एउटा गाउँ जहाँ जातीय विभेदको ‘नामनिसान छैन’

बीबीसी-फाप्लु, सोलुखुम्बुकी उर्मिला श्रेष्ठ गाउँका दलितको घरमा जाने, सँगै बसेर उनीहरूकै घरमा खाना खाने गर्छिन्।

केही वर्ष अघिसम्म दलित र गैरदलित भनी फरक व्यवहार भए पनि पछिल्ला वर्षमा उक्त क्षेत्रमा त्यस्तो जातीय विभेद कत्ति पनि नरहेको उनी बताउँछिन्।

फाप्लु र आसपासका क्षेत्रहरू सुर्के, यर्मादिङमा गरी करिब दुई सय घर दलित बस्ती रहेको छ। त्यहा शेर्पा, तामाङ, नेवार लगायत केही बाहुन र क्षेत्रीको पनि बसोबास रहेको छ। “उनीहरू हरेक क्षेत्रमा अब्बल छन्, उनीहरूका घर हाम्राभन्दा बढी सफासुग्घर छन्,” श्रेष्ठले भनिन्, “उनीहरूसँग बस्दा र खादा उनीहरू दलित हुन् त्यसैले बस्न हुँदैन भन्ने लाग्दैन। हामीबीच भात/भान्सा सबै चल्छ।”

उनीहरूसँग बस्दा र खादा उनीहरू दलित हुन् त्यसैले बस्न हुँदैन भन्ने लाग्दैन। हामीबीच भात/भान्सा सबै चल्छ
उर्मिला श्रेष्ठ, फाप्लु, सोलुखुम्बु
सोलुखुम्बुको फाप्लुमा बस्दै आएका दलित र गैरदलितबीच देखिएको यो समानता राजधानीकै कतिपय क्षेत्रका लागि पनि नौलो मानिन्छ।

काठमाण्डू वरपरकै कतिपय गाउँमा अझै पनि दलितलाई गैरदलितले घर छिर्न नदिने, उनीहरले छोएको पानी नचलाउने गर्छन्, विवाह त परको कुरा।

“घरमा फलेका तरकारी विक्री गर्न टाढा जान पर्दैन, हाम्रै घरबाट यहाँका गैरदलितले किनेर लैजान्छन्। पितृकार्य, पूजामा गरिने भोजहरूमा उनीहरू नधकाइकन आउँछन्, खान्छन्,” सोलु दूधकुण्ड नगरपालिका ४ की लली विश्वकर्मा भन्छिन्, “उनीहरूका लागि भनेर छुट्टै खानेकुरा पकाउने चलन छैन। हामी जे पकाउँछौँ त्यही सँगै बसेर खाने हो।”

घर चलाउने महिलाहरूले नै कुनै विभेद नगरेपछि घरबाहिर काम गर्ने पुरुष वा बालबालिकामा त्यो हुने कुरै भएन।

एक अर्कामा घरमा निर्वाध रुपमा प्रवेश गर्ने अनि मर्दापर्दा वा पूजाआजामा एक अर्कालाई सहयोग गर्ने यहाँका बासिन्दाको चलनले यहाँ आउने अन्य क्षेत्रका मानिसलाई पनि अचम्मित पार्छ।

झापा घर भइ आठ वर्षदेखि सोलुखुम्बुको फाप्लुमा शिक्षण गराउँदै आएका श्रीकृष्ण गौतमले त नेपालका नमुना जिल्लाका रुपमा सोलुखुम्बुलाई लिन्छन्।

“नेपालका प्राय सबै जिल्लाहरूमा दलित र गैरदलितबीच विभेद छ। तर यहाँ त एकदमै फरक छ। मलाई शुरू शुरूमा अचम्म लाग्थ्यो।”

एउटै परिवारका रुपमा उनीहरू मिलेर बसेको देख्दा गौतम जस्तै अन्य भेगबाट आएका मानिसहरू आश्चर्य मान्छन्।

नेपालका प्रायः सबै जिल्लाहरूमा दलित र गैरदलितबीच विभेद अझै छ। तर यहाँ त एकदमै फरक छ। मलाई शुरू शुरूमा अचम्म लाग्थ्यो
तर सोलु दूधकुण्ड नगरपालिका-४ दलित बस्तीकी कृष्णकुमारी विश्वकर्मा भन्छिन् “छुवाछूत, सानो जात र ठूलो जात भनि गरिने विभेद र अन्य कुनै किसिमको दुर्व्यवहार हाम्रो समाजमा पाइँदैन।” उनीहरू आवश्यक पर्दा रकम सरसापटीदेखि लिएर तरकारी र अन्नपात पैंचो चलाउँछन्।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.