सोलुखुम्बुका नविनको दुवै मृगौला फेल

सल्लेरी, माघ १९ गते । सोलुखुम्बुका नविन भट्टराई अस्पतालको वेडमा पल्टिरहेको थियो । खुट्टा भाँचिएर केएमसी अस्पतालमा भर्ना भएका भट्टराई अस्पतालको रिपोर्ट हेरेपछि उहाँ छाँगाबाट खसे झै हुनुभएको छ । खुट्टाको उपचार गर्न आएको भट्टराईको दुईवटै मृगौला फेल भईपछि अहिले जीवन रक्षाको याचना गरिरहनु भएको छ ।
२०७५ बैसाख २१ गतेको दिन छिमेकीको बिहेको तयारी हुँदै थियो । बिहे तयारीका लागि काठको आवश्यक पर्ने भयो । काठको जोरजाम गर्न नवीन भट्टराई तिम्सिनु भयो । पैयूँको रुखमा चढेर हाँगो काट्न थालेका नवीन एकैपटक भुँईमा बजारिन पुगेर खुट्टा भाँचिएको हो ।
‘मेरो मृगौलामा समस्या छ भन्ने कुरा मलाई थाहा थिएन, तर डाक्टरले रिपोर्ट नै देखाएपछि त पत्याउनै पर्यो, त्यसपछि जिन्दगी सपना जस्तै गरी वितिरहेको छ ।’ उहाँले भन्नुभयो ।
लामो समयको उपचारपछि खुट्टा त जोडिएको छ तर मृगौलाको समस्याले उहाँलाई कतिबेला ज्यान जाने हो भन्ने चिन्ताले सताउन थालेको छ । नवीन भन्नुहुन्छ ‘अहिले ग्रीनसिटी हस्पिटलमा डायलासिस गरिरहेको छु तर डायलासिस गरेर मात्र नहुने रहेछ । मृगौला प्रत्यारोपण नै गर्नुपर्ने रहेछ, प्रत्यारोपणका लागि म सँग पैसा छैन ।’
गाउँपालिकाको सिफारीस गरेपछि अस्पतालले डायलासिस निःशुल्क रुपमा गर्न थालेको छ । यसबाट पनि उहाँलाई निक्कै राहत मिलेको छ । प्रत्यारोपण नगरी औषधी र डायलासिसले पनि मृगौलालाई बचाउन सकिन्छ कि भनेर उहाँले कयौं अस्पताल धाइसक्नु भएको छ । तर सबै जसो अस्पतालले मृगौलाको प्रत्यारोपण नै गर्नुपर्ने बताएपछि यत्तिबेला उहाँ आर्थिक सहयोग खोजिरहनु भएको छ ।
सोलुखुम्बु स्थित थुलुङ दुधकोशी गाउँपालिका २ मा रहेको कालिका मावि पञ्चनमा कक्षा १२ मा अध्ययनरत नवीनले पढाईलाई समेत निरन्तरता दिन सक्नु भएको छैन । बीस वर्षिय नविन अहिले शैक्षिक प्रगतिको सपनाभन्दा बढि जीवन रक्षा गरिदिन सबैसँग आग्रहमा लाग्नु भएको छ ‘अहिले त पढाई भन्दा पनि म कसरी लामो समयसम्म बाँच्न सक्छु भन्नेमै चिन्तित छु । यदि सबैको सहयोगले मैले मृगौला प्रत्यारोपण गर्न पाएँ भने त्यसपछि पढाईका बारेमा सोचौंला ।’ गहभरि आँशु पार्दै उहाँले भन्नुभयो‘पढाईको बारेमा सोच्न पाएको छुईन । जीवन रहेभने त पढ्न पाईने हो ।’
नविनको मृगौला प्रत्यारोपन गर्नुपर्ने भएपछि उहाँका दाई बैदेशिक रोजगारीको लागि कतार जानु भएको छ । भाईको उपचारका लागि भनेर विदेशीन बाध्य भएका दाईको कमाई र काम पनि राम्रो हुन नसकेको नविनले बताउनु भयो ।
कहीं कतैबाट सहयोग प्राप्त भइहाल्छ कि भनेर उहाँले आफ्नो नाममा प्रभु बैंकमा खाता खोल्नुभएको छ । उहाँले भन्नुभयो–‘मलाई अरु मानिस जस्तै लामो समयसम्म बाँच्ने मन छ, तर मृगौला प्रत्यारोपण गर्न पुग्ने पैसा छैन । त्यसैले यहाँहरुको सहयोगले बाँच्न सफल भएँ भने म देशको असल नागरिक भएर तपाईले लगाउनुभएको गुण चुक्ता गर्न चाहन्छु’ उहाँले सबैसँग सहयोगको याचना गर्नुभयो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!