भरियाबाट धावक बनेका सुमन : भारी बोक्दा बलिया भएका मांशपेसीले दौडन सजिलो

काठमाडौं – ११ वर्षको उमेरमा पहिलो पटक विद्यालय जाँदा उनी दौडेरै विद्यालय पुगे । तर त्यो दौडाई खुशीको नभई बाध्यताको थियो । गोठबाट विद्यालय पुग्न नदौडी धरै थिएन । बिहानभर गाईभैंसीको स्याहार गरेर बिहान ९ बजेपछि उनी विद्यालय दौडन्थे ।

उनी अर्थात सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–५, गुदेलका २७ वर्षीय सुमन कुलुङ सम्झन्छन्, ‘गोठमा त झन् कति दौडिन्थेँ कति ।’ ६/७ वर्षको उमेरदेखि गोठमा बस्न थालेका सुमन दिनभर गाईभैंसीसँगै चरनमा दौडन्थे । कुलुङले हाँस्दै भने,‘चरनमा गएका गाईका बाच्छासँग मेरो दौडने प्रतियोगिता जस्तै हुन्थ्यो, तर मै जित्थें’ ।

११ वर्षको उमेरदेखि दौडेर विद्यालय जान थालेका सुमनको पाँच वर्षपछि दौडने बाटो मोडियो । खर्चको अभावले बाध्य भएर विद्यालय छाडे, तर दौडने क्रम रोकिएन । गाउँभरिका अन्य युवाहरुजस्तै उनी पनि भारी बोक्नको लागि उकालोतिर दौडन थाले ।

विदेशीको भारी बोकेर तेङबोचे, फेरुचे, गोक्यो, रेन्जो ला पास, सगरमाथा आधारशिविर लगायतका खुम्बुका विभिन्न ठाउँमा पुगे । गोठालो, विद्यार्थी र भरिया हुँदा दौडेका तिनै सुमन कुलुङ अहिले हिमाली क्षेत्रका नामी धावक बनेका छन् । म्याराथनको दुनियाँमा अहिले उनलाई ‘हिमाली हिरो’ भनेर चिनिन्छ ।

आफ्नै दुनियाँमा दौडिरहेका सुमन १२ वर्षको उमेरमा २ कक्षामा पढ्दै गर्दा पहिलो पटक औपचारिक दौडमा भाग लिएर पहिलो भए । पहिलो पटक दौडेर एउटा कापी जितेका कुलुङको दौडने औपचारिक यात्राले एकपछि अर्को सफलता दिन थाल्यो । अहिले पनि हिमाली क्षेत्रतिर दौडने प्रतियोगिता छ भन्ने सुन्नासाथ उनी पुगिहाल्छन् । उनी सहभागी भएपछि सबैको आँखा उनीतिरै हुन्छ, त्यो उनको सफलताको उपज हो ।

विश्वकै अग्लो स्थानमा आयोजना हुने तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०१७ को उपाधि उनै सुमनले जिते । ४२ किलोमिटर दूरी रहेको प्रतियोगिता उनले ३ घण्टा ४३ मिनेट ५७ सेकेन्डमा पूरा गरेका हुन् । यो दौड सगरमाथा आधार शिविरबाट नाम्चेसम्म हुन्छ । एभरेस्ट म्याराथनमा उनी २०१४ र २०१६ मा तेस्रो तथा २०१५ मा दोस्रो भए ।
सन् २०१७ कै एभरेष्ट ट्रायल रेस अन्तराष्ट्रिय म्याराथन दौड प्रतियोगिताको उपाधि पनि सुमनकै हातमा पर्‍यो । दोलखाको जिरीदेखि सोलुखुम्वुको लुक्लासम्मको १ सय ६० किलोमिटरको दूरी उनले १८ घण्टा ५५ मिनेट ५० सेकेण्डमा पार गरे ।

२०७४ असोजमा आयोजना भएको ‘रोयल पेन्गुइन अल्ट्रा म्याराथन’ को उपाधि पनि उनैले जिते । नाम्चे बजारबाट सुरु भएर ठूलाठूला हिमाली भीर, खोच र हिमखण्ड पार हुँदै डोले, मछ्यरमो, गोक्यो हुँदै रेन्जोला पास गरेर पुनः नाम्चे बजारमै टुंगिएको ६४ किलोमिटर दूरी पार गर्न उनले सात घन्टा ३० मिनेट समय खर्चिए ।

४७ किलोमिटर लामो हिमालयन गाइड पाथीभरा म्याराथनको पनि उपाधि जितेका सुमनले पोखरा ट्रेल रेसमा दुईपल्ट पहिलो भएका थिए । ६० देशका दुई हजारभन्दा बढी धावक सहभागी हङकङको भाइब्रम ट्रेल रेसमा उनी सातौं भएका थिए ।

उनी अक्सफाम ट्रेल वाकरमा पनि दौडिसकेका छन् । उनले साहसिक दौडका लागि पोखराका रमेश भट्टचनसँग चार वर्ष प्रशिक्षण लिएका थिए । १ सय किलोमिटर लामो त्यो दौडमा ६० देशका २ हजार धावक सहभागी थिए । हिमाली भेगमा साना ठूला तीन दर्जनभन्दा बढी प्रतियोगितामा भाग लिएका उनी जित्दा मात्र हैन पछि पर्दा पनि हिरो नै बन्छन् ।

सुमन कुलुङको मूल पेसा खुम्बु क्षेत्रमा घुम्न आउने पर्यटकहरूको भारी बोक्नु हो । उनले यसरी नै जीवनका एक दशक बिताइसकेका छन् । तर उनको पहिचान भने धावकको रुपमा चर्चित छ ।

उनको अनुभवमा तल्लो क्षेत्रमा दौडनु र हिमाली क्षेत्रमा दौडनुमा निकै फरक छ । जति उचाइमा गयो श्वास उति बढ्छ । भूगोलको बनावट पनि निकै जटिल हुन्छ, भिर पाखा, ढुङ्गा, देउराली भञ्ज्याङ यी सबै त्यताका चुनौती हुन् । भारी बोकेर उकालो ओरालो गर्ने कामले दौडन सघाएको उनको अनुभव छ । ‘भारी बोक्दाबोक्दै बलिया भएका मसलहरुले दौडन सजिलो भयो’, उनले हाँस्दै भने । अनि त्यहाँको चिसो हावापानीसँग अनुकुलन हुन पनि उनका लागि फाइदा हो । भन्छन्, ‘मलाई त्यहाँको हावापानी, भिरपाखा, हिउँ सबैले चिन्छन् र त दौडन सजिलो छ ।’

उचाइमा दौडनुका जोखिम निकै छन् । सबैभन्दा ठूलो कुरा त एक्कासी उचाइमा पुग्नुपर्ने हुँदा लेक लाग्न सक्छ । हिउँमा चिप्लिने जोखिम हुन्छ । कहीँकहीँ त बाटोको डोबसमेत हुँदैन । साहसिक खेल भएकाले मज्जा पनि बेग्लै हुन्छ ।

उनलाई सबैभन्दा मजा चाहिँ पछाडि फर्केर हेर्दा अरु प्रतिस्पर्धी निकै पछाडि सकीनसकी घस्रिरहेको देख्दा लाग्छ, । त्यतिखेर आफूले जिते जस्तो लाग्छ । तर त्यो खुशीमा दौडको दूरी भुल्न नहुने उनको अनुभव छ ।

मूल पेशा भरिया छाड्न उनीसँग अहिले विकल्प छैन । ७ वर्षीय छोराका बाबु सुमनको दायित्व परिवारको पालन र छोराको भविष्यसँग पनि जोडिएको छ । दौडेर खान पुग्ने अवस्था आईनसकेको बताउने कुलुङ सिजनमा भारी बोक्ने र प्रतियोगिता हुँदा दौडने बताउँछन् ।

आफ्नो गाउँ, जिल्ला र देशको नाम संसारभर फैलाउन चाहने कुलुङ हिमालतिर हुने दौडमा संसारका जोसुकै धावकसँग दौडन सक्ने आत्मविश्वास राख्छन् । भन्छन् ‘हिमालमा दौडँदा मेरो रेकर्ड देखेर विदेशी धावकहरु अचम्म मान्छन्, मैले अझै सुधार्न सक्छु ।’

साभारः उज्यालो अनलाईन

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!