निन्द्राको आवश्यकता र अनिदोको बेफाईदा

निद्रा प्रत्येक मानिस र जीवित प्राणीका लागि अति आवश्यक छ । सबै प्राणीहरू आआफ्नो प्राकृतिक समय र जैविक प्रक्रिया अनुरूप निदाउने गर्छन् । सुताइ र निदाइ भन्नु फरक कुरा हुन् । कोही व्यक्ति मस्त सुत्छ तर मस्त निदाउन सक्दैन भने त्यो राम्रो सुताइ होइन । मानिसले सपना देखेको बखतको सुताइलाई पनि राम्रो निदाइने होइन भन्ने कुरामा वैज्ञानिकहरू पनि सहमत छन् । किनकि सपना देखिरहँदा पनि मस्तिष्क सक्रिय भइरहन्छ ।

सपना देखिने सुताइमा आँखा तीव्रतर तरिकाले चलिरहेको हुन्छ र मस्तिष्क सक्रिय हुन्छ । यो अवस्था निदाएको करिब ९० मिनेटपछि सुरु हुन्छ । तर मस्तिष्कलाई आराम गराउन सुत्नुपर्छ भन्दैमा दिउँसोमा सुत्नु, जतिबेला पनि सुत्ने मन गर्नु, अल्छी गरेर सुतिरहनु, अलि बढी नै सुत्नु आदि स्वस्थकर सुताइ होइनन् । यसरी अनावश्यक रूपमा बढी सुत्नु पनि शारीरिक वा मानसिक समस्या हुनसक्छन् । खासगरी बढी निदाउनुमा रक्तचाप न्यून हुनु, ज्यादै गर्मी हुनु, कमजोर वा शक्तिहीन हुनु, मोटोपन बढ्नु जस्ता आदि कारणहरूले गर्दा हो । यस्तो भएमा विभिन्न प्राणायाम गर्ने, शरीर मालिस गर्ने, टिमुर चुस्ने आदि गर्न सकिन्छ । यसर्थ निद्रा लाग्नु मस्तिष्कको आराम र विश्रामका लागि हो । मस्त र गहिरो निद्रा परेको बेला आँखा बढी मात्रामा चलेको हुँदैन र यस्तो अवस्थामा शरीरका ग्रन्थीले वृद्धि हर्मोन र दूध उत्पादन गर्ने हर्मोन उत्पादन गर्दछन् । त्यसकारण मस्त निद्रा सुत्ने बच्चाको शारीरिक वृद्धि विकास समेत राम्रो हुन्छ ।

हामी बिहान उठेदेखि विभिन्न काम गर्छौं, धेरै कुराहरू सोच्छौं, मस्तिष्कको निकै परिचालन गर्छौं र शारीरिक रूपमा समेत थाकेको महसुस् गर्छौं तर हामीलाई परिचालन गराउने मस्तिष्क पनि थाक्छ भन्ने कुरामा हामी अनभिज्ञ हुन्छौँ । फलस्वरूप आरामपूर्वक निदाई मस्तिष्कलाई थकानबाट मुक्त राख्न हामी सक्दैनौँ । अनावश्यक अनिदो बसिदिने, राति अबेलासम्म गफगाफ गर्दै वा मोबाइलमा रमाउने, रातभर धर्मकर्मका नाममा जाग्राम बस्ने, नानाथरी कुराहरू मनमा खेलाएर निद्राबाट वञ्चित हुने, सुत्नेबेलामा चिया कफी वा मादक पदार्थ खाने आदि क्रियाकलाप गरिदिन्छौँ । त्यसपछि पूर्णरूपमा निद्रा खलबल हुन्छ, निद्रा पर्दैन वा मीठो निद्राबाट हामी वञ्चित हुन्छौं । यस्तो बेलामा मस्तिष्कले अब आराम पाउँदैन र हामीलाई अर्को दिन राम्रोसँग कार्यसम्पादन गर्नमा गाह्रो पर्छ अनि बिरामी पर्न पनि सकिन्छ । यसबाट के बुझ्नुपर्छ भने निद्रा मस्तिष्कको आरामको लागि अपरिहार्य छ र निद्रा लाग्ने कारण शारीरिक क्रियाकलापपछि शरीर थाकेजस्तै मानसिक क्रियाकलाप र विभिन्न गतिविधि पछि मस्तिष्क पनि थाक्ने भएको कारण मस्तिष्कलाई पुनः सक्रिय बनाउन, मस्तिष्कको ब्याट्री चार्ज गर्न वा ऊर्जा प्रदान गर्नुपर्ने भएकाले जैविक घडीअनुसार निदाउनुपर्ने आवश्यकता भएको हो ।

निद्रा नपर्ने कारणहरू र देखापर्ने असरहरू

निद्रा प्रकृतिप्रदत्त सुखदायी उपहार हो तर कहिलेकाहीँ अनिद्रा भएमा त्यसले शारीरिक तथा मानसिक समस्या ल्याउँछ । निद्रा नलागेमा चिन्ता बढ्छ, मनमा कुरा खेल्छन्, नकारात्मकता बढ्छ र व्यक्तिको स्वास्थ्य क्रमशः दुर्बल हुनथाल्छ । यदि ठीकसँग सुत्न पाइएन भने नयाँ, मौलिक वा सिर्जनात्मक विचारमा ह्रास हुन्छ भने सही निर्णय गर्ने क्षमता पनि घट्छ । त्यसैले कति घण्टा सुतिन्छ, त्यो ठूलो कुरा नभई तरोताजा अनुभव नभएसम्म नउठ्ने बानी बसाल्ने अठोट लिनुपर्छ ।

आजका मानिसको प्रतिस्पर्धात्मक दौडधूप, तनावपूर्ण दैनिकी, अनियन्त्रित खानपिन, बढ्दो प्रदूषण, विद्युतीय उपकरणसँगको लगातार सम्पर्क, अन्तरनिहित आकाङ्क्षा आदि अनिद्राका सहायक कारणहरू हुन् । यदि अनिद्रा समस्याको रूपमा छ भने त्यसको बेवास्ता नगरी समयमै उचित परामर्श वा उपचारमा जानुपर्छ वा त्यसका लागि लयबद्ध अथवा व्यवस्थित दिनचर्या बनाउनुपर्छ । सुत्नेबेलामा समेत प्रसन्न चित्त भई खुकुलो र शुद्ध कपडा लगाई सफा ओछ्यानमा, हल्लाखल्लारहित वातावरणमा, घुँडाजति अग्लो पलङ्गमा नरम र सफा सिरानी पूर्व वा दक्षिणतर्फ राखी उत्तम चिन्तन गर्दै सुत्नुपर्छ । पानी खानेवित्तिकै सुत्नु हुँदैन केहीअघि खाएमा चाहिँ फाइदा हुन्छ । विभिन्न अध्ययनको निचोडअनुसार राति सुत्नुभन्दा एक घण्टाअघि पिएको पानीले हृदयाघात हुनबाट समेत बचाउँछ ।

यसका अलावा लामो समयसम्म राम्रो निद्रा नलाग्दा देखापर्ने तत्कालीन र दीर्घकालीन असरहरू यस्ता हुनसक्छन् ।

– मांशपेशीको दुखाइ, टाउको दुखाइ र थकाइ हुने ।

– स्मरण शक्तिको ह्रास हुँदै जाने ।

– चिन्ता, तनाव, मानसिक समस्या र डिप्रेसन हुनसक्ने ।

– दु्रत निर्णय प्रक्रियामा असर पर्ने ।

– हात काम्ने, आँखाको डिल सुन्निएको देखिने, रक्तचाप बढ्ने, तनाव बढाउने हर्मोनको तह बढ्ने, आँखाको अनियमित चाल देखापर्ने, झर्किने र छटपटाहट हुने ।

– मधुमेह रोगको खतरा हुने ।

– रोगविरुद्ध लड्ने प्रतिरोध क्षमतामा कमी आउने ।

– मोटोपन हुने ।

– विध्वंशपनको विकास हुने र समग्रमा असल व्यक्तित्वमा असर पर्ने आदि ।

निद्राको व्यवस्थापन गर्ने तरिका

हामीले दैनिकी राम्रो बनाउन नियमित सुत्ने समयको समेत व्यवस्थापन गर्नुपर्ने हुन्छ । बेलुकाको खाना सूर्यास्त हुनुअघि खाने, खाना खाएपछि केही बेर पैदल हिँड्ने (कम्तीमा पनि १०० पाइला), खाना खाएको कम्तीमा ३ घण्टासम्म नसुत्ने, आरामदायी निद्राका लागि बेलुकाको खाना सुपाच्य, कम मात्रा र हलुका चयन गर्नुपर्छ । नियमित समयमा सुत्ने, शरीरलाई शान्त राख्ने, राम्रो बेडरुम बनाउने, बेडरुममा बाहिरी कुनै आवाज नआउने बनाउने, चिया, कफी, मिठाइ, चुरोट, सुर्ती वा रक्सी सुत्ने बेला नखाने, नियमित शारीरिक अभ्यास गर्ने, बेडमा बसेर टीभी, ल्यापटप र मोबाइल नचलाउने, बेडरुममा उज्यालो प्रकाश, मोबाइल वा फोनको आवाज, आलार्म केही नराख्ने र निद्रा लागेपछि मात्र बेडरुममा जाने गर्नाले निद्रा नपर्ने समस्यालाई समेत घटाउन सकिन्छ । यदि बेडमा गएको वा पल्टिएको २० मिनेटसम्म पनि निद्रा परेन भने उठ्ने र पढ्ने वा लेख्ने, निद्रा लाग्न थालेपछि सुतिहाल्ने । व्यवस्थित निद्राको लागि सधैँ एकै समयमा सुत्ने र एकै समयमा उठ्ने गर्नुपर्छ । त्यस्तै कम्तीमा आधा घण्टा नियमित रूपमा सधैँ शारीरिक अभ्यास गर्ने, दिउँसोमा पर्याप्त प्राकृतिक प्रकाशमा बस्ने, बेडमा जानुअघि मनतातो पानीले नुहाउने जस्ता आदि उपाय अपनाउनाले पनि निद्रा लाग्नसक्छ ।

त्यस्तै, रात्रिको समय निद्रा लिनका लागि भएकोले रात्रिचर्यालाई अस्तव्यस्त बनाउनु हुँदैन । दिनभरको श्रम तथा कामकाज गर्ने क्रममा हुने क्षतिलाई रात्रिको निद्राले परिपूर्ति गर्छ । निद्राले नै हाम्रा इन्द्रिय र मनले पुनः ताजगी पाउने भएकोले निद्रा अपरिहार्य छ । कम्तीमा ६ देखि ८ घण्टा सुत्नु आवश्यक पर्छ तर यो उमेर अनुसार फरक हुन्छ । विभिन्न अध्ययन अनुसार बच्चा अवस्थामा (६–१३ वर्ष) कम्तीमा पनि ९–११ घण्टा निदाएको हुनुपर्छ, किशोरावस्थामा ८–१० घण्टा, युवावस्थामा ७–९ घण्टा र प्रौढ अवस्थामा ७–८ घण्टा वा ५ घण्टा कम्तीमा निदाएको हुनुपर्छ । उमेर बढ्दै जाँदा निदाउने दर पनि घट्दै जान्छ, त्यसलाई सामान्य नै मानिन्छ । बच्चा अवस्थाको राम्रो निदाइले बच्चाको शारीरिक र मानसिक वृद्धि विकास तीव्र हुने, बच्चा झर्कने, विद्यालयमा समस्या थप गर्ने र दुर्घटना हुने अवस्थामा समेत कमी आउँछ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!