विदेशले श्रम गर्न सिकायो, मासिक ४० हजार आम्दानी

सोलुखुम्बु, पुस १४ गते । सोताङ गाउँपालिका ३ खाउसेका ध्रुव कुमार बस्नेतलाई विदेशमा गरेको मिहनेतले गाउँपालिका कै उदाहरणिय उद्यमी बनाएको छ । उहाँले विदेशमा जस्तै नेपालमा परिश्रम गरेमा विदेशभन्दा बढि कमाई गर्ने भन्दै अहिले व्यवशायीक रुपमा वेमौसमी तथा मौसमी तरकारी उत्पादन गर्नुका साथै सिकर्मी गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ । साँझ विहान प्लाष्टिकको टनेलमा तरकारी उत्पादनमा श्रम गर्ने उनी दिउँसो काठको काममा व्यस्त रहनुहुन्छ ।
२०५८ साल देखि काठको काम गर्न थालेका उहाँलाई सिकर्मी पेशावाट बाँच्न गाह्रो भएपछि २०६८ साल देखि व्यवसायीक कृषिको काम शुरु गरेको बताउनुभयो । ‘टनेल भित्र मौसमी÷बेमौसमी तरकारी फलाउछु । उत्पादित तरकारी स्थानीय बजार शिवटार सँगै व्यवसायीहरुले ठेगेर नाम्चेबजार सम्म पुग्छ ।’ तरकारीको विक्रि र काठको कामवाट आर्जित रकमले घर खर्चमा सहज भएको तथा राम्रै आम्दानी भएको बताउनुभयो ।
आफ्नै परिश्रमवाट उत्पादन हुने फलफूल र तरकारी घरमा पनि राम्रै उपयोग हुने भएकाले परिवार स्वस्थ रहेको उहाँले बताउनुभयो । ‘कृषिमा मलाई परिवारले भरपुर सघाएको छ । एक्लो ज्यान दुवैतिर त के भ्याईन्थ्यो र, परिवारको साथ पाएको छु ।’ बस्नेतसँग गाउँपालिकाले अनुदानमा दिएको कुटानी–पिसानी मिल पनि छ । मिल सञ्चालन गरेर गाउँलेको धान, कोदो, मकै लगायतका खाद्यान्न पिस्ने काम पनि बस्नेतकै काँधमा छ ।
धन कमाउने चाहनामा कतार पुगेका बस्नेतले मरुभूमीमा ३० महिना काम गरे । विदेशमा माटो किनेर पनि तरकारी उत्पादन गरेको देखेपछि उनको बुद्धिको विर्को खुल्यो । नेपालमा प्रशस्त जमिन भएका उनलाई गाउँकै जमिनले जानेर फर्कायो । ‘विभिन्न कारणले अझै सोच अनुसारको कृषि कर्म गर्न सकेको छैन् ।’ बस्नेतले भन्नुभयो–‘प्राविधिक र मलविउ जस्ता कारणले कृषिलाई अझ व्यवसायीक बढाउन सकेको छैन् ।’ स्थानीय तहले कृषि भित्रको संभावना बुझ्न सके आफू जस्ता कृषकको योजना साकार पार्न सकिने उहाका् भनाई छ ।
तत्कालिन जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा २०५१ सालमा क्षेत्रिय तालिम केन्द्र झुम्कावाट ५१ दिने कृषि तालिम लिईसकेका बस्नेतले कृषि प्राविधिकको उचित सल्लाह र सहयोग पाए अझ हौसला मिल्ने बताउनुभयो । बेमौसमी तरकारी उत्पादनको बेला प्रफुल्ल हुने उहाँको मनले प्लाष्टिक टनेल विस्तार गर्ने सोच बनाएको छ । सानैमा बुबालाई गुमाएका बस्नेतलाई आमाले दुःख गरेर हुर्काएका थिए । परिवारको एक्लो छोरो बस्नेतले घरकै दुःखका कारण कक्षा १० सम्म मात्र पढ्न भ्याए । उहाँको परिवारमा आमा र श्रीमतीको साथमा एक छोरा र एक छोरी छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!