‘एनिमल्स राइट’

            हाम्रा जातिले आरामको जीवन जिउन पाएका छैनौँ । वासस्थान फोहोर हुन्छ; हिलो हुन्छ र त्यत्तिकै दुर्गन्धित पनि। स्वास्थ्योपचारमा पनि ख्याल गरिँदैन। फेरि जब हाम्रो वध गर्ने बेला आउँछ,तब त्यहाँ आततायी काम हुन्छ। एउटा सुइराले कोखाबाट र्वाम्म रोप्दा कस्तो होला। छिटो सास जाँदैन। मुटुमा पुगेर छेडिनु पर्छ अनि मात्र वायु उड्छ।ठुलो पिडादायी चित्कार प्रवाह हुन्छ।हामी पनि एउटा जीव हौँ दुखाइको अनुभव हुन्छ। ऐँसेलुका काँडाले छिसिक्क कोर्दा पनि मुन्छेले `ऐया!´भनेको सुनेको छु भने भालाले रोप्दा कस्तो होला? हे नाथ! बध गरून्। खाऊन्। तर यातना नदिऊन्।   
-लघु-एकाङ्की
पात्रहरू:
गाई,भैँसी,खसी, गोरु,सुँगुर 1,सुँगुर 2,बाख्रो 1,बाख्रो 2,भाले 1,भाले 2,घोडा,राँगो भेडा। किरातेश्वर, मुन्छे1,2,3,4,5……………9,10
समय-बिहान
स्थान-पन्चन,लोस्कु
दृष्य-(आँपका फेदनेरको घरको मतान।भुईँतलो।पल्ला कुनामा मकैका ढोड छन्।अगाडि केराका झ्याङ देखिन्छन्।भुईँमा लहरै दुईदुई हातका किला गाडिएका छन्।नेपथ्यबाट कल्याङमल्याङ गरेको “मुन्छे”आवाज आउँछ। सुस्तसुस्त पर्दा खुल्छ।)
(सुत्रधारको प्रवेश)
सुत्रधार-हेर्यौँ नाटक मञ्चन मानवको अब हेरून् हामी मानवेतरको। दु:ख यातना भवसागर भो अधिकार लिने अब बेला आयो। ……………अब बेला आयो।
(दर्शकदीर्घाबाट कसिलो तालिको गडगडाहट आउँछ।साइसाइ सुइसुई सुनिन्छ। पार्श्व-सङगीतको मधुर आवाज आउँछ।गाईको प्रवेश)
गाई-(मञ्चको चारैतिर घुम्दै ओल्लो कुनामा उभिन्छ।पिसाब पेर्छ।पुछरले पिसाब छर्कन्छ)
हरि:ॐ द्यौ शान्ति:रन्तरिक्ष गुँ शान्ति ………
……………………सा मा शान्ति रेधि।।
सुँगुर 1-(मन्चमा प्रवेश गर्दै)हैन गाईजी किन पिसाब छर्केको यसरी चारैतिर हँ?
गाई– मेरो पिसाव पवित्र हुन्छ।अशुद्ध कुरालाई शुुद्ध पार्छ।म शन्तिकामी हुँ।अन्तरिक्ष पृथ्वी वनजङ्गल सबैको शान्ति चाहन्छु।त्यसैले अभिषेक गरेको।
सुँगुर1– आ ! छोड्दिनुस् यस्ता कुरा।पिसाब पिसाबै हो।विकार वस्तु! त्यो मुन्छेको भावनाको कुरो हो। आस्था हो। सबैको हैन, कुनै जात विशेषको हो।
गाई–  ल,ल भै गो नि! तपाईँकै कुरा सही म विवाद गर्दिन यो मुन्छे अधिकारसँग जोडिएको कुरा हो।(चारैतिर हेर्दै)अनि खै त अरु?कार्यक्रम सक्न ढिलो हुन्छ।बैठक सकेर तल्लाबारी मसारमा जानु छ फेरि।
सुँगुर1  -आउँदा हुन् नि!(मन्चको उत्तरतिरबाट भैसी, खसी र गोरुको प्रवेश ।गाई र सुँगुर१सँग अभिवादन साटासाट हुन्छ।)ल,अाउँनु भो ।किन ढिलो नि?
भैँसी- बच्चालाई ख्वाइप्याइ गर्दा ढिलो भो।
खसी-दाना अलि सारा भए,चबाउदा चबाउँदै ढिलो भो।
गोरु- एउटा सुर्को सिँबी छर्दा छर्दै ढिलो भो।(नेपथ्यबाट आवाज आउँछ।सबै उता हेर्छन्।बाझाबाझ गरेको सुनिन्छ। भाले१ , भाले२,र सुँगुर2 को मन्चमा प्रवेश।)
खसी-  साथीहरू नमस्कार!किन हल्ला? के भो ?
सुँगुर२ -खै उहाँहरूलाई के भयो कोनि । बाटैदेखि भनाभना छ।
गाई– किन भाले१जी ? के भयो?
भाले१-हेर्नुस् न काकी(भाले२ तिर देखाउदै)यसले मलाई हेप्छ। नानाभाँती भन्छ।
भाले२-(ठुलो स्वरले) के भनेँ मैले?भन्?तैँले भनेको छैनस्?फेरि…………!
भाले१- फेरि के? खोजिस्? गिद्धे!
भाले२-गिद्धे नभन्। गिरिराज भन्। तँ गिट्ठे! ढुकुरे! तँ कैले धार्नीको हुन्छस् !म पाँच बिसौली त हेलै पुग्छु।
भाले१-पुगे पुग् न त गिद्धे भतुवा! मेरो झोलसँग कति मुन्छेको जिब्रो रतिएको छ।”जाऊँ है आज थकाली भान्छा घरतिर लोकल भालेसँग ढिँडो हान्न” भनेर कार चढ्ने मुन्छे भन्छन्। तेरो नाउँ आउँछ गिद्धे?
भाले२-मैले भन्देको छु-गिद्धे नभन्।मेरा कन्सिरी धेरै तातिसके। भेट्लास् तेरो लोती चुडिने गरि। म कसरी गिद्धे? भन् । साला। बन्ठा। छिटो पुष्टि गर्।    (रिसले मुर्मुरिन्छ)
भाले१-कहाँ हो कोनि, मेरा पूर्खा गिद्ध नभाका बेलामा उसकी बुढीमाथि चढेछन् अनि उसले फुल पारिछ। फुलबाट तेरा पुर्खा निस्के।त्यसैको सन्तान तँ। त्यै भएर तँ गिद्धे!
भाले२– यो अप्रमाणित कुरो कल्ले भनो?
भाले१– हाम्रा घरमा तिनजना मास्टर छन्।उनीहरूल्यै भनेको। बुझिस्।
भाले2– झुठ,झुठ,झुठ! के जान्दछन् यस्ता कुरा ती मास्टर! गफका भारी! जीववैज्ञानिकहरूले दुई किसिमको जिन समायोजन गरेर नस्ल सुधार गर्छन्। उनीहरू हामीमा मात्र होइन; वनस्पतिमा समेत यसो गर्छन्। तँ “सिताखाउ पूर्वीया”बोकिहिँड्ने च्याँसेलाई के थाहा ।
सुँगुर2-अब चुप लाग्नुस्! के कराउनु परेको।हाम्रा समस्यामा पो जम्मा भएका त हामी।(दुबै चुप लाग्छन्।यत्तिकैमा बडो तामझामका साथ
घोडा,राँगो,भेडा,बाख्रो१,बाख्रो२को प्रवेश हुन्छ।
स्वागतको ताली बज्छ।)
राँगो-साथीहरू अघिनै आउनुभएछ। मेरो अलि काम पर्यो! मुन्छेले थोरे लेराछन्। काम नगरी नभकाले ढिलो भो।हाम्रो जातमा भाले१ जीको जस्तो छिटो हुँदैन एकखेप, दुईखेप बस्।
बाख्रो१-काखमा दुईदुई जना छन्। धन्दा गर्दै ढिलो।
बाख्रो२-अाज भेला छ भन्ने कुरै पो बिर्सिएछ।
घोडा-काम छैन।जिउ दुखेर हिँड्नै अल्छी लाग्छ।
भेडा-म ता नआउँदा हुन्छ होला भनेर बसेको पो थिएँ।फेरि बाख्रो2ले जाऊँ भनेर पो! त्यसै अल्छी पो लाग्न थाल्यो किन हो! मासिन हो कि!
गाई-अब लगभग भेला भैयो। प्रमुख अतिथिज्यू आए पछि सुरु गर्नुपर्छ।कार्यक्रमको खाका बनाऊँ।(सबैले सहमतिमा टाउको हल्लाउँछन्।)
घोडा-उद्घोषण भाले२जी गर्नुहुन्छ। स्वागत भाषण गाईजी हाँक्नुहुन्छ।अरु मित्रहरूले आआफ्ना भोगाइका पीडा प्रमुखअतिथिसमक्ष राख्नुहुन्छ र अन्त्यमा साझा निस्कर्षमा पुग्नुपर्छ। कि कसो? (सबैले समर्थनमा ताली पिट्छन्-प ट ट ट ट!!!!!
यत्तिकैमा प्रमुख अतिथिमा आमन्त्रित “किरातेश्वर”आफ्नी अर्धाङ्गिनी “उमा”का साथ मन्चमा प्रवेश। सबै उठ्छन्। पुष्पगुच्छाद्वारा भव्य स्वागत गरिन्छ। साजसज्जायुक्त विशेष आसनमा राखिन्छ। उद्घोषण गर्न भाले२माइक्रोफोन नजिक जान्छन्)
भाले२-हाम्रा परमपुज्य नाथ तथा माताजी! उपस्थित दाजुभाइ दिदीबहिनी! अब हाम्रो कार्यक्रम सुरु हुन आँटेको छ। सर्वप्रथम म सभापतिका लागि भैँसीजीलाई अनुरोध गर्छु। (ताली बज्छ,मसक्क मस्कँदै नाथलाई नमन गर्दैआसनग्रहण हुन्छ।) यसै गरी आजका प्रमुख अतिथि “चराचराधिपति”लाई सविनय अनुरोध टक्र्याउँछु।(सबै उठ्छन्,पुष्पवृष्टि हुन्छ। जयजयकारको ध्वनि गुन्जायमान हुन्छ।)
उपस्थित महानुभावहरू! स्वागत मन्तव्य दिनुहुन गाईजीलाई अनुरोध गर्दछु।
गाई-(रोस्टमतिर जान्छ) महामहिम नाथ! सभापति महोदय! उपस्थित महानुभाव! आफ्ना कैयौँ समस्या हुँदाहुदै यहाँहरू भेला हुनुभएको छ।सर्वप्रथम म स्वागत गर्न चाहन्छु।स्वागत छ स्वागत छ।हाम्रा धेरै समस्या छन्;पीडा छन्;यातना छन्। त्यसबाट मुक्ति पाउँन हामी छलफलमा छौँ। हाम्रा पीडा नाथलाई सुनाउँनु छ आज। निष्कर्ष निकाल्नु छ। “ह्युमन राइट”का कुरा उनीहरूले उठाउँदा हामीले “एनिमल्स राइट”का कुरा किन नउठाउने!त्यसैले महानुभावहरू!निर्धक्क भएर नाथसमक्ष कुरा राखौँ।म धेरै समय लिन्न। पुन:स्वागत अभिवादन गर्दै विदा हुन्छु।धन्यवाद।(ताली बज्छ)
भाले2-धन्यवाद गाईजी!म अब आफ्ना गहकिला कुरा राखिदिनुहुन सुँगुर2लाई अनुरोध गर्दछु।(सुँगुर२ माइकतिर जान्छन्)
सुँगुर२-महामहिम नाथ तथा माताजी! सभानायक!सहभागी साथी तथा दर्शक साथीहरू! आज धेरै दिन पछि हामी यो ऐतिहासिक जमघटमा पुगेका छौँ। यसलाई उपलब्धिमूलक बनाउन सक्नुपर्छ। परमपिता नाथ! हामी निरीह प्राणीले धेरै काहाली लान्दा क्षणहरू बिताउँनु परेको छ।हामी मुन्छेका विरोधी हैनौँ।उनीहरू छन् र हामी पनि छौँ।त्यो बुझेका छौँ। हाम्रा जातिले आरामको जीवन जिउन पाएका छैनौँ । वासस्थान फोहोर हुन्छ; हिलो हुन्छ र त्यत्तिकै दुर्गन्धित पनि। स्वास्थ्योपचारमा पनि ख्याल गरिँदैन। फेरि जब हाम्रो वध गर्ने बेला आउँछ,तब त्यहाँ आततायी काम हुन्छ। एउटा सुइराले कोखाबाट र्वाम्म रोप्दा कस्तो होला। छिटो सास जाँदैन। मुटुमा पुगेर छेडिनु पर्छ अनि मात्र वायु उड्छ।ठुलो पिडादायी चित्कार प्रवाह हुन्छ।हामी पनि एउटा जीव हौँ दुखाइको अनुभव हुन्छ। ऐँसेलुका काँडाले छिसिक्क कोर्दा पनि मुन्छेले `ऐया!´भनेको सुनेको छु भने भालाले रोप्दा कस्तो होला?हे नाथ!बध गरून्।खाऊन्।तर यातना नदिऊन् ।तड्पाइ तड्पाइ मारेको मासुले मुन्छेको स्वास्थ्यमा पनि असल गर्दैन भनेर सुनेको छु। मुन्छेले धेरै विकास गरेकोछ महिनामै 45 धर्नीका हुन सक्ने उनीहरूले नै बनाए। किन फुस्स सास जाने आधुनिक हतियार नबनाएका? धिक्कार मुन्छेलाई; एउटा जीव भएर अर्को जीवको मार्का नबुझ्ने! हे नाथ! मुन्छेलाई बुद्धि,ज्ञान र विवेक भरिदिनुहोस्।(आँसु पुछ्दै) म अब धेरै समय लिन्न बाँकी कुरा अरूले दर्साउनु हुनेछ।धन्यवाद!(ताली बज्छ)
भाले2-धन्यवाद मित्र!यहाँले आफ्ना भोगाइ राखेर जानुभयो। पक्कै पनि नाथले सुन्नु हुनेछ। अब म आफ्ना कुरा राखिदिनुहुन सुँगुर1लाई अनुरोध गर्दछु।(सुँगुर1को मञ्चमा प्रवेश)
सुँगुर1-सर्वोच्च शक्तिमान् नाथ र परमपूज्य माता!का चरणमा नमन्!सभापति महोदय!अन्य जातजातिहरू र मेरा सजाति मित्रहरू! हाम्रा पिडाका कुरा पूर्ववक्ता साथीले भनिसक्नु भयो।कुरा तिनै हुन्।अब एउटा सकारात्मक कुरा चैँ के छ भने हामी बिस्तारै अब “विप्र पाकशालामा अपग्रेड”हुन थालेका छौँ। हिजोसम्म अछुतको बिल्ला भिरिन्थ्यो।अब सुधारको सङ्केत देखिँदैछ।सबै त म भन्दिन तर दर बढ्दै छ।विहीबारे,माङ्लबारे बजारमा गएर हेर्दा यसको पुष्टि हुन्छ। “साइँला मलाई आधा किलो,एक किलो……”भनेर पानीकागत कच्याककुचुक पारेर कसैले देख्छ कि भनेझैँ गरेर फुत्त पालेको दृष्यले हामी पनि केही रहेछौँ जस्तो गर्बिलो अनुभव हुन्छ। हामीलाई लोकल भन्छन्।ढिलो बड्छौँ तथापि स्वादिष्ट हुन्छौँ अरे। हामी लोकलको सङ्ख्या घट्दै छ। यो राम्रो होइन। यसो गर्दा मुन्छेलाई भलो हुँदैन। लोकल पनि संरक्षण गर्नुपर्छ।अरु कुरा पहिलेकै सदर छन्। (एक छिन रोकिन्छ) म अब मेरा दुई शब्द टुङ्ग्याएँ।धन्यवाद।(ताली बज्छ)
भाले2-अाफ्ना सारगर्भित भनाइ राखेर जानुभयो सुँगुर1जी धन्यवाद छ।म फेरि छोटोमा आफ्ना कुरा राखिदिनु हुन घोडालाई अनुरोध गर्दछु।
घोडा-सर्वाधिपति नाथ तथा माताजी!सभानायक!म के भन्नु र!हाम्रो त अब सङ्ख्यै छैन। सोलुतिरका शेर्बाहरूका घरका खुब रमाइन्थ्यो।चुनाउमा उनीहरूलाई बोकेर यतातिर कति आइयो।पैसाका तोपा बोक्ने गरिन्थ्यो।के गर्नु !ऐले चारपाङ्ग्रे, दुइपाङ्ग्रेमा चढेर हिँड्छन् मुन्छे।काम चला भाँडो आफल तेरो ठाँडो जस्तो भैयो। अँ अरू के भन्नु र। जैविक विविधता संरक्षण गर्नुपर्छ। त्यसो भएको हुनाले पनि हाम्रो जाति नमासियोस् भन्ने मेरो माग रहेको छ । भावी पुस्ताले पनि हाम्रो काम रुप र विशेषताका बारेमा बुझ्नुपर्छ। त्यस कारण हाम्रो पनि संरक्षण हुनुपर्छ। यति भन्दै म मेरा भनाइ यहीँ अन्त्य गर्छु।(ताली बज्छ।)
भाले2-अब म आफ्ना भनाइ राख्न बाख्रो1लाई बोलाउँछु।
बाख्रो1-महामहिम तथा शक्तिस्वरुपा माताजी नमन । सभाध्यक्ष महोदय! म यो मञ्चमा उपस्थित भएर बोल्न पाउँदा खुसीको सिमा छैन । म धेरै समय लिन्न। मुन्छे कति विवेकहीन हुन्छन् भन्ने मैले देखेकी छु। मेरी साइँली फुपू खुरुखुरु बार बेत ब्याइन्। जोरैजोर पाउँथिन्।धेरजसो बोकैबोका हुन्थे। लच्छिनकी थिइन् ।बुढी भइन् । ढाडका भुत्ला खुइलिएर छाला मात्रै थियो। त्यस्तालाई पनि काटे ! एक चोटमा छिनाएनन्।प्याप्या गरिन्। तिनखेपमा मुन्टो छुट्ट्याए! (तरक्क आँसु छार्छ) हे नाथ!पेटमा नानी भएकालाई पनि यी मुन्छे विचारै नगरी काट्छन्। यस्तो कुकृत्य अब नगरून्। वृद्ध भएपछि त विशेष स्याहार पो हुनुपर्ने हो, तर यी हामीलाई काटकुट पो पार्छन्। आत्मा त सबैको एउटै हो।हाम्रा पुरुषहरू त काटिनेनै हुन्।खाँदा आपत्ति छैन।खानैका लागि हो के भो र!हामी स्त्री जातिहरू अझ वेत बसे पछि छप्क्याउन पाइँदैन। रोक्नुपर्छ।ठिटीहरू,मसिनाहरू र नब्याउनेहरूबाट भान्छा खुलाऊन् । मैले समय धेरै लिएँ क्यार!माफ मागेँ।यहीँ मेरा कुरा अन्य गरेँ।(ताली बज्छ)
भाले 2-धन्यवाद छ उहाँलाई!म फेरि भेडाजीलाई आफ्ना कुरा राखिदिनुहुन अनुरोध गर्दछु।(ताली बज्छ)
भेडा-हाम्रा पतिदेव दम्पति नमन! सभानायक नमन! उपस्थित विद्वान् विदुषी नमन!
म भेडो। एकोहोरो स्वभाव छ मेरो।अघिकाले जे गरो त्यै गर्छौँ हामी भनेर मुन्छे भन्छन्।हामी ऐले सङ्कटमा पुग्यौँ।गुरुङजीहरूले हामीलाई छोड्दै ल्याए।ऐले एका दुई घरघरमा छौँ। पैलेपैले कत्रो ताँती हुन्थ्यो हाम्रो! हिउँदमा औल झरिन्थ्यो। बर्खा माथिमाथि शैलुङसम्म पुगिन्थ्यो।हिमाली पाखा डुलिन्थ्यो। मुन्छेलाई आम्दानी दिन्थ्यौँ। खै ऐले? कहाँ गयो त्यो हुल? हाम्रो अस्तित्त्व संकटमा छ! घोडाजी जस्तै अल्पसंख्यक हुन लाग्यौँ!मासिनुको कारण चरन भएन।वन सामुदायिक बनेपछि प्रवेश निषेध गरियो।चर्न पाइएन।मुन्छेको बुझाइमा हामीले वन मास्छौँ भन्ने हो।”भेडा चराउँदा वन मासिँदैन”भनेर “तीर्थबहादुरजी”ले कता हो भनेको सुनेको छु।मेरो माग भनेको हामीले डुल्न पाउँनुपर्छ।हामी फाइदा दिन्छौँ।हाम्रो मासु स्वस्थकर हुन्छ। भुेटेर,पोलेर,झोल हालेर,पक्वा बनाएर खाँदा पनि खास्सा!फेरि हाम्रो भुत्ला कति चोखो हुने!मुन्छे कोराभित्र बस्ता हाम्रै भुत्ला ओछ्याउनु ओढ्नु गर्छन्!ज्वाइँ आउँदा होस् या सम्धी, अथवा सिडियो साब आउँदा पनि झटपट हाम्रै भुत्लाको आसन दिइहाल्छन् मुन्छे। दूध र घिउको उपयोगिता त कति हो कति।यस्तो उपयोगी वस्तु आज संकटमा पर्नु भनेको मुन्छेले आफ्नै खुट्मा बन्चरो हान्दैछन्।
(एकछिन रोकिन्छ)सारांशमा म के भन्छु भने हामीले सबैतिर चर्न पाउनुपर्छ।पृथ्वी सबैको साझा हो।हामी क्षति गर्दैनौँ।लाभदायी छौँ।यति भन्दै मेरा कुरा सकेँ ।धन्यवाद!
भाले2-साँच्चिकै महत्त्वपूर्ण कुराको उठान गर्नुभयो।यी कुरा मुन्छेका कानसम्म पुगून्।धन्यवाद छ!अब यसै गरि म अब बाख्रो2लाई आफ्नो भनाइ राखिदिनुहुन आग्रह गर्छु।(बाख्रो2खोक्दै रोस्टमतिर जान्छ)
बाख्रो2-हजुर म बोल्न जान्दिन।कहाँ गएकी छु र!सबैलाई दन्डवत नमस्कार छ।के भन्नु खै!मुन्छेले हामीलाई खानै पालेको भए पनि भोक तिर्खा हेर्नुपर्छ।अँगेरी खाएका बेलामा घाँटी रेटी नहालून्।ओखती गरून्।ब्याउने छ कि छैन भनेर बडो सोचविचार काटून्।एकै चोटमा छिनाऊन्।प्याप्या नपारून्।बस्।मेरो यत्तिनै हो।(नमस्कार गरेर जान्छ)
भाले2-म खसीलाई बोलाउँछु।खसीजी!
खसी-परमप्रभू तथा देवीजी!सादर ढोग!सभापति महोदय!मलाई तेत्रो गुनासो छैन,तथापि बध गर्दा पीडारहीत गरून् भन्ने हो।मलाई दानापानी राम्रै दिन्छन्।चाकर छ। राम्रा कुरालाई राम्रै भन्नुपर्छ।अर्को कुरा के छ भने चेपुवा भित्र दाना छिराएर बसिलाले ठ्याङठ्याङ पार्दा पीडा असैह्य हुन्छ।तेतिबेलाको हाम्रो चित्कार सुनेर मुन्छे हाँस्छन्।अब त्यसो नहोस्।प्रविधिको विकास भैसकेको छ।त्यसको प्रयोग गरून् भन्ने मेरो माग रहेको छ।धन्यवाद!मेरा कुरा यहीँ सकेँ।(ताली बज्छ)
भाले2-अब म भैँसीजीलाई छोटकरीमा आफ्ना भनाइ राख्न अनुरोध गर्छु।
भैँसी-सर्वमान्य महाप्रभु कोटीकटी नमस्कार!
अादरणीय सभानायक नमस्कार।मेरो भन्नु त खासै केही छैन।एउटा दुइटा कुराचैँ के भने हामी धेरै चर्को घाम नखप्ने प्राणी हौँ।आवश्यता अनुसारको हामीलाई सँयालमा राखिनुपर्छ।आहाल बसाउँनुपर्छ।थलो सोहोर्नुपर्छ।अघाउजी खान पाउनुपर्छ।हाम्रा सन्तानले मनग्ये दूध खान पाउनुपर्छ।कुनै पनि किसिमको यातना पाउनु हुँदैन।यति भन्दै मेरा कुरा यहीँ अन्त्य गर्छु धन्यवाद!(ताली बज्छ)
भाले2-अब म गोरुजीलाई आफ्ना भनाइ प्रस्तुत गरिदिनुहुन अनुरोध गर्दछुु।
गोरु-सर्वमान्य त्रिलोकेश्वर एवं शक्तिस्वरुपा जगज्जननी!र सभानायक महोदय!म धेरै बोल्न कहाँ सक्छु र साउनभरि मैकुको लुँडी पल्टाउदा पल्टाउदा हत्तुहरान भैएको छ।तर पनि केही कुरा त राख्छु।तै बोल्न थालेपछि आउँछन् कि।(एकछिन रोकिन्छ) अँ के भने हामीलाई काम पर्दा कतिले राम्रै खान दिन्छन्: कतिले भने भोकभोकै जोत्छन्। त्यसो गर्न पाइँदैन। जोत्न नसक्दा कैयौँ ड्याम खानुपर्छ त्यो अन्याय हो।तिर्खै भोकै बिहानदेखि बेलुकासम्म खट्दा कस्तो हुन्छ!हामीलाई थाहा छ।सकुन्जेल हाम्रो काम खान्छन् मुन्छे, जब बूढो भइन्छ तब कौडीका भाउमा बेचिन्छौँ।पराल मकमक्याउन थालेपछि आफ्नो थातथलो चटक्क छाडेर देम्लीटारको पुल तर्दा यो मन कति रुन्छ होला।(भक्कानिन्छ।आँसु झार्छ तरक्क)हामीले आफ्नैै गाउँमा मर्न पाउँनुपर्छ।बूढो हुँदा कमलो खान तातामा बस्न पाउनुपर्छ।हेला र तिरस्कार होइन।म मेरा कुरा यतिमै सकेँ धन्यवाद।(ताली बज्छ)
भाले2-अाजका यो भेलाका अन्तिम वक्ताका रुपमा राँगोजीलाई छोटकरीमा आफ्नो मन्तव्य राख्न अनुरोध गर्छु।यसपछि मान्य प्रमुख अतिथिबाट विशेष सम्बोधन हुनेछ।
राँगो-परमप्रभु तथा जननीजीका चरणकमलमा ढोग!सभापतिज्यु र उपस्थित महानुभावहरू!हामी मुन्छेबाट प्रताडित छौँ।वधशालामा हाम्रो बहुतै अत्त्याचार हुन्छ।बन्चराले ठ्याङठ्याङ टाउकामा हान्छन्।ठुलो जिउ भएकाले हामी ढल्दैनौँ।धेरै पीडाबोध हुन्छ।आँखाबाट आगाका फिलुङ्गा निस्कन्छन्।निक्कै चोटमा हामी ढल्छौँ।ढलेपछि सेर्न थाल्छन्।त्यस्तो काम मुन्छे जस्तो चेतनशील प्राणीलाई सुहाउने कुरो होइन।सुँगुरजीले भनेजस्तै आधुनिक प्रविधिको विकास गरी बध होस्।खानु हुँदैन हामी भन्दैनौँ।खानू।मैदाका पिठाभित्र बेरिएपछि “बाफमा पाकेका डल्ला”ब्राह्मण जातिका लागिसमेत ओठैमा झुन्डिन थालेबाट के पुष्टि हुन्छ भने हामी महत्त्वपूर्ण “मांश-स्रोत”रहेछौँ।यस्तो योगदानी वस्तुलाई किन हेला!ओसारपसारमा पनि ठुलो दुख दिन्छन् हामीलाई।अब त्यसो नगरून्।चटक्क काटुन्।मीठो गरि खाऊन्।मेरो मुन्छेसँग यही आग्रह छ।समयको अभावले मेरा भनाइको अन्त्य यहीँ गरेँ।धन्यवाद!(ताली बज्छ)
भाले2-धन्यवाद राँगोजी!अब विशेष अतिथिका रुपमा यहाँ विराजमा हुनुभएका महाप्रभुबाट हामीलाई सम्बोधन बक्स हुनेछ।उहाँबाट के कस्तो आशयको मर्जी हुन्छ सोही अनुरुपको “लोस्कु घोषणापत्र” जारी हुन्छ।म नाथसमक्ष सम्बोधन बक्सका लागि आग्रह टक्र्याउँछु।(जोडले तालीको पर्रा छुट्छ।पटका पट्कन्छन्।बेलुन उडाइन्छन्।फुल बर्षाइन्छ।बन्दुक पड्केको आवाज आउँछ।क्षणिक भरमै वातावरण शान्त हुन्छ।प्रभुको रोस्टममा प्रवेश हुन्छ।)
किरातेश्वर-मेरा समस्त अनुचर! कोमलाङ्गिनी! सभापति! मैले सबैका पीडा सुनेँ। यत्रो प्रगति गरेको मुन्छेले विचरा तिमीहरू सोझा निरीह प्राणीमाथि गरेको क्रुर अन्यायले मेरो र मेरीको मुटु छियाछिया भएको छ।ती मुन्छेलाई”रौरव”मा सिट पक्का छ। म सिधै के पो गर्न सक्छु र!भनाइमा मात्र “पशुपतिनाथ”भन्छन्। मैले भनेको टेर्दैनन्। वाग्मतीका छेउमा राखेका छन्। हिन्दी बोल्नेले बिहानै फोहोर पानी टाउकाबाट त्यै मुन्तिरको खन्याउछन्। आफू भने कास्मिरको “मिनरल वाटर”खान्छन्। गँजडीले तानेको गाँजाको धुवाँले यिनलाई पनि (इसारा गर्दै)खोकी लाग्छ। जिउ चिलार एलर्जी भैसक्यो। के गर्नू! तिमीहरूको पीडा त म सुन्छु। मेरो कल्ले सुन्ने!(प्रभुको गला अवरुद्ध हुन्छ।सबैका आँखा रसाउँछन्।)कतै मानसरोवरतिरै जाऊँ कि भन्ने मन पनि हुन्छ। फेरि तिमीहरूको माया लाग्छ। हिमालतिरै जाऊँ भन्दा घरज्वाइँ बस्यो भन्छन्।मलाई पनि शुख छैन।यिनलाई पनि छैन।”कुमारे र गणेशे” पनि कहाँ मुन्टिन्छन्।”मुसो र मुजुर”भएपछि जहाँ जाँदा पनि भैगयो।यसो कतै जाऊँ भनो बसाहा दुब्लो न दुब्लो भएको छ।घाँसमा धुलै धुलो हिलै हिलो!के खावस् र!मृगस्थलीतिर मिर्गैले केही पलाउन दिँदैनन्।भोजपुरे “प्रपन्नाचार्य”हुँदा केही आडभरोसा थियो।उनी बितिगए।को छन् र!पून्यजीहरूले तिनै भोजपुरेलाई ल्याएको यो लोस्कु भन्ने ठाउँमा मलाई आउँन मनचैँ थियो। झन् यो भेलाले आउँन सजिलो भयो।(रोकिएर)म अलि आफ्नो कुरा गर्न पुगेँ।तत्कालै त म केही गर्न नसकौँला तथापि ती निर्दयी मुन्छेको नाउँ “कलेक्सन”गरेर “यमराजजी”लाई इमेल पठाउछु। ढुक्क होओ। यहाँ तिमीहरू आफैँ संगठित हुनू। साम्प्रदायिक विभेद नगर्नू।सहिष्णु बन्नू।अर्काको ख्वाइप्याइको निन्दा नगर्नू। कामको निन्दा नगर्नू।अप्ठ्यारामा लाप्पा नखेल्नू।अकालमा गुर्क्यौला। मेरा कुरा यिनै हुन्।साझा घोषणा पत्र तयार पार्नू।म धेरै बोल्दिन।म केही शक्तिअंश यतै छोड्छु।ल त!(नेपथ्यबाट हाहाहुहु गरेको मुन्छे आवाज आउँछ।आवाज बढ्दै जान्छ।क्षणभरमै हातमा घोचाघारा बोकेका मुन्छे मञ्चमा प्रवेश गर्छन्।किरातेश्वर सपत्नि अलप हुन्छन्।लाठीको वर्षा हुन्छ।बोका,राँगा,खसी,सुँगुर आदि काँकाँ र किँकिँ रुन थाल्छन्।भयानक दृष्य सिर्जना हुन्छ।
कोलाहल मच्चिन्छ।…………सुस्तसुस्त पर्दा बन्द हुन्छ)
                             लेखक: शम्भु निरौला- शिक्षक/जन कल्याण उच्च माध्यमिक विद्यालय जुबु, सोलुखुम्बु ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!