मोबाइलबाटै पानी तान्न र बन्द गर्न शुरु

२७ माघ/दमौली : पानी चढाउन र बन्द गर्न न पानीको मुहानमै पुग्नुपर्छ न समयमै नपुग्दा ट्याङ्की भरिएर जाने डर नै हुन्छ । मोबाइल प्रबिधि प्रयोगमा ल्याएपछि घरमै बसी बसी पानी चढाउने र बन्द गर्ने काममा सहज भएको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ मा मोबाइल प्रविधि मार्फत खानेपानी वितरण सुरु गरिएको हो । हालै सम्पन्न दरकाम खानेपानी योजनाको पानी मोबाइलको माध्यमबाट चढाउने र बन्द गर्ने व्यवस्था मिलाएको उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

समितिले मोबाइलको निर्देशनबाट पानीको धारा अन अफ गर्न सकिने सिम बक्स खानेपानीको ट्यांकीमा जडान गरेको छ । मोबाइल नम्बर हानेपछि प्राप्त हुने निर्देशन अनुसार नम्बर डायल गरेपछि ट्यांकीमा पानी चढ्ने अध्यक्ष थापाले बताउनुभयो । “मोबाइल नम्बर हानेर प्राप्त निर्देशन अनुसार डायल गरेपछि २२ सेकेन्डमा ट्यांकीमा पानी चढ्छ, बन्द गर्न पनि समय लाग्दैन । त्यो मोबाइल निश्चित एक व्यक्तिसँग मात्रै हुन्छ’ थापाले भन्नुभयो ।

उहाँलाई समितिले मासिक २ सय रुपैयाँ दिने गरेको छ । उहाँका अनुसार मोबाइलको टावर भएको जुनसुकै स्थानबाट डायल गरेर पानी तान्न र बन्द गर्न सकिन्छ । खानेपानी योजना ३७ लाखको लागतमा सम्पन्न भएको हो । स्थानीयबासिन्दालाई स्वच्छ खानेपानी पु-याउने लक्ष्यका साथ २०७३ साल असारबाट खानेपानी योजना निर्माण सुरु भएको थियो ।

खानेपानी योजनाको लागि सांसद विकास कोषबाट १० लाख, नेपाल विद्युत् प्राधिकरणबाट १२ लाख, शुक्लागण्डकी नगरपालिकाबाट १० लाख रुपैयाँ विनियोजन भएको थियो भने उपभोक्ताले २ लाख ५५ हजार बराबरको श्रमदान गरेका थिए ।

मुहानदेखि २ सय ९० मिटरमाथि लिफ्टिङ प्रणालीबाट ट्यांकीमा पानी संकलन गरिएको छ । खानेपानी योजनाबाट दुई सय घरधुरी परिवार लाभान्वित भएको अध्यक्ष थापाले बताउनुभयो । योजना सम्पन्न भएपछि प्रत्येक घरमा पानीको मिटर जडान गरी पानीको वितरण सुरु गरिएको छ ।

-https://washkhabar.com

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!