला र ? सामाजिक मूल्य मान्यता र कूलसँग जोडिएको सन्तान प्राप्तिको इच्छा जोकोहीलाई पनि हुन्छ।

तर सन्तान नहुँदा विशेषतगरी पुरुषलाई भन्दा पनि महिलालाई बढी दोषी देख्ने गरेको छ, हाम्रो समाजले। बाँझी भनेर हेप्ने होच्याउने चलन छ। बच्चा भएन भनेर श्रीमान्ले दोस्रो विवाह गर्ने, श्रीमतीलाई घरनिकाला गर्ने र कतिपय अवस्थामा आत्महत्या गरेका समेत अवस्था देखिन्छ।

सामाजिक मात्र होइन मानसिक समस्या पनि बन्दै गइरहेको छ बाँझोपन। नेपाली समाजमा विभिन्न कारणले गर्दा बाँझोपनको समस्या फैलिइरहको छ। चिकित्सकहरूका अनुसार नेपालमा करिब १५ प्रतिशत विवाहित दम्पतीले सन्तान सुखबाट वञ्चित हुनुपरिरहेको छ। यी समस्या भएकामध्ये आधाभन्दा बढी सामान्य परामर्श तथा चेतनाबाट समाधान गर्न सकिन्छ। बाँकी समस्या औषधि र उपचारबाट समाधान गर्न सकिन्छ भने थोरैलाई मात्र टेस्टट्युब बेबी तथा कृत्रिम गर्भाधान गर्नुपर्ने चिकित्सकहरू बताउँछन्।

सामान्यतया महिला र पुरुषबीच यौनक्रिया भएपछि पुरुषको लिंगबाट निस्किएको वीर्य महिलाको योनीद्वार हुँदै डिम्बबाहिनी नलीमा पुग्दछ। यसरी पुरुषको वीर्यबाट शुक्रकीट महिलाको डिम्बबाहिनी नलीमा प्रवेश गरेर डिम्बसँग मिसिन्छ।

डिम्ब र शुक्रकीटको मिलनबाट भ्रुण तयार हुन्छ र पाठेघरमा पुगेर विकसित हुन्छ। महिना दिनपछि यस भ्रुणले शिशुको रूप धारण गर्छ। तर, कहिलेकाहीँ दम्पतीले चाहँदा–चाहँदै पनि गर्भ नरहने हुन्छ।

के हो बाँझोपन ?
कुनै पनि दम्पतीले विवाह गरेको एक वर्षसम्म परिवार नियोजनका कुनै पनि साधन प्रयोग नगरी सम्पर्क गर्दा गर्भ बसेन भने त्यसलाई बाँझोपन भनिन्छ। प्रसूति गृह निःसन्तान उपचार केन्द्रकी प्रमुख एवं वरिष्ठ महिला तथा स्त्रीरोग विशेषज्ञ डा उषा श्रेष्ठ खाँडका अनुसार बाँझोपनको समस्याका विभिन्न कारण हुन सक्छन्।

‘धेरैजसोलाई गर्भ कतिबेला बस्छ भनेर उपयुक्त समयको ज्ञान नभएको हुँदैन,’ उनी भन्छिन्, ‘कतिपयलाई परामर्श दिएर पनि निको पारेका छौं।’

काठमाडौं मोडेल हस्पिटलका डा गणेश दंगालका अनुसार बाँझोपनका प्रकार महिला र पुरुषमा फरकफरक हुन्छन्। महिलामा मानसिक तनावका कारण आन्तरिक हार्मोनमा गडबडी आउनुका साथै अण्डबाहिनी नली बन्द हुने अवस्था आउन सक्छ भने डिम्बाशयमा पनि गडबडी देखा पर्न सक्छ।

त्यसैगरी पाठेघरको झिल्ली पातलिनु तथा मासु बढ्नु, गर्भाशयको मुख ज्यादै सानो हुनाले पनि बाँझोपनको समस्या महिलामा हुन्छ। त्यसैगरी पुरुषमा चाहिँ अत्यधिक मात्रामा धूमपान तथा मद्यपान सेवन, स्वस्थ तथा गुणस्तरीय शुक्रकीट नहुनु, शुक्राणुको संख्या कम हुनु आदि समस्या पाइने गरेको छ।

दुवैको उत्तिकै दोष
हाम्रो समाजमा विशेषतः बच्चा नजन्मिएको सवालमा महिलालाई दोष दिने चलन छ। तर यसमा दुवै जनाको उत्तिकै कमजोरी रहेको बताउँछिन् डा उषा श्रेष्ठ खाँड। ‘पितृसत्तात्मक समाज भएर पनि होला दोष जति सबै महिलालाई नै जाने गरेको छ,’ उनले भनिन्, ‘अझ कतिपय त श्रीमतीको दोष देखाउँदै दोस्रो विवाह पनि गर्न पुग्छन्।’

डा भोला रिजाल पनि सन्तान हुन नसक्नुमा महिला तथा पुरुष दुवै समान रूपमा जिम्मेवार रहेको बताउँछन्। उनका अनुसार सन्तान नहुनुमा पुरुषको ३३, महिलाको ३३ र दुवैको साझा ३३ प्रतिशत दोष रहेको हुन्छ। कहिलेकाहीँ दुवैमा खराबी नहुँदानहुँदै पनि गर्भ रहन कैयौं वर्ष लाग्न सक्ने अवस्था पनि आउने उनी बताउँछन्।

सन्तान नहुने कारणहरू
ओम अस्पतालकी निःसन्तान विशेषज्ञ डा सविना श्रेष्ठ प्रधानका अनुसार पुरुष र महिलामा सन्तान नहुने कारण फरकफरक हुन्छन्।

‘पुरुषमा सन्तान नहुने कारणमा वीर्यमा शुक्राणुको संख्या वा गतिमा कमी, शुक्रकीट उत्पादन नहुनु, वीर्यमा संक्रमण, शुक्राणुको बनावटमा खराबी, हर्मोनमा गडबडी, पुरुष कुनै कारणवश सहवास प्रक्रियामा असमर्थ हुनु, शुक्रनली वा अन्य भागमा अवरोध लगायत पर्छन्,’ उनले जानकारी दिइन्, ‘यस्तै, महिलामा भने अण्डाशयमा अण्डा नबन्ने अथवा थुप्रै सानासाना डिम्ब बने पनि नबढ्ने, पाठेघरको नली पूरा बन्द हुने, पिप या पानी जम्ने या अण्डा पक्रिने काम नगर्ने, पाठेघरको झिल्ली क्षयरोग अथवा कुनै कारणबाट पातलो हुने, हार्मोनमा गडबडी, पाठेघरको झिल्लीमा मासु बढ्ने, गर्भाशयको मुख ज्यादै सानो हुने, धेरैभन्दा धेरै गर्भपतन गर्ने कारणले पनि गर्भ बस्दैन।’

असुरक्षित गर्भपतनको खतरा
पछिल्लो समयमा बढ्दै गएको असुरक्षित गर्भपतनका कारण पनि महिलाहरूलाई निःसन्तान बनाइरहेको छ। विवाहपूर्व नै यौनसम्पर्क राख्ने युवतीहरूले लुकिछिपी असुरक्षित रूपमा गर्भपतन गराउँदा पाठेघरको नली बन्द हुने, पाठेघरमा घाउ भएर असर गर्ने जस्ता समस्याले निःसन्तानको खतरा बढाइरहेको डा श्रेष्ठ बताउँछन्। यसका साथै बजारमा जथाभावी पाइने औषधिको सेवनका कारण झन् अहिले युवतीहरूमा बाँझोपनको समस्या निम्तिइरहेको छ।

वैदेशिक रोजगार र यौनरोग पनि कारण
चिकित्सकहरूका अनुसार युवा उमेरमै रोजगारीका लागि विदेशिएका युवाहरूले विदेशबाट यौनरोगहरू भित्र्याइरहेका छन्। यस्ता युवाहरूमा पनि यौनरोगको संक्रमणका कारण सन्तान नहुने समस्या आइरहेको छ। डा श्रेष्ठका अनुसार विदेशमा असुरक्षित यौन सम्पर्क गरेका कारण धेरै युवाले स्वदेशमा आएर विवाह गर्दा सन्तान पाउने अवसर गुमाइरहेका छन्। यसका साथै रसायनयुक्त कम्पनी, उच्च तापक्रममा काम गर्ने मानिसमा शुक्रकीट मर्ने र कम हुने समस्या आउँछ। यसका कारण पनि बच्चा नहुने समस्या थपिइरहेको छ।

गर्नुपर्ने जाँच
महिलामा गर्नुपर्ने जाँच
– पाठेघरको झिल्लीमा क्षयरोग भएको हो या होइन
– महिनावारी भएको दास्रो वा तेस्रो दिनमा हार्मोनको जाँच
– रगतको सामान्य जाँच
– भित्री अल्ट्रासाउन्डद्वारा अण्डाको जाँच
– दुरबिन प्रविधिद्वारा पाठेघरको भित्री भाग तथा नलीको जाँच
– सहवासपश्चात् शुक्रकीटको जाँच

पुरुषमा गर्नुपर्ने जाँच
– रगतको सामान्य जाँच
– वीर्यको विशेष जाँच
– आवश्यकता अनुसार टेस्टिकुलर बायोप्सी गर्ने
– हार्मोनको जाँच

बाँझोपन हुन नदिन ध्यान पुर्‍याउनुपर्ने कुराहरू :

जंक फुडको प्रयोग धेरै नगर्ने।
सही समयमा विवाह गर्ने। नेपालको सन्दर्भमा २५ देखि ३० वर्षको उमेर समूहलाई उपयुक्त मानिन्छ।
प्रदूषणबाट बच्ने,
स्वस्थ जीवनशैली जिउने,
तनावयुक्त जीवन नबाँच्ने,
मोटोपनबाट बच्ने,
यौनरोग लाग्न नदिने,
मद्यपान तथा धूमपानबाट टाढा रहने।

उपचार
आइयुआई (अल्ट्रा युटेरिन इन्सिमिनेसन)
यो विधि पुरुषमा स्वस्थ शुक्रणुको कमीको कारण प्रयोग हुने विधि हो, जसमा स्वस्थ शुक्राणुको पहिचान गरी स्त्रीको पाठेघरमा ‘क्याथेटर’को माध्यमबाट राखिन्छ। यो विधि स्त्रीको डिम्बको निर्माण समुचित रूपले हुन नसकेपछि प्रयोग गरिन्छ। यो विधि उपचारको सुरुवाती विधा हो। यसमा डिम्बको समुचित आकारको लागि केही औषधिको पनि प्रयोग गरिन्छ। यसमा सफलताको दर २० देखि २५ प्रतिशतसम्म हुने गरेको छ।

आइभिएफ (इन भाइट्रो फर्टिलाइजेसन)
आइयुआई असफल भएपछि यो प्रयोग गरिन्छ। यो २५ देखि ३० प्रतिशतसम्म सफल हुने सम्भावना हुन्छ। यो विधिमा स्त्रीको डिम्ब र पुरुषको शुक्राणुलाई गर्भाधारणको प्रारम्भिक प्रयोगशालामा गरिन्छ। यो विधिलाई टेस्टट्युब बेबी पनि भनिन्छ।

इन्ट्रा साइटोप्लाजमिक स्पर्म इन्जेक्सन (आइसिआएसी) यो विधि आइभिएफ जस्तै विधि हो जसमा एक शुक्राणु र एक डिम्बको निशेचन गरिन्छ र यसमा सफलताको दर २० देखि ३० प्रतिशत हुन्छ। यो विधि अरूभन्दा महँगो छ।

समाधान
बाँझोपनले बुनेको मनोसामाजिक समस्यालाई समाधान गर्न सुरुमा मानसिकतामै परिवर्तन ल्याउन जरुरी देखिन्छ। प्रजनन स्वास्थ्यका बारेमा जनचेतना हुुनुपर्‍यो। विभिन्न अध्ययनले देखाए अनुसार धेरै गर्भपतन, गर्भनिरोधक चक्कीको जथाभावी प्रयोग, बढ्दो प्रदूषणले यसको समस्या बढाएको छ। अहिले विभिन्न आधुनिक प्रविधिको विकास भइसकेको छ। समस्या आउनुभन्दा पहिला नै यसमा सावधानी अपनाउन जरुरी देखिन्

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.