जाँडो मौसममाऔँला सुन्निने  कारण र बच्ने उपाय 

काठमाडौँ — जाडो बढेसँगै मेची–महाकाली सबैतिरका प्राय: मानिस हातखुट्टाका आैंला रातो भएर सुन्निने समस्या झेल्न थालेका छन् । यो समस्याको मारमा पुरुषको दाँजोमा महिला बढी पर्ने गरेका छन् ।

चिकित्सकीय भाषामा ‘चिलब्लेन्स’ भनिने यो समस्याले बूढापाका र बालबालिकालाई समेत सताउने गरेको छ । यसलाई ‘परनियोसिस’ समेत भनिन्छ । अझ जाडो याममा उपयुक्त हत्केला र अनुहार नछोपी मोटरसाइकल/स्कुटर चलाउनेहरू, चिसो/ओसिलो ठाउँमा काम गर्नेहरूलाई समेत यो समस्याले पिरोल्ने गरेको छ ।

‘हातखुट्टाका औँला मात्र नभई, नाक, कानको लोती, गाला, तिघ्रा, नितम्ब, नली हाड आदिमा समेत यो समस्या हुने गर्छ,’ धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, ‘यो पीडादायक भए पनि चिकित्सकीय रूपमा सामान्यै समस्या हो ।’

सामान्य रूपमा समाजमा यो समस्यालाई चिसोले आैंला, नाक, कान, गाला आदि रातो, बैजनी भएको भनिन्छ ।

चिलब्लेन्स मुख्य रूपमा हातखुट्टाका औँला, नाक, गाला र कानमा हुन्छ । यो रातो वा बैजनी रंगको छालाको फुटाइ वा दागका रूपमा देखिन सक्छ । यो सुन्निनुका साथै चिलाउनेसमेत हुन सक्छ । यो फोकाका रूपमा वा घाउका रूपमा समेत देखिन सक्छ ।

मुख्यत: चिलब्लेन्स पीडायुक्त, पोल्ने, कन्याउने खालको रातो र बैजनी दाग हो । यो हातखुट्टाका औँला, नाक, कान, गाला आदिमा हुन्छ ।

हाम्रो मुलुकमा सामान्यत: जाडो याममा देखिने सामान्य समस्या हो । यो समस्या जुनसुकै उमेरकाहरूलाई हुन सक्ने औंल्याउँदै डा. कर्ण भन्छन्, ‘तर यो महिला, बालबालिका र बूढापाकामा बढी देखिन्छ ।’
केही व्यक्तिलाई यो समस्या त्यति खेर देखिन्छ जब शरीरका आैंला, नाक, कानको लोती लगायतका भागहरू चिसोले प्रभावित भएपछि एक्कासि न्यानो पारिन्छ ।

तपाईंको छाला चिसोले प्रभावित भएपछि यसलाई बिस्तारै तताउनुस्, किनभने एक्कासि चिसो छालालाई तताउँदा चिलब्लेन्सलाई झन् बिच्काए जस्तो हुन्छ ।

डा. कर्णका अनुसार, बर्सेनि यो समस्या दोहोरिरहनेहरूले विशेषज्ञको सल्लाहमा केही खास परीक्षण गराउनुपर्ने हुन सक्छ । छालाको बाथ, रक्तनलीको समस्या, जीर्ण किसिमको कलेजोको बिरामी, केही किसिमको रगतको समस्या भएकाहरूमा बर्सेनि यो रोग हुन सक्ने सम्भावना हुन्छ ।

किन हुन्छ ?
किन केही व्यक्तिको छाला चिसोको सम्पर्कमा आउँदा उनीहरूलाई चिलब्लेन्सको समस्या देखिन्छ भन्ने अझै स्पष्ट छैन । छालाको तल भएका ससाना रक्तनली छाला चिसो हुँदा खुम्चिन्छ । यस्तो हुँदा छालाको त्यो भागमा रगतको सञ्चार निकै बिस्तारै हुन्छ ।

पुन: छाला तातेपछि रक्तनलीबाट केही तरल पदार्थ तन्तुहरूमा चुहिन्छ । पछि यही सम्बन्धित भाग सुन्निँदै जान्छ र यही चिलब्लेन्सको कारक बन्छ ।

तापक्रममा परिवर्तनको गतिले यसमा भूमिका खेल्न सक्ने औंल्याउँदै डा. कर्ण भन्छन्, ‘केही व्यक्ति आफ्नो चिसो छाला तुरुन्त तताउँदा चिलब्लेन्सको सिकार हुन सक्छन् ।’

जोखिममा को ?
यो समस्या सामान्य रूपमा स्वस्थ व्यक्तिलाई समेत हुने गर्छ । तर धूमपान गर्ने, मधुमेही, चिलब्लेन्स हुने पारिवारिक इतिहास भएकाहरू, कमजोर रक्तसञ्चार भएकाहरूलाई यो समस्या हुने बढी सम्भावना रहन्छ ।
चिसोको सम्पर्कमा आएको धेरै घण्टापछि समस्या हुन सक्छ । प्रत्येक चिलब्लेन्स करिब एक सातासम्म रहिरहन्छ र साता दिनमा बिस्तारै कम हुँदै जान्छ ।

रगतमा युरिक एसिडको मात्रा बढी भएकाहरूलाई चिलब्लेन्स हुने सम्भावना करिब ४० प्रतिशतसम्म बढ्ने गरेको पाएको डा. कर्ण बताउँछन् । दुब्लापातला व्यक्तिहरू यो समस्यामा बढी पर्ने गरेका छन् ।

जटिलता
सामान्यत: यसमा कुनै जटिलता देखिँदैन । यो निको भएपछि कुनै दागसमेत रहँदैन । तर केही जटिलता कहिलेकाहीँ देखिन पनि सक्छ । यसअन्तर्गत छालामा संक्रमणको विकास हुनु एउटा हो । तर यो तपाईंले कन्याउँदा सामान्य रूपमा हुने गरेको हो ।

छाला माथि भएका हानि नगर्ने कीटाणुहरू शरीरभित्र प्रवेश गर्दा यो समस्या देखिन्छ ।
केही केसमा चिलब्लेन्स भएको छालामा फोका उत्पन्न हुन्छ । यसले गर्दा यो समस्या निको हुन समय लाग्छ ।

छालामा सानो घाउसमेत बन्न सक्छ जो संक्रमण हुने सम्भावनाको कारक हुन्छ । तर केही केसमा चिलब्लेन्स दीर्घकालीन समस्याका रूपमा समेत पाइने गरेकोऔंल्याउँदै डा. कर्ण निरन्तर चिसोमा बस्नुपर्नेहरूमा योहुने गरेको बताउँछन् ।

उपचार
यसमा खासै कुनै उपचारको आवश्यकता हुँदैन । चिलब्लेन्सको समस्या देखिए प्रभावित अंगहरूलाई चिसोबाट जोगाउनु नै सबैभन्दा महत्त्वपूर्ण उपचार हो । यसले कुनै स्थायी क्षति उत्पन्न गर्दैन । पुन: चिसोको सम्पर्कमा नआए यो आफैं निको भएर जान्छ ।

यो समस्याले प्रभावित क्षेत्रलाई न्यानो राख्नुपर्छ । धूमपानले यो समस्यालाई बढाउन सक्छ । यसैले समस्या भएकाहरूलाई धूमपान गर्नु हुन्न । दुखाइ कम गर्न पारा सिटामोल उपयोग गर्न सकिने औंल्याउँदै डा. कर्ण भन्छन्, ‘यो समस्या छ भने चिसोमा बाक्ला मोजा, पञ्जालगायतका उपाय नगरी बाहिर निस्कनु हुँदैन । प्रभावित ठाउँमा कन्याउनु हुँदैन ।’

दुईतीन सातापछि पनि समस्या निको नभए, छालबाट पीप बग्न थाले, मधुमेहीहरूमा यो समस्या देखिए चिकित्सकीय सल्लाह अत्यावश्यक मानिन्छ । मधुमेहीहरूले लापरबाही गर्दा हातखुट्टाका आँैलामा अल्सर एवं गेगरिनसमेत हुन सक्छ ।

यो समस्यामा औषधि सामान्यत: आवश्यक नभए पनि बढी समस्या देखिए विशेषज्ञको सल्लाह लिन सकिनेछ  ।

बचाउ
चिसोबाट बच्नुस् ।
धूमपान नगर्नुस् ।
पानी प्रतिरोधी जुत्ता लगाउनुस् ।
दुईतीन तह भएको न्यानो पार्ने लुगा लगाउनुस् ।
बाक्लो मोजा/पञ्जा उपयोग गर्नुस् ।
हात, खुट्टा, अनुहारलाई सुक्खा र न्यानो राख्नुस् ।
कार्यस्थल र घरलाई उपयुक्त रूपमा न्यानो पार्नुस् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!