गर्भपतनको डरलाग्दो तस्विर

‘बुढेसकालको सहारा पनि चाहिन्छ, मरेपछि किरिया कसले गर्छ छोरा नभए ?’ बर्षदिनमै किन तीनपटक गर्भपतन गराएको भन्ने प्रश्नमा सोनुको उत्तर हो यो ।

‘आफ्नो पेटमा भएको बच्चा आपूmले चाहे जसरी जन्माउदा र फाल्दा अरुलाइ के भो त ?’

गाउँमा विवाह गर्नुपूर्व धामीझाँक्री तथा ब्राहमणकहाँ पुगेर हात हेराउने चलन छ । धामीझाँक्री र हात हेराउने जोतिषले छोरा जन्मिने भविष्यवाणी गरिदिएछन् ।

चार सय रुपैयाँ पर्ने औषधिलाई मेडिकल संचालकहरुले १५ सय देखि ३ हजार सम्म लिने गरेका छन् ।

वझाङकी सोनु अधिकारी (नाम परिवर्तन) २६ बर्षकी भइन् । २१ बर्षको उमेरमा उनी छोरीको आमा बनिन् ।

परिवारले छोरी रुचाएन । कारण श्रीमान देखि सासुसम्मलाइ छोराको आश थियो ।

छोरी हुर्किएपछि गत वर्ष माघ यता मात्र उनले तीनपटक गर्भपतन गराइन् । दोस्रो सन्तान छोरा जन्माउने आशमा उनले भ्रुण पहिचान गरेर दुई पटक सुरक्षित र एकपटक असुरक्षित गर्भपतन गराइसकेकी छन् ।

२५ बर्षिया सुस्मा धामी (नाम परिवर्तन) ले एक बर्षको अवधिमा २ वटा गर्भपतन गराइसकेकी छन् ।

पहिलो सन्तान छोरी जन्मिएपछि घर परिवारले छोरा नभएको भन्दै घृणा गर्न थाले । परिवारको प्यारो हुन छोरा जन्माउनै पर्ने वाध्यता छ सुस्मालाई । भन्छिन्, ‘त्यसैले डाक्टरले छोरी छ भनेपछि फालिदिएँ, दुईपटक भो फालेको ।’

छोरा नहुनेलाई वझाङसहित सुुदुरपश्चिमका अधिकांश क्षेत्रमा हेपेर अपुतो भन्छन् । अपुतोको डर छोप्न यहाँका अधिकांश महिला लिंग पहिचान भइसकेपछि समेत गर्भपतन गराइरहेकाछन् ।

बर्षमा तीनपटक सम्म गर्भपतन गराउदासमेत उनीहरुमा स्वास्थ्य र आफ्नो अपराधप्रति चिन्ता छैन । वुढेशकालको साहरा र अपुतो नहुने आशमा महिलाहरु लहडमा छोराको आशसहित असुरक्षित गर्भपतन गराइरहेकाछन् ।

‘बुढेसकालको सहारा पनि चाहिन्छ, मरेपछि किरिया कसले गर्छ छोरा नभए ?’ बर्षदिनमै किन तीनपटक गर्भपतन गराएको भन्ने प्रश्नमा सोनुको उत्तर हो यो ।

सोनु र सुस्मा जस्ता अधिकांश महिला पुरातन मान्यता र स्वास्थ्य शिक्षाको अभावमा सहमतिमै गर्भपतनमा सक्रिय छन् । उनीहरुमध्ये अधिकांशलाइ लिंग पहिचान गरी गरिने भ्रुण हत्या अपराध हो भन्ने समेत थाहा छैन ।

सोनु उल्टै प्रश्न गर्छिन, ‘आफ्नो पेटमा भएको बच्चा आफुले चाहे जसरी जन्माउदा र फाल्दा अरुलार्इ के भो त ?’

वझाङलगायतका बिकट पहाडी जिल्लाका गर्भवती महिला स्वास्थ्य परीक्षणका लागि भारतको पलिया पुग्छन् । चिकित्सकले एक पटक जाँच गराउदा पाँच हजार रुपैया लिन्छन् ।

सुदुर पहाडका महिलाहरु पाँच जनासम्मको टोली बनाएर भारत पुग्छन् । तीन महिनापछि चिकित्सकलाई सोध्छन्, मेरो पेटमा छोरा छ कि छोरी ?’ गर्भपतनमा अभ्यस्त सोनु भन्छिन्, ‘छोरी जवाफ आए तत्काल क्युरेट गराएर घर फर्किन्छौं ।’

सोनुसँगै भारतको पलिया पुगेका चारजनामध्ये २७ बर्षिया रुणा सिहँ (म परिवर्तन) को मात्र गर्भमा छोरा रहेछ । अरु सबैको छोरी । ‘म संग गएका अरु तीन जना सबैको गर्भ चेक गर्दा डाक्टरले छोरी छ भने पछि घर पुगेर स्थानीय चिकित्सकको सल्लाहमा गर्भपतन गराउने भन्दै हामी फिर्ता भयौं, ’ उनी भन्छिन् ।

धनगढी हुदै बझाङ पुगेर पेटमा भएकी छोरी कसरी फाल्ने भन्ने चिन्ता सोनुमा थियो । अघिल्लो पटक उनले जिल्ला अस्पतालमा गएर सुरक्षित गर्भपतन गराएकी थिइन् ।

यस पटक सुरक्षित गर्भपतन गराउने समय उनीसँग थिएन । श्रीमानको सल्लाहमा यसअघि सेवन गर्दै आएको औषधि खाएर उनले चार महिना पुगेको बच्चको पतन गराइन् ।

बिशेष गरेर बझाङ जिल्लामा यस्ता महिला धेरै छन् । अधिकांश महिला सासु ससुरा र समाजको डरले गर्भपतन गराउन बाध्य छन् । कोही श्रीमानको खुसीका लागि र कममात्र महिला व्यक्तिगत चाहना पुरा गन (छोरा जन्माउन) पटक पटक गर्भपतन गराइरहेका छन् ।

असुरक्षित गर्भपत गराएकी २९ बर्षिया मीना बोहरा (नाम परिवर्तन) सास्ती लुकाएर परिवारका लागि गर्भ पतन गराएको बताउछिन् । तर उनीपनि छोरा जन्मियोस भन्ने भित्री चाहना भने राख्छिन् । ‘छोरा नभए गाँउलेले, परिवारले हेप्ने भएकाले वाध्य भएर पनि गर्भपतन गराइरहेकी छु, मीना भन्छिन् ।

गर्भपतनसँगै सुदुर पश्चिमका पहाडी जिल्लाका महिलामा पोषण अभाव पनि उत्तिकै छ । ‘महिनावारी भएको समयमा गाई भैँसीको दुध, दही, मही ध्यु खान हुँदैन भन्ने मान्यता छ ।

खाए बंश नास हुने, देवि देउता रिसाउने, छोरा–छोरी लाटा हुने अन्धबिस्वासका कारण रजश्वला भएका महिला पोसिलो खानाबाट वञ्चित भइरहेको स्थानीय महिला अधिकारकर्मी बताउछन् ।

असुरक्षित गर्भपतन गराउदै जाँदा महिलाहरुको पाठेघरमा समस्या देखा परेको जिल्ला अस्पताल वझाङका डाक्टर अनुप रेग्मी बताउछन् । जिल्ला अस्पतालमा गर्भपतन गराउनेको तथ्यांक उल्लेख्य रहेको उनको भनाई छ ।

निजी मेडिकलहरुमा औषधि सेवन गरी अन्तिम चरणमा जिल्ला अस्पतालमा आउने गरेको बताउदै डाक्टर रेग्मी भन्छन्, ‘धेरै जस्तो महिलाहरुको शरिरबाट रगत बगिसकेको हुन्छ । थुप्रै महिलालाई अस्पतालका स्टाफहरुले नै रगत दिएर बचाएको उनको भनाई छ ।

झाँक्रीले रोके अर्को बिहे, दैवले ८ औंमा छोरा दिए

छोराको आशमा लगातार सन्तान जन्माइरहनेको संख्या पनि उत्तिकै छ बझाङमा । जयपृथ्वी नगरपालिककाकी अम्भादेवी सिहँका ७ छोरी छन् ।

लगातार छोरी जन्मिएपछि गाँउले र घर परिवारले उनलाई हेला गर्न थाले । गााउँलेले आम्भाका श्रीमानलाई अर्को विवाह गर्न सुझाब समेत दिन थाले ।

उनले पनि नाई भन्न सकिनन् । गाँउले र घर परिवारको दवावमा श्रीमानले विवाह गर्न खोजे । गाउँमा विवाह गर्नुपूर्व धामीझाँक्री तथा ब्राहमण कहाँ पुगेर हात हेराउने चलन छ । धामीझाँक्री र हात हेराउने जोतिषले छोरा जन्मिने भविष्यवाणी गरिदिएछन् ।

आम्भा भन्छिन्, ‘त्यसपछि श्रीमानले विवाह गर्नुभएन ७ छोरी पछि ८औ सन्तानका रुपमा छोरा जन्मियो । त्यसपछि बल्ल गाँउ समाज र जान्ने बुझ्नेले कुरा काट्न छोडे । अहिले उनको साथमा २ बर्ष ६ महिनाको छोरो छ ।

छोराका लागि बहिनीलाई सौता

छोरा पाउने आशमा बहुविवाह गर्नेहरुको जमात पनि उत्तिकै छ । श्रीमानले विवाह गर्न नखोजे पनि श्रीमतीले नमान्दा कतिले बहुविवाह गरेका छन् । कतिपयले समाजको डर र परिवारको करकापमा पनि बहुविवाह गरेका छन् ।

जयपृथ्वी नगरपालिका– ११ की गुनकेशरी जोशीका श्रीमान शिक्षक हुन् । विवाह गरेको केही बर्षमा छोरी जन्मिइन् । लगातार ३ छोरी जन्मिएपछि उनलाई दोस्रो बिवाहको दवाव वढ्यो ।

जोशीले श्रीमतिलाई समेत सम्झाउन सकेनन् । उनकी श्रीमती गुनकेशरीले नै आफ्नै बहिनीसँग विवाह गराइदिइन् ।

विवाह पछि उनकी बहिनी जयलक्ष्मी जोशीले छोरो जन्माइन् । त्यसको केही बर्षपछि फेरि जेठी श्रीमतिले पनि छोरालाई जन्म दिइन् । अहिल दिदी–बहिनी मिलेर बसेका छन् ।

छोरा नपाएकै कारण धेरै जस्तो महिलाहरुले समाजबाट अपहेलित हुनु परेको छ । श्रीमानबाट समेत हिंशा खेपिरहनु परेको छ ।

थलारा गाँउपालिकाकी शान्ति नेपाली (नाम परिवर्तन) ले लगातार चारजना छोरी जन्माइन् । ‘पाँचौ सन्तान छोरा जन्मिएला भन्ने सोचे थियो तर फेरि छोरी नै भयो,’ आँसु झार्दै भन्छिन्, ‘सुत्केरीमा खान समेत पाइन श्रीमानले छोरा नभएको भन्दै जवाफ लगाइरहन्छन् ।’

उनको उमेर ३० बर्ष हो । तर ४५ बर्ष माथिको जस्तो देखिन्छिन् । धेरै सन्तान जन्माएको दुःखसँगै छोरो जन्मिएको चिन्ताले उनलाई कम उमेरमै लगाउदै लगेको छ ।

गर्भपतनको गैरकानुनी व्यापार

बझाङमा जिल्ला अस्पताल सिमखेत, रायल प्राथमिक स्वास्थ्य केन्द्र र देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा मात्र गर्भपतन गराउने स्वीकृति सरकारले दिएको छ । तर सदरमुकाम चैनपुरका आसपासका मेडिकलहरुमा र सबै स्थानीय तहका निजी मेडीकलहरुले गैरकानूनी काम गर्दै आएको डा. अनुप रेग्मीले बताउछन् ।

रेग्मीका अनुसार चार सय रुपैयाँ पर्ने औषधिलाई मेडिकल संचालकहरुले १५ सय देखि ३ हजार सम्म लिने गरेका छन् । असुरक्षित गर्भपतन गराउने अधिकांश महिलामा रक्तअल्पताको समस्या देखिएको रेग्मी बताउछन् ।

दिनमा २ जना भन्दा बढी जिल्ला अस्पतालमा आएर लिंग पहिचान गरिदिन भन्दै अनुरोध समेत गर्ने गरेको डाक्टर रेग्मीले बताए । एक महिनामा असुरक्षित गर्भपतन गराएर विभिन्न समस्या लिएर ३५जना भन्दा बढि महिलाहरु अस्पतालमा भर्ना हुने गरेको उनको भनाई छ ।

असुरक्षित गर्भपतन गराउदा ज्यान समेत गएको जिल्ला अस्पतालका ईन्डोर ईन्चार्ज लक्ष्मी शाहीले बताइन् । शाहीका अनुसार जिल्ला अस्पतालमा समेत छोरा छ की छोरी भन्दै सोध्न आउनेको संख्या महिनामा २० जना भन्दा बढी हुन्छन् ।

असुरक्षित गर्भपतनले गर्दा धेरै जस्तो महिलाहरुको पाठेघरमा ईन्फेक्सन भएको, गन्हाउने पानी बग्ने, तल्लो पेट दुख्ने, पाठेघर नै निकाल्नु पर्ने स्थिति देखा परेको उनको भनाई छ । निजी मेडिकलहरुमा समेत मासिक सरदर २० जना गर्भपतनका लागि पुग्ने गरेको संचालकहरु बताउछन् ।

शिलापत्र

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!