पाँचथर हत्याकाण्ड: सीताको पालनपोषणका लागि काेष खडा

पाँचथर : दुई साताअघि पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा नौ जनाको हत्या हुँदा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको पालनपोषणमा सहयोग जुटाउन सुरु गरिएकाे छ ।

पाँचथर घर भई काठमाडौँमा बस्दै आएका महिला अगुवाहरूको सक्रियतामा १० लाख रुपैयाँको कोष रहने गरी सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको अभियानकी संयोजक कान्ता रिजालले बताइन् ।

यसका लागि महिला अधिकारका क्षेत्रमा क्रियाशील रिजालको संयोजकत्व तथा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्गदेम्बे संरक्षक रहने गरी ११ सदस्यीय समिति गठन गरिएको छ ।

उनका अनुसार अभियानका क्रममा हालसम्म दुई लाख रुपैयाँ जुटिसकेको छ । १० लाख रुपैयाँ जम्मा गरिने कोषबाट बालिकाको शिक्षासहित पालनपोषणमा सहयोग पुर्‍याउने उनले सुनाइन् ।

यसैबीच अभियानकी संयोजक रिजालसहितको टोलीले दमकको लाइफलाइन अस्पतालमा उपचार गराइरहेकी बालिका खजुमको स्वास्थ्य अवस्थाका बारेमा समेत जानकारी लिएको छ ।

गत जेठ ६ गते राति मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका दुई परिवारका नौ जनाको हत्या भएको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!