नेपाल पहिलो चरणको च्याम्पियन

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को उपाधि जित्यो । प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरविरुद्ध वर्षाले खेल बिथोलेपछि नेपाल रनरेटका आधारमा विजेता बनेको हो । यससँगै नेपाल छनोटको अर्को चरणमा प्रवेश गर्यो ।

प्रतियोगितामा नेपाल आफूभन्दा निकै तल्लो श्रेणीको टोलीसँग भिडेको थियो । ६ खेलमा ५ जित र १ बराबरी निकालेको नेपालले प्रतियोगिता अवधिभर संघर्ष गर्नु परेन । म्यानमार र मलेसियालाई ८ विकेटले पराजित गरेको नेपालले थाइल्यान्डलाई १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको थियो । कमजोर भुटानलाई १ सय १७ रन र चीनलाई १० विकेटले पराजित गर्दै नेपालले स्तरभिन्नताको उदाहरण प्रस्तुत गरेको थियो । यस प्रतियोगिताको शीर्ष तीन स्थानमा रहेर नेपालसहित सिंगापुर र मलेसिया अघिल्लो चरणमा प्रवेश गरे ।

नेपाल समूह ‘बी’ बाट छनोट भएजस्तै समूह ‘ए’ बाट यसअघि नै संयुक्त अरब इमिरेट्स (यूएई), कतार र कुवेत पनि अर्को चरणका लागि छनोट भइसकेका छन् । अब दुवै समूहका छनोट भएका टोलीबीच क्षेत्रीय छनोट हुनेछ । प्रतियोगिता हुने स्थान र मिति भने तय भएको छैन । यस प्रतियोगिताको शीर्ष दुई टोलीले अन्तिम छनोट प्रतियोगितामा स्थान बनाउनेछन् ।

विश्वकप आयोजक अस्ट्रेलियासहित शीर्ष १० राष्ट्र सिधै विश्वकपका लागि छनोट हुनेछन् । पछिल्लोपटक विश्वकप खेलेका र आईसीसी वरियतामा १० देखि १६ औं स्थानमा रहेका टोलीहरुले छनोटको अन्तिम चरणमा स्थान बनाउने छन् । यसका लागि ३१ डिसेम्बर २०१८ को वरियतालाई आधार मानिनेछ । एसियाको अन्तिम छनोटबाट २ टोली अगाडी बढेजस्तै युरोप र पूर्व एसिया प्यासिफिकको १-१ तथा अफ्रीका र युरोपको २-२ टोलीले छनोटमा भाग लिनेछन् ।

क्षेत्रीय छनोटका ८ टोली र टि-२० वरियताका १० देखि १६ औं स्थानका ६ टोली गरेर कुल १४ टोलीले विश्वकप छनोटको अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगिताका शीर्ष ६ टोलीले अस्ट्रेलियामा हुने टि-२० विश्वकपमा सहभागिता जनाउनेछन् । सन् २०२० को अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म हुने टि-२० विश्वकपमा १६ टोलीको सहभागिता रहनेछ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.